आफ्नै नजरमा ती प्रकाश (फोटोफिचर)

person access_timeमंसिर ३, २०७४ chat_bubble_outline0

मेरो नाम प्रकाश दाहाल हो । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य । नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य । यसबाहेकका अन्य परिचय गौण हुन् । मेरा व्यक्तिगत सम्बन्धका आधारहरु यी परिचयका अगाडी गौण हुन् ।

म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ । यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण हुन् तर पुरै समाजले त्यसलाई प्रधान परिचय र मेरा संघर्षका मैदानहरुमा दिएको योगदानलाई माध्यमिक परिचयका रुपमा अपव्याख्या गरिरहेका छन् । हो, म पुष्पकमल दाहालको छोरा हुँ । तर, म प्रचण्डको एउटा लडाकू र कार्यकर्ता हुँ । म पुष्पकमल दाहाललाई बुवाका रुपमा अगाडी उभ्याउँछु, प्रचण्डका अघि नेकपा माओवादी केन्द्रको एउटा सदस्यका रुपमा उभिएको हुन्छु ।

समयचक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै नै खटिएको थिएँ । जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्रा्ष्ट्रिय जगतले पनि रेडकर्नर नोटिस जारी राखेको थियो त्यसबेला उहाँको सुरक्षा अंगका रुपमा मैले लामो समय काम गरेको छु । उकाली ओराली, भन्ज्याङ चौतारी र विभिन्न युद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ ।

हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाती, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लडाइ प्रधान हो । हामी युद्धकालमा पनि यहि लडाइमा निरन्तर लागिरहेको थियौं, जसका केही उपलव्धि भए त्यसको संस्थागत काम गर्नका लागि अहिले पनि लागिरहेका छौं । नेकपा माओवादी केन्द्रको एउटा साधारण योद्धाका रुपमा म यी सवै कुरा गरिरहेको छु ।

मलाई लाग्ने गरेको आक्षेपका पछाडी म दौडन चहान्न । तर, यी आक्षेपहरु कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्नेचाहीँ होइन । त्यसकाविरुद्धमा मेरा प्रतित्रियाहरु मात्रै नआएका हुन् । शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मुल राजनीतिको केन्द्रविन्दुमा आएपछि प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो ।

स्मरण होस्, हामी पनि चन्द्रमाबाट झरेका एलियन होइन, साधारण परिवारका मान्छे हौं जो सँधै साधारणको अधिकारका लागि निरन्तर लडिरहेको थियो । यसमा मेरो नाम जोडेर प्रचण्डमाथि किन प्रहार ? अथवा प्रचण्डको नाममा ममाथि किन प्रहार ? जीवनको एउटा उर्जाशिल समयमा मलाई आक्षेप लगाउने साथीहरुले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युद्धको मैदानमा थिएँ । हजारौं सहादत पाएका योद्धाहरुको भिडमा बन्दुक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ ।

यसको नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल प्रचण्डको छोराका रुपमा मात्र गरिन थालियो । हो, म प्रचण्डको छोरा अवश्य हुँ । तर, त्यसबाहेक म माओवादीको निरन्तर सहयात्रामा जनयुद्धकालदेखि लागेको योद्धा पनि हुँ । मैले जतिबेला बन्दुक बोकेर जीवनलाई मृत्युको धारमा हिँडाएको थिएँ । त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारेको चर्चा गहन रुपमा गरेन । तर, यो परिवेशमाथि मेरो केही विरोध वा समर्थन छैन ।

समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ । मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ । समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ । त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्न । मैले त्यसो गर्नु पनि आवश्यक ठानिन तर यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन ।

म जानकार छु रत भन्दैछु– बुवा प्रधानमन्त्री बन्नु उहाँको राजनीतिक जीवनको चक्रले दिएको अवसर भएझैं म त्यो सचिवालयमा उहाँको छोराका हिसावले होइन, सहयोद्धाका हिसावले भएको हुँ । मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चियापसलहरु फोहोर बनाउने साथीहरुलाई एउटै प्रश्न छ– परिवर्तनका लागि हामी मर्न तयार हुँदा, म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी ? परिवर्तन यत्तिकै भएको होइन, परिवर्तनका लागि मृत्युलाई अँगालेर हिँड्न सक्नुपर्छ ।

अवसरसँग बाह्रैकाल नजिक हुने तर जब संघर्ष गरेकाहरुले काम गर्ने मौका आउँछ त्यसबेला वाइयात कुरामा अल्झिने साथीहरुले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने अझै विश्वास लिएको छु । मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहेपनि मेरा यात्राहरु निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शंका छैन । यसर्थ, मेरा विरोधमा अक्षरहरुको थुप्रो लगाउनेहरुसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु– ति फगत शव्दहरुको थुप्रो सृजनात्मक कामका लागि उपयोग गरे कसो होला ?

२०७३ साउनको  जनप्रहार साप्ताहिकबाट 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ