बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालि तेस्रोलिंगीको भोट कसलाई ?

सोमबार, ०४ मङ्सिर २०७४, १० : ४८
सोमबार, ०४ मङ्सिर २०७४

दिनचर्या परिवर्तन भएको छ ।

बिहान सात बजे कोठा (बसुन्धरा) बाट बाहिरिइएकी उनी फर्कंदा बेलुका आठ बजिसकेको हुन्छ । नयाँ शक्तिले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचीमा राखेपछि उनको दिनचर्या परिवर्तन भएको हो । निर्वाचन प्रचार प्रसारसँगै विभिन्न सञ्चार (प्रकाशन÷प्रसारण) माध्यमले अन्तर्वार्ताका लागि बोलाएपछि जानैपर्यो । आफ्नो विचार राख्नैपर्यो ।

आसन्न प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उनको व्यस्तता झन् बढेको हो । हिजो जसले र जुन समाजले बहिष्कार र तिरस्कार गर्यो, उनीहरूकै घरदैलो पुगेर भोट माग्दै आएकी उनी जहाँजहाँ पुगिन्, सबैले माया गरेकै छन् । तेस्रोलिंगी समुदायलाई माया गर्ने, उसको मुद्दालाई सकारात्मक लिनेहरू पाउँदा उनलाई कम्ती खुसी लागेको छैन । 

‘प्रत्यक्षमा आफूले आस्था राखेको दलसम्बद्ध नेतालाई मतदान गरे पनि समानुपातिकमा तिमीलाई नै भोट हाल्छौं,’ नयाँ शक्ति पार्टी केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा भेटिएकी पिंकी गुरुङले उत्साहित हुँदै सुनाइन्, ‘तेस्रोलिंगी र उसको मुद्दाबारे जानकारले त्यसो भनिदिँदा ऊर्जा मिलेको छ ।’ 

न्यूनतम खर्चमा अधिकतम नतिजा निकाल्ने प्रयत्नमा रहेकी उनले निर्वाचन प्रचार प्रसार रवाफिलो बनाउन आवश्यक ठान्दिनन् । प्रचार प्रसार भड्किलो बनाएरमात्रै निर्वाचनमा जितिँदैन भन्नेमा ढुक्क छिन् । ‘जित्नका लागि सम्बन्धित दलसम्बद्ध उम्मेदवारको योग्यतामा भर पर्छ,’ उनको तर्क छ, ‘आफूसम्बद्ध दलको घोषणापत्र/प्रतिबद्धता त छँदै छ ।’

पिंकी गुरुङलाई नै मतदान किन ? 

‘जनताले हाम्रो परीक्षण गर्न आवश्यक छ । महिला र पुरुषको परीक्षण त भइसक्यो । हाम्रो क्षमता परीक्षित हुन आवश्यक छ । तेस्रोलिंगीले केही पनि गर्न सक्दैनन् भन्नेहरूका लागि परीक्षित हुन तयार छौं,’ नीलहीरा समाज अध्यक्षसमेत रहेकी पिंकी गुरुङको दाबी छ, ‘महिला र पुरुषको जनजीवन जसरी चल्छ, त्यस अर्थमा हाम्रो बिल्कुल फरक छ । हामी वैवाहिक जीवनमा बाँधिनुपर्दैन । हामी आफ्नो समुदायबाहेक घरपरिवारलाई समय दिनुपर्दैन, जति विवाहित महिलाले दिनुपर्छ । घरपरिवारलाई दिने समय देश र जनताका लागि खर्चन सक्छौं । त्यो क्षमता हामीसँग छ ।’ 

महिला र पुरुषको आआफ्नै प्रकृतिको क्षमता हुन्छ, जस्तो कि पुरुषमा पुरुष र महिलामा महिलाकै क्षमता हुन्छ । ‘हामीसँग महिला र पुरुषमा हुने समायोजित क्षमता छ,’ उनले सुझाइन्, ‘त्यसको सदुपयोग राज्यले गर्ने कि नगर्ने ? गर्ने हो भने पिंकी गुरुङलाई मतदान गर्नुहोस् । हामी (तेस्रोलिंगी) लाई पनि यो देशको सेवा गर्ने रहर छ ।’

‘हामीले सातपुस्ते सन्तान, दरसन्तानलाई पुग्ने कमाउनुपदैन । पढाउनुपर्दैन । जोगाउनुपर्दैन,’ उनले थपिन्, ‘ससुराली वा माइतपट्टिकालाई जोगाउन आवश्यक छैन । हाम्रो जीवन सधैं एक्लो हो । विनास्वार्थको एक्लो जीवन देशका लागि समर्पित गर्न सक्छौं । चाहन्छौं ।’

मुलुकमा सबै मुद्दा राजनीतिकरण गरिन्छन् । राजनीतिक अधिकार स्थापित नभई अन्य अधिकार स्थापित हुन कठिन छ भन्ने पिंकी गुरुङलाई राम्रै थाहा छ । त्यसैले गुरुङ आफ्नो समुदायको हक अधिकार र मुद्दा स्थापित गर्न राजनीतिमा लागेकी हुन् । 

संसद् पुगिहालिन् भने उनले यौनिक तथा लैंगिक अल्पसंख्यकमात्रै होइन, राज्यको दमन, शोषणमा परेका शोषित, पीडित र उत्पीडितको पक्षमा समेत आवाज बुलन्द बनाउने कसम खाएकी छन् । शोषित, पीडित र उत्पीडितलाई नेपालको नागरिक भएर सगर्व बाँच्न सक्ने बनाउने हिम्मत छ । 

अरू पनि मुद्दा होला नि ? ‘परनिर्भर मुलुकलाई स्वनिर्भर र स्वाधीन बनाउने लडाइँमा सधैं अघिअघि रहनेछु,’ उनले प्रतिबद्धता जनाइन्, ‘नेपालीका गाँस, वास, कपाससम्म बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । त्यसलाई अन्त्य गर्ने गतिविधि र योजनामा सशक्त सहभागिता जनाउनेछु ।’

यौनिक तथा अल्पसंख्यकलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा उकास्ने इन्द्रेणी सपना देखेकी उनले आफ्ना समुदायका सबैलाई आत्मनिर्भर बनाउन लोभिएका छन् । त्यतिमात्रै होइन, उनीहरूलाई प्रतिष्ठित रूपमा बाँच्न सक्ने वातावरण सिर्जना गर्नु उनका लागि चुनौती छँदै छ । 

‘जसको मुद्दा त्यसको सरोकार,’ उनी दृढ छिन्, ‘निर्वाचित भएँ भने मैले नै आफ्नो समुदायको विषय पार्लियामेन्टमा उठाउनुपर्छ । अहिलेसम्म (पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईबाहेक) हाम्रो अधिकारबारे कसैले बोलिदिएका छैनन् । तर, पार्लियामेन्टका प्रतिनिधित्व गर्ने सांसदलाई समेत हाम्रो मुद्दाबारे बोल्ने बनाउनेछु ।’

लमजुङ विचौरनिवासी पिंकी गुरुङ जहिल्यै सकारात्मक सोच्छिन् । नीलहीरा समाज अध्यक्ष गुरुङका अनुसार, ४० जिल्लाको ५० सहरमा समाजको संगठन छ । नयाँ शक्ति पार्टीबाहेकका तेस्रोलिंगीसमेत उनलाई निर्वाचित गराउन लागिपरेका छन् । उनीहरूसँग टेलिफोन वार्ता, भेटघाट, सामाजिक सञ्जालमार्फत कुराकानी भइरहेको छ । 

विभिन्न तथ्यांकअनुसार, ९ लाख बढी यौनिक तथा अल्पसंख्यक छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार तेस्रोलिंगी मतदाता १६७ रहेका छन् । तेस्रोलिंगी ‘हिडन पपुलेसन’ भएकाले उनीहरूको जनसंख्या ६ लाख माथि रहेको पिंकीको दाबी छ । नीलहीरा समाजले पाँच लाख बढी यौनिक तथा अल्पसंख्यकलाई सेवा प्रवाह गरिसकेको छ । तीबीचमा निर्वाचन प्रचार प्रसार व्यापक बनाएको उनले जानकारी गराइन् । तेस्रोलिंगी ‘हिडन पपुलेसन’ हो । उनीहरूको आफ्नै समुदायभित्र मात्रै ‘लिंक’ छ ।

विभिन्न राजनीतिक दलमा तेस्रोलिंगी रहेका छन् । पिंकी गुरुङ पार्टी गठनसँगै नयाँ शक्तिमा जोडिएकी हुन् । ‘डा. बावुराम भट्टराई प्रधानमन्त्री हुँदा हाम्रो केही मुद्दा सम्बोधन भए,’ उनले खुसी व्यक्त गरिन्, ‘उहाँकै पालामा समलिंगी तथा तेस्रोलिंगीका लागि ३.५ प्रतिशत बजेट विनियोजन भयो । त्यसअघि र पछिका सरकारले यत्ति पनि गरेनन् । उल्लिखित कामले नयाँ शक्तिमा जोडिन सघाउ पुर्यायो ।’ गुरुङले डा. भट्टराईले गर्वसाथ समलिंगी र तेस्रोलिंगीको मुद्दा उठाएको सुनाइन् । 

समलिंगीबाट सुनीलबावु पन्त सांसद भइसकेका छन् भने तेस्रोलिंगीबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सूचीमा पर्ने पिंकी गुरुङ पहिलो व्यक्ति हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप