शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तामाकोशी जलविद्युत् आयोजना सुरुङको ‘ब्रेक थ्रु’

आइतबार, ०३ मङ्सिर २०७४, १३ : ३८
आइतबार, ०३ मङ्सिर २०७४

दोलखा -स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । 

आयोजनाका लागि ८।२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो । सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ । 

ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८।३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । डिसेम्बर २०१८ देखि नियमित उत्पादन शुरु भए पनि सबै निर्माण सक्न थप ६ महिना लाग्नेछ । 

आयोजना प्रमुख विज्ञान श्रेष्ठले सञ्चारकर्मीसँग भन्नुभयो “अव सिभिलतर्फको काम १० प्रतिशत मात्र बाँकी छ ।” इलेक्ट्रोमेकानिकलका लागि सामान आयोजनास्थलमा प¥याउने काम भइरहेको छ । खाडीचौरदेखि सिंगटीसम्मको प्रवेश मार्ग कालोपत्र सडक विभागले अगाडि बढाएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हेभी इक्विपमेन्ट’ आयोजना स्थलसम्म पु¥याउन कठीन भएको छ । अहिले विद्युत् गृह जडानको काम अगाडि बढेको छ । कंक्रिटको काम द्रूत गतिमा अघि बढाउन रातदिन काम भइरहेको छ । उहाँकाअनुसार टर्वाइन र प्रसारणलाइन निर्माणको काम पनि जारी छ । प्रसारणलाइनका लागि ठड्याउनुपर्ने १४७ वटा पोलमध्ये १६ वटा मात्र बाँकी छन् । 

श्रेष्ठका अनुसार आयोजनाको लागत रु ३५ अर्ब ३० करोड छ । कर्मचारी सञ्चय कोषको रु १० अर्ब, नेपाल टेलिकमको रु ६ अर्ब, नागरिक लगानी कोषको रु दुई अर्ब र राष्ट्रिय बीमा संस्थानको रु दुई अर्ब लगानी छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप