मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँचथरमा ११ जना पक्राउ

आइतबार, ०३ मङ्सिर २०७४, १० : ०९
आइतबार, ०३ मङ्सिर २०७४

पाँचथर -आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा केही दिनयता पाँचथर प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ पर्नेमा फिदिम नगरपालिका–१४ की टीकादेवी राई, फालेलुङ गाउँपालिका–५ की तारा राई र मौसम थाम्सुहाङ, फाल्गुनन्द गाउँपालिका–३ का विशाल राई, इच्छाबहादुर राई, एलिया नेम्वाङ रहेका छन् । 

त्यस्तै सोही गाउँपालिका–५ का जितबहादुर चेम्जोङ, हिलिहाङ गाउँपालिका–२ का डिल्लीराम कटुवाल, इलामको फाकफोकथुम गाउँपालिका–१ का रुपनारायण अधिकारीसहित अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमध्ये टीकादेवी र रुपनारायण शिक्षक हुन् । उनीहरुलाई विद्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए । उनीहरुउपर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो । उनीहरुलाई विभिन्न मिति र स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

कुनै पार्टी वा संगठनमा आबद्ध रहेका आधारमा पक्राउ नगरिएको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो । तर बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाँचथरले भने प्रहरीले बिनाकारण आफ्ना कार्यकर्तालाई धमाधम पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप