शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बूढीगण्डकी प्रभावित मतदान गर्न सहमत

आइतबार, ०३ मङ्सिर २०७४, १४ : २०
आइतबार, ०३ मङ्सिर २०७४

धादिङ - बूढीगण्डकी प्रभावित आफ्नो माग सम्बोधन नभएसम्म नो भोट भनेर बसेका अवस्थामा अब जलविद्युत् परियोजना निर्माणसँगै उचित मुआब्जा र क्षतिपूर्ति दिनेलाई भोट दिन सहमत भएका छन् । 

चुनावी चहलपहल बढेका बेला उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित आरुघाट बजारवासी अन्योलमा भएको अवस्थामा उम्मेदवारले मतदातासँग भेटेर यसअघि बजार क्षेत्रको मुआब्जा निर्धारण गर्न नसकेकामा माफी माग्दै उचित मूल्यांकन गर्न र तत्काल मुआब्जा दिन प्रतिबद्धता जनाएपछि मतदान गर्न सहमत भएको आरुघाटका कमलनारायण श्रेष्ठले बताउनुभयो । 

बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण गर्दा डुबानपर्ने क्षेत्रमध्ये अन्य क्षेत्रको मुआब्जा निर्धारण भएको र आरुघाट र खहरे क्षेत्रको अझैसम्म पनि मुआब्जा निर्धारण नभएपछि बजारवासी आक्रोसित भएका थिए । 

मुख्य बजारबाहेक अन्यन्त्रको मुआब्जा निर्धारण गरेर मुआब्जा पाइसके समस्या भोगिरहेको आरुघाटवासीलाई राजनीतिक दल र सरकारले वास्ता नगरेको बजारवासीको आरोप छ । “हाम्रो कुनै पनि माग सरकारले सुनेन । हामीलाई न्याय चाहियो ।” आरुघाटबजारका सुशील अधिकारीले भन्नुभयो । 

यहाँको मुआब्जा अझै सरकारले निर्धारण गरेको छैन अन्य स्थानका प्रभावितले मुआब्जा पाइसकेका छन् । आरुघाट, धादिङ र गोरखाको क्षेत्रमा करिब एक हजार घरधुरी रहेको छ । खहरे बजारमा ३०० घरधुरी छ । यहाँको घर र जग्गाको उचित मूल्य निर्धारण गर्नुपर्ने, बजारको पुनर्वासको व्यवस्था गर्नुपर्ने, रिङरोड बनाउनुपर्ने, मुआब्जाको रकम समयमै वितरण गर्नुपर्नेगायत माग भोट माग्न आउने उम्मेदवारसँग राखिरहेको आरुघाटका व्यवसायी बिलप्रसाद श्रेष्ठले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप