बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ : उम्मेदवारका आआफ्नै दाबी

शनिबार, ०२ मङ्सिर २०७४, १६ : ४४
शनिबार, ०२ मङ्सिर २०७४

बागलुङ - चुनावी कार्यक्रम लिएर गाउँ पसेका दलहरु प्रचारमा व्यस्त छन् । मिति नजिकिँदै जाँदा चुनावको चहलपहल बढ्दै गएको छ । 

मतदाता भेट्न घरदैलो गरिरहेका दलहरु विस्तारै ठूला सभा आयोजनाको तरखरमा छन् । कामको चापले दलका कार्यक्रममा जान नभ्याएका मतदाताको उपस्थिति पनि बाक्लिँदै छ । शुरुका चुनावीसभा खल्लो बनेपछि निराश दलहरु अहिले उत्साहित छन् । 

सबै उम्मेदवार र दलले घरदैलो अभियानलाई नै मुख्य चुनावी अस्त्र बनाएका छन् । विभिन्न योजना र लक्ष्य सुनाएर मतदाताको मन जित्ने कसरतमा उम्मेदवार छन् । मतदाताले स्थानीय विकासका मुद्दा सम्बोधन हुनुपर्ने माग उम्मेदवारसँग राखिरहेका छन् । केन्द्रीय नेतादेखि पूर्वसांसद र जोशिला युवा उम्मेवारबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । वामपन्थी र काँग्रेस दुवै पक्षले आआफ्नो पकट मान्दै आएको बागलुङको राजनीतिको छिनोफानो भने मंसिर १० को चुनावले नै गर्नेछ । 

विसं २०७० को चुनाव परिणामलाई लिएर नेपाली काँगेसले अहिले पनि आफ्नै जितको दाबी पेश गरेको छ । तीन वाम दल मिलेर बनेको गठबन्धनले भने गत स्थानीय तह निर्वाचनको नतिजालाई आफ्नो जितको आधार बताएको छ । विसं २०७० मा संविधानसभा चुनावमा जिल्लाका तीनै क्षेत्रमा काँगेसले विजय हासिल गरेको थियो । स्थानीय तह चुनावमा भने वाम दलहरुले काँगेसलाई पछि पारेका थिए । 

नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चा तालमेलसहित चुनावी प्रतिस्पर्धामा छन् । काँग्रेसले भने एक्लै चुनावको सामना गर्दैछ । विगतका चुनावमा तीनतिर फर्केका वाम दलहरु एक ठाउँ हुँदा काँग्रेसलाई चुनौती थपिएको विश्लेषण गर्न थालिएको छ । 

यद्यपि, काँग्रेसका उम्मेदवार र नेताहरु चुनावको नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त देखिन्छन् । वाम गठबन्धन पनि अघिल्ला परिणाम उल्टाउने दाबीका साथ चुनावमा होमिएको छ । 

काँगेस उम्मेदवार आफूलाई लोकतन्त्रको पक्षधर र विकास निर्माणमा अगुवाइ गरेको भन्दै मतदातको विश्वास जितिनेमा विश्वस्त देखिन्छन् । मतदाताको सहानुभूति विभिन्न तवरबाट लिने र त्यसलाई मतमा परिणत गराउने कोसिसमा पनि उम्मेदवार देखिन्छन् । काँग्रेसबाट क्षेत्र नं १ प्रतिनिधिसभा उम्मेदवार चम्पादेवी खड्का जिल्लामै आफू एक्ली महिला उम्मेदवार भएकाले चुनाव जित्ने दाबी गर्नुहुन्छ । 

“म महिलाका तर्फबाट चुनाव लड्दै छु”, खड्काले भन्नुभयो “बाँकी योजना र सपना पूरा गर्नुछ ।” 

तीन वाम दलको गठबन्धनबाट उम्मेदवार बन्नुभएका एमालेका सूर्य पाठकसँग उहाँ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । विगतमा पनि सांसद भएर नागरिकको सुख, दुःखमा साथ दिएको, विकास निर्माणका काम गरेको, प्रत्यक्ष चुनाव जितेकोजस्ता आधारमा यसपालि पनि चुनाव आफैँले जित्ने दाबी उहाँको छ । 

“अधुरा काम पूरा गर्न बाँकी छ, म माथि मतदाताको भरोसा छ, म ढुक्क छु” खड्काले भन्नुभयो । 

वाम उम्मेदवार ४२ वर्षीय पाठक २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा एमालेबाट क्षेत्र नं २ को उम्मेदवार बन्नुभएको थियो । जापानबाट जनप्रशासन विषयमा विद्यावारिधी गर्नुभएका पाठकले विदेशमा आर्जेको ज्ञान, सीपलाई देशको समृद्धिमा लगाउने अठोट लिनुभएको छ । 

“वाम तालमेलले पनि म जित्नेमा ढुक्क छु, ममाथि युवा पुस्ताको ठूलो भरोसा छ” पाठकले भन्नुभयो । नीति, निर्माणदेखि विकास योजनाका खाका लिएर आफू मतदाताकहाँ पुगेको उहाँको भनाइ छ । आर्थिक समृद्धि हुँदै समाजवाद उन्मुख देश बनाउन वाम उम्मेदवारले जित्नै पर्ने उहाँको भनाइ छ । 

यस्तै, क्षेत्र नं २ को चुनावी प्रतिस्पर्धालाई लिएर दुवै पक्षले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । तीन वाम दल एक ठाउँ हुँदा काँग्रेसलाई पराजित गर्न सकिनेमा वाम उम्मेदवार विश्वस्त देखिन्छन् । काँग्रेस पनि आफ्नो पुरानो जनाधार भएको क्षेत्र भएकाले आफूले जित्ने दाबी गर्दै आएको छ । वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । काँग्रेसले नीरज पुनलाई उम्मेदवार बनाएको छ । 

विकास निर्माणका काममा नेतृत्वदायी भूमिका खेलेको र जनताको सेवा गरेकोले आफूले जित्ने काँग्रेस उम्मेदवार पुन बताउनुहुन्छ । वाम उम्मेदवार पौडेल वाम तालमेल नै आफ्नो जितको आधार रहेको बताउनुहुन्छ । “वाम एकताले हामी जित्नेमा ढुक्क छौँ”, पौडेलले भन्नुभयो “बागलुङको विकास र समृद्धिको स्पष्ट खाका हामीसँग छ, त्यसको नेतृत्व गर्छौं ।” 

प्रदेशसभातर्फका उम्मेदवार पनि आआफ्ना प्रतिबद्धता लिएर चुनावी प्रतिस्पर्धामा छन् । क्षेत्र नं १ प्रदेश ‘क’ मा वाम उम्मेदवार एमालेका इन्द्रलाल सापकोटासँग नेपाली काँग्रेसका जिल्ला सभापति दीपेन्द्र थापामगरले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

क्षेत्र नं १ प्रदेश ‘ख’ मा काँग्रेस उम्मेदवार प्रकाश शर्मा पौडेलसँग वाम उम्मेदवार राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रको चन्द्र बुढा ‘सागर’ र काँग्रेसबाट मञ्जेशवम मल्ल चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा ‘ख’ बाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती र काँग्रेसका जित शेरचन उम्मेदवार हुनुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप