शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ ओखलढुंगामा खतिवडा र सुनुवारबीच प्रतिस्पर्धा

शनिबार, ०२ मङ्सिर २०७४, १८ : ०१
शनिबार, ०२ मङ्सिर २०७४

 कालिका खड्का 

ओखलढुंगा – ओखलढुंगामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञ सुनुवार र नेपाली काँग्रेसका उम्मेदवार रामहरि खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

मुलुक संघीय संरचनामा गएसँगै प्रतिनिधिसभा एक र प्रदेशमा दुई सिट कायम रहेको ओखलढुंगामा काँग्रेसलाई आफ्नो विरासत जोगाउन ठूलै कसरत गर्नुपर्ने अवस्था छ भने वाम गठबन्धनसामु काँग्रेसको किल्ला तोड्ने चुनौती छ । 

काँग्रेस र वाम गठबन्धनले उम्मेदवारी दर्ता गरेसँगै दुबैले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । ओखलढुंगामा स्थानीय तहको निर्वाचनको मतपरिणाम केलाउँदा वाम गठबन्धन अगाडि देखिन्छ । 

एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा गएको स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखमा ६० हजार ८०४ मत खसेको थियो । त्यसमा वाम गठबन्धनले ३३ हजार ५३२ र लोकतान्त्रिक गठबन्धनले २६ हजार ८१७ मत प्राप्त गरेका थिए । गठबन्धन बाहिर रहेका अन्य दलले भने ४५५ मत प्राप्त गरेका थिए । 

प्रदेश (क) मा गएको स्थानीय तहको निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४९९ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७८७ मत प्राप्त गरेका थिए । प्रदेश (ख) मा रहेका चार गाउँपालिकामा काँग्रेसले तीन वटामा र एमालेले एउटामा जित हासिल गरेको थियो । यो क्षेत्रमा वाम गठबन्धनले १७ हजार ३२ र लोकतान्त्रिक गठबन्धनले १४ हजार ९९ मत प्राप्त गरेका थिए । सिद्धिचरण नगरपालिकामा भने एमालेका उम्मेदवार विजयी भए । सात गाउँपालिकामध्ये दुईमा एमाले, चारमा काँग्रेस र एकमा माओवादी केन्द्र विजयी भएका थिए । 

ओखलढुंगामा काँग्रेस र वाम गठबन्धनसँगै नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशनलगायत नौ दलका २१ र स्वतन्त्र एकजनाले उम्मेदवारी दर्ता गराएका छन् । 

प्रतिनिधिसभाको उम्मेदवारले जिल्लाको उन्नति र समृद्धिका लागि आफूलाई जिताउन मतदातासँग आग्रह गर्दै गाउँगाउँ घुमिरहेका छन् । प्रदेशसभाका उम्मेदवारहरु पनि आ–आफ्नो क्षेत्रका मतदातासँग भोट माग्न व्यस्त छन् । 

बागी उम्मेदवारका कारण काँग्रेसलाई कष्ट 

टिकट वितरणमा रुष्ट एक दर्जनभन्दा बढी काँग्रेस नेता बागी उम्मेदवारका प्रचारमा खटिएका छन् । प्रदेश (ख) मा काँग्रेसले (क) क्षेत्रका नेतालाई टिकट दिएपछि रुष्ट नेताहरु बागी उम्मेदवार ज्ञानेन्द्र रुम्दालीको पक्षमा लागेको बताइन्छ । 

प्रदेश (ख) मा जिल्ला सभापति प्रदीपकुमार सुनुवारलाई काँग्रेसले उम्मेदवार बनाएको छ । रुम्दाली ७० र ७४ सालको संविधानसभाको निर्वाचनमा समेत बागी उम्मेदवार थिए । हारेपछि उनीमाथि कारबाही भएको थियो । 


दुबै पक्षको चुनाव जित्ने दाबी 

मतदानको मिति नजिकिँदै जाँदा वाम गठबन्धनका सुनुवार र काँग्रेसका खतिवडा दुवैले चुनाव जित्ने दाबी गरेका छन् । प्रतिनिधिसभाका उम्मेदवार खतिवडाले भने, ‘जनभावनाअनुसार यो जिल्लाको विकास मैले गरेको छु, मैले चुनाव जित्छु ।’ पाँच हजारदेखि सात हजार मत बढी ल्याएर जित्ने खतिवडाको दाबी छ । 

खतिवडा जस्तै सुनुवार पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् । सुनुवारले भने, ‘जिल्लाका ठूल्ठूला विकास निर्माण काम मैले गरेको छु । भ्रष्टाचारमुक्त र सुशासनयुक्त जिल्ला बनाउन मैले चुनाव जित्नै पर्छ र जित्छु पनि ।’ सुनुवारले आफूले तीन हजारभन्दा बढी मत ल्याएर जित्ने दाबी गरे । 

यसअघि दुई क्षेत्रबाट चुनाव जितेका उनीहरु अहिले एकमात्र क्षेत्र भएकाले दुवै आमनेसामने प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आएको छ । नागरिक समाज ओखलढुंगाका अगुवा हिजराज कार्कीका अनुसार खतिवडा र सुनुवार दुवै बलियो उम्मेदवार हुन् । 

ओखलढुंगाको प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका अम्मिरबाबु गुरुङ र काँग्रेसबाट मित्रसेन दाहाल प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेश (ख) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मोहन खड्का हिमशिखर र काँग्रेसकातर्फबाट जिल्ला सभापति सुनुवार प्रतिस्पर्धामा छन्। यहाँ एक स्वतन्त्रसहित नौ राजनीतिक दल चुनावी मैदान छन् । कूल १४१ मतदान केन्द्र रहेको ओखलढुंगामा एक लाख दुई हजार २ सय ६३ जना मतदाता रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप