शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तरी नाका खुलाई चीन ओहोरदोहार गराउने प्रतिवद्धता

सोमबार, ०४ मङ्सिर २०७४, १६ : ४४
सोमबार, ०४ मङ्सिर २०७४

दोलखा –दोलखाको उत्तरी केन्द्रविन्दु सिंगटीमा एमाले र माओवादी केन्द्रले सोमबार जनसभा गरेका छन् । वाम गठबन्धनका उम्मेदवारहरुलाई यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा भारी मतले जिताउने अभियानसहित भएको जनसभामा बोल्दै नेताहरुले आफ्ना राजनीतिक र विकासका एजेण्डा जनतामाझ राखेका थिए ।

सभालाई दोलखाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार एमालेका नेता पार्वत गुरुङ्ग, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ का उम्मेदवार माओवादी केन्द्रका नेता विशाल खड्का, क्षेत्र नम्बर २ बाट एमाले पोलिटब्यूरो सदस्य पशुपति चौंलागाईंले सम्बोधन गरेका थिए । 
उनीहरुले सिंगटी हुदै चीन जोड्ने लामाबगर नाका खुलाई उत्तर–दक्षिण जोड्ने काम जतिसक्दो चाँडो सम्पन्न गर्ने प्रतिवद्धता राखेका थिए । 
उनीहरुले एमाले र माओवादी केन्द्र प्राविधिक रुपमा मात्र फरक रहेकोले चुनाव लगत्तै पार्टी एकिकरण हुने र एकिकृत कम्युनिष्ट सरकारले दोलखासँगै सिंगो मुलुकको आर्थिक समृद्धि हुने धारणा राखेका थिए ।

सभामा विगु, कालिञ्चोक, गौरीशंकरसहितबाट हजारौं जिल्लावासी सिंगटीबजार पुगेका थिए । 

नेता चौंलागाइले लामाबगर माथि लप्ची क्षेत्रमा ३ सय मेघावाट जलविद्युत अध्ययन भइरहेकोले उत्पादन अघि बढाउन आवश्यक काम गर्ने बताए । कृषि, वन पैदावर, उर्जाको उत्पादनबाट आय आर्जन बढाई दोलखालीलाई धनी बनाउन आफू केन्द्रित हुने उनको भनाई थियो ।

एमालेका युवा नेता पार्वत गुरुङ्गले विदेशमा रहेका दोलखाली युवालाई स्वदेशमा फर्काई उद्यमी बनाउने वाचा गरे । लामावगर नाका, जलश्रोत, कृषि, जडिबुटीबाट वेरोजगारी र गरिबीको समस्या हटाउने समेत उनले बताएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका युवा नेता विशाल खड्काले दोलखा जिल्लालाई हाइड्रको हब बनाउने योजना सुनाएका थिए । वाम एकताले विकास र समृद्धिको ढोका खुला गरेको बताउदै खड्काले ढुक्क भएर एमाले र माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मत दिन आग्रह समेत गरेका थिए । 

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य गंगा कार्की र नेतृ एवं पूर्व राज्य मन्त्री देवी खड्काले वाम एकताले विपक्षी अतालिएपनि जनता खुशी भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप