आइपुगे प्रचण्ड, लाजिम्पाटमा सुरक्षा निकायसँग छलफल
काठमाडौं । पुत्र प्रकाश दाहालको असमायीक निधनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौ आइपुगेका छन् । दाहाल झापाबाट हेलिकोप्टरमार्फत काठमाडौ आएका हुन् ।
प्रचण्ड बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न शनिबार झापा पुगेका थिए । झापामा आज बाम गठबन्धनको संयुक्त चुनावी सभा हुदैछ । पुत्र प्रकाशको मृत्युले दाहाललाई बज्रपात परेपछि बिहान १० बजे हेलिकोप्टरमार्फत उनी काठमाडौ आएका हुन् ।
दाहाल झापाबाट सिधै नीजि निवास लाजिम्पाट पुगेका छन् । लाजिम्पाटमा आइजिपी प्रकाश आर्याल, सशस्त्रका आइजिपी सिंहबहादुर श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखहरु पनि उपस्थित रहेका छन् । उनी त्यहाँ छलफल गरिरहेका छन् ।
प्रकाशको मृत्युको खबरसँगै थापाथलीस्थित नर्भिक अस्पतालमा दाहालका आफन्तजन र शुभचिन्तक पुगेका थिए । अस्पतालमा आफन्त र शुभचिन्तका भावबिहल बनेका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालका एक मात्र छोरा प्रकाशको आज बिहान मृत्यु भएको हो ।
प्रचण्ड अस्पताल आइपुगेसँगै अस्पतालले पत्रकार सम्मेलन गरेर प्रकाशको मृत्युबारे जानकारी गराउने तयारी गरेको छ । प्रकाशको आइतबार बिहान हृदयघात भएपछि उनलाई अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।
यसैवीच अस्पतालमा दाहालका शुभचिन्तक, आफन्त, र विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणको ठुलो भिड लागेको छ । अस्पतालमा एमालेका महासचिव ईश्वर पोखरेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मुख्यसचिव लोकदर्शन रेग्मी, माओवादी नेता राम बहादुर थापा बादल, गिरिराजमणि पोखरेल पनि अस्पताल पुगेका थिए ।
अस्पतालमा सुरक्षा व्यवस्था कडा
यसैवीच थापाथलीस्थित नर्भिक अस्पतालमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा तैनाथ गरिएको छ ।