बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बामबुद्धिजिवी नारायणकाजीको पक्षमा, भने, 'बाबुराम अवसरवादको प्रतिनिधिपात्र'

शनिबार, ०२ मङ्सिर २०७४, १६ : ०२
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौं–विभिन्न १० जना बामबुद्धिजिवी तथा लेखकहरुले गोरखा–२ का मतदातालाई आसन्न १० मंसिरमा हुने संघीय प्रतिनिधिसभा निर्वाचनमा बाम  गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई जिताउन अपिल गरेका छन् । 

गोरखा–२ मा काँग्रेस समर्थनमा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नेता श्रेष्ठ चुनावी मैदानमा छन् । भट्टराई र श्रेष्ठले एकै क्षेत्रमा उम्मेदवारी दिएका कारण गोरखा–२ सर्वाधिक चर्चित र चासोको क्षेत्र बन्न पुगेको हो । बुद्धिजिवी तथा लेखकहरुले जारी गरेको संयुत्त विज्ञप्तिमा भट्टराईले माक्र्सवादी विचार धारा छाडेको तथा हाल उनका गतिविधिले उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेको आरोप लगाइएको छ । गोरखाका पारखी मतदाताले अवसरवादकी चरित्र भएका भट्टराईलाई नभई नेता श्रेष्ठलाई विजयी गराउने विश्वास उनीहरुको छ ।

‘वर्तमानमा बाबुराम भट्टराई माक्र्सवादी विचारधाराका पक्षधर मात्र नरहेका होइनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरुबाट उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याई हो’, विज्ञप्तिमा भनिएको छ, ‘गोरखाका पारखी जनताले यस प्रकारका अवसरवादीहरुलाई पहिचान गरी सही निर्णय लिने हामीले अपेक्षा गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै उनीहरुले मुलुकका अन्य निर्वाचन क्षेत्रमा समेत बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् । निर्वाचनमा हुने पैसा, शक्ति, कालोबजारिया र गुण्डाराजको चलखेललाई निरुत्साहित र निषेध गर्ने विश्वास उनीहरुको छ । विज्ञप्तिमा बाम बुद्धिजिवीहरुले निर्वाचनपछि राजनीतिक अस्थिरता अन्त्य हुने तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धताका नयाँ आयामअरु उदघाटित हुनेमा आफूहरु विश्वास्त रहेको दाबी गरेका छन् । नेपालका बामपन्थी शक्तिहरुबीच भएको चुनावी सहकार्य हुँदै पार्टी एकतासम्मको निर्णयले नेपालीहरु मात्र नभई गरिबी, अभाव, शोषण र उत्पीडनका विरुद्ध जुधिरहेका विश्वभरका जनतामा आशाको सञ्चार गराएको जिकिर उनीहरुको छ ।

विभिन्न समूहमा छरिएर रहका कम्युनिष्ट पार्टीहरुबीच भएको बाम गठबन्धनका कारण लोकातन्त्रिक गठबन्धनलाई समेत हातेमालो गर्न प्ररित गरेकाले त्यसलाई बाम बुद्धिजिवीले ऐतिहासिक भनेका छन् । बामपन्थी र लोकतान्त्रिक शक्तिले एकअर्काको विरोधीको रुपमा प्रस्तुत गर्न खोजेकामा असन्तुष्टि जनाउँदै विज्ञप्तिमा उनीहरुले बास्तविक बामपन्थ र लोकतन्त्र एकअर्काको विरोधी नभएको बरु  ‘अपरिहार्य पुरक’ भएको टिप्पणी गरेका छन् । 

यसरी विज्ञप्ति जारी गर्नेहरुमा डा. पिताम्बर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, लेखक विमल निभा, मातृका पोखरेल, पूर्वगभर्नर एवं अर्थविद दीपेन्द्रबहादुर क्षेत्री, लेखक तथा विश्लेषक हरि रोका, धनकुमारी सुनार, वरिष्ठ पत्रकार एवं लेखक झलक सुवेदी, डा. शरद वन्त र सुदीप श्रेष्ठ छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप