बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

आमा र शिशुको सुरक्षाका लागि पाँचवर्षे परियोजना

सोमबार, ०४ मङ्सिर २०७४, ०९ : ३३
सोमबार, ०४ मङ्सिर २०७४

इलाम - नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ । 

‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा केन्द्रहरूको गुणस्तर वृद्धिमा काम गर्ने जनाइएको छ । 

सेवाको माग बढाउन जीवन सुरक्षासम्बन्धी स्वास्थ्यकर्मीलाई तालीम दिइनेछ । दक्ष स्वास्थ्यकर्मीमार्फत समुदायसम्म त्यस्तो सीपको विकास गर्ने कार्यक्रम निर्धारण गरिएको छ । स्वास्थ्यसम्बन्धी चेतना विस्तारका लागि सामाजिक लेखाजोखा र स्वास्थ्य व्यवस्थापन समितिलाई सक्रिय बनाउने खालका क्रियाकलाप गर्ने कार्यक्रमका जिल्ला संयोजक निदेश रिजालले जानकारी दिए । स्वास्थ्यको गुणस्तर विकासका लागि ‘बर्थिङ सेन्टरको मर्मतसम्भार, वर्थिङ सेन्टरमा आवश्यक औजार वितरण गर्ने, अल्ट्रा साउण्ड मेसिन र फोटोथेरापी युनिट वितरण गरिनेछ । 

उक्त परियोजना लागू भएपछि गाउँमा नै प्रसूति सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यकर्मीलाई दक्ष प्रसूति तालीम शुरु गरिएको छ । अहिले यहाँका १२ जना स्वास्थ्यकर्मीले दुईमहिने तालीम लिइरहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही वर्षमा थप १२ जनालाई यस्तो खालको तालीम दिइने परियोजनाको वरिष्ठ कार्यक्रम संयोजक तथा क्षेत्रीय कार्यालय प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिए ।  सानो आकारको अल्ट्रा साउण्ड मेसिन यही वर्ष जिल्लाका चारवटा बर्थिङ सेन्टरलाई वितरण गरिने समेत श्रेष्ठले जनाए । नवजात शिशुलाई निमोनियाबाट बचाउन आवश्यक फोटो थेरापी मेसिन जिल्ला अस्पतालमा राखिनेछ । 

जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रूपमा प्रतिवेदन तयार पार्ने एचएमआइएस प्रणालीमा कतिपय तथ्याङ्क उपलब्ध नहुने र कतिपयले घरैमा प्रसूति गराउँदा आमा र बच्चाको ज्यान जाने गरेको भए पनि तथ्याङ्कमा सो विवरण उल्लेख नहुने भएकाले छुट्टै सर्वे गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप