बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकियो

आइतबार, ०३ मङ्सिर २०७४, ०६ : ५६
आइतबार, ०३ मङ्सिर २०७४

भारतको टनकपुरबाट ३० मेगावाट बिजुलीको आयात रोकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतको पावर ट्रेडिङ कर्पोरेसन (पिटिसी) इन्डियाबाट खरिद गर्दै आएको उक्त परिमाणको बिजुली शनिबार (१८ नोभेम्बर) राति १२ बजेबाट आयात रोकिएको हो । आजको नयाँ पत्रिकामा खबर छ ।

बिजुली अन्योलमा
पिटिसीले भारतको सिमेन्ट उद्योगबाट खरिद गरी उक्त विद्युत् नेपाल पठाउने व्यवस्था मिलाएको थियो । भारतको सर्वोच्च अदालतले १७ नोभेम्बरमा इन्धनमा आधारित उद्योगलाई पेटकोक इन्धनबाट उद्योग सञ्चालनमा प्रतिबन्ध लगाउने फैसला सुनाएपछि उक्त बिजुलीको उत्पादन बन्द भएको जानकरी पिटिसीले नेपाल विद्युत् प्राधिकरणलाई गराइसकेको छ । यसबाट नेपालले पाउँदै गरेको बिजुली अन्योलमा परेको छ ।

भारतको सर्वोच्च अदालतले दिल्ली र आसपासका क्षेत्रमा हाल बढिरहेको प्रदूषणलाई मध्यनजर गरी नेसनल क्यापिटल रिजन–एनसिआर (दिल्ली तथा आसपासका सहरी क्षेत्र, हरियाणा, उत्तर प्रदेश र राजस्थान) का उद्योगलाई फर्नेस आयल र पेटकोकको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

सर्वोच्च अदालतको सो निर्णयले भारतमा विद्युत्को मूल्य थप बढ्ने भएको छ । भारतमा बिजुलीका लागि अन्य विकल्पमा जान केही समय लाग्ने देखिन्छ ।

सुक्खा याममा नेपालको आन्तरिक उत्पादन कम हुने कारणले गर्दा भारतबाट समेत बढी विद्युत् ल्याउनुपर्ने बाध्यता रहेको छ । त्यसैअनुसार हाल विभिन्न अन्तरदेशीय प्रसारणलाइनमार्फत भारतबाट ३ सय २० मेगावाट बिजुली आयात हुँदै आएको छ ।

पेटकोकमा आधारित विद्युत्गृहमा आएको पछिल्लो संकटबाट नेपाललाई असर पर्न नदिन विभिन्न प्रयास जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भारतबाट आउने बिजुली महँगो पर्न सक्ने
पेटकोकमा प्रतिबन्ध लगाइएपछि कोइला र अन्य प्राकृतिक ग्यासको माग बढ्ने भएको छ । ढल्केबर–मुजफ्फरपुर भएर भारतबाट नेपाल आउने बिजुलीको सम्झौता एक महिनाअघि आउँदो डिसेम्बरसम्मका लागि थप गरिएको थियो ।

डिसेम्बरअघि नै फेरि सो सम्झौता नवीकरण गर्नुपर्ने हुन्छ । पछिल्लो समय भारतमा निम्तिएको ऊर्जा संकटले भारतबाट नेपाल ल्याउने गरिएको बिजुलीको मूल्य बढी पर्न सक्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप