शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी एजेण्डामा नेपालको आर्थिक विकासको मोडेल

शनिबार, ०२ मङ्सिर २०७४, १६ : ३१
शनिबार, ०२ मङ्सिर २०७४

चितवन - पूर्व अर्थमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको मोडेल प्रस्तुत गर्नुभएको छ ।

चितवन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका पाण्डेले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै नेपालको अबको आर्थिक बाटो कस्तो हुन्छ र कसरी देशको विकास गर्न सकिन्छ भन्नेबारेमा विस्तृत मोडेल प्रस्तुत गर्नुभएको हो । 

पाण्डेले प्रस्तुत गर्नुभएको मोडेलमा जमिनको उपयोग, शहर निर्माण, सडक तथा यातायात पूर्वाधार विकास, शिक्षा, खोज, अनुसन्धान र उद्यमशीलता, पर्यटन, जलविद्युत्, उद्योग क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने रहेको छ । 

उहाँले जमिन राज्यको सम्पत्ति भएको बताउनुभएको छ । उहाँले जमिन बाँड्नेमा जोड दिनुभन्दा आवास, शिक्षा, रोजगारी वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । जमिनलाई उपयोगको आधारमा वर्गीकरण गर्नुपर्ने बताउँदै पाण्डेले तोकिएको जमिनमा तोकिएबमोजिमको मात्र उपयोग गर्न पाईने र जमिन बाँझो राख्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

शहरलाई आर्थिक विकासको इञ्जिनको संज्ञा दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण र शहरी विकासलाई एकीकृतरुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले काठमाडौँ–निजगढ फास्ट ट्रयाक र रेल्वे, काठमाडौँ–रेसुवागढी सडक र रेल्वे, मध्यपहाडी सडक, तराई हुलाकी सडक, कोशी करिडोर, मुस्ताङ–कालीगण्डकी करिडोरलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । 

हालको साधारण शिक्षातर्फको लगानीमा भन्दा प्राविधिक शिक्षाको लगानी बढाउनु पर्ने बताउँदै पाण्डेले २० वर्षभित्र एक प्राविधिक एक साधारण बनाउने, कुल गार्हस्थ्य, उत्पादनको कम्तीमा एक प्रतिशत अनुसन्धान र विकासमा खर्च गर्नुपर्ने, उद्यमशीलता विकासका लागि भेन्चर फण्ड, इक्वेसन सेन्टर व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

देशका प्रमुख स्थानलाई पर्यटन क्षेत्र घोषणा गरी १५ वर्षसम्म कर छुट र अन्य सुविधा दिनुपर्ने पाण्डेले बताउनुभयो । जलविद्युत् उत्पादनमा उच्च प्राथमिकता दिँदै यस क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो । जनताका असीमित चाहना र आवश्यकतालाई सार्थक बनाउन सरकारी, निजी क्षेत्रका साधनस्रोतलाई अधिकतम प्रयोग गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्नुपर्ने उहाँको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप