बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव पार्टीका नेता भन्छन्, ‘जनताले प्रतिरोध थाले, अब उम्मेदवारलाई कारबाही हुन्छ’

शनिबार, ०२ मङ्सिर २०७४, १५ : २४
शनिबार, ०२ मङ्सिर २०७४

अर्जुन जम्नेली राई

भोजपुर । विप्लव नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीका नेता पदम राई(बिकास)ले निर्वाचन बारे आफ्नो कुरा राख्न नपाएपछि जनताले प्रतिरोध थालेको बताएका छन् । 

नेपाल सरकारका पूर्व राज्यमन्त्री समेत रहेका पदम राई अहिले नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हेडक्वाटर सदस्य तथा केन्द्रीय जन परिषद नेपालका उपाध्यक्ष रहेका छन् । 

भोजपुरमा केही दिन अघि चुनावी सभालाई सम्बोधन गर्न ट्याम्कैमैयुङ गाँउपालिका स्थित गोगने जाने क्रममा कार्तिक २८ गते पूर्व सञ्चारमन्त्री समेत रहेका भोजपुर (ख) प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईको गाडिमा बम विस्फोट भएको थियो । 

पदम राईको घर पनि भोजपुर नै हो । फोन कुराकानीमा विप्लव नेतृत्वका नेता पदम राईले उम्मेदवारलाई लक्षित गरेर बम प्रहारको विषयमा जिम्मा त लिएनन तर, जनताले प्रतिरोध सुरु गरेको बताए । 

भोजपुरका हरेक जस्तो प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई निर्वाचनबाट फिर्ता आउन र निर्वाचनको कार्यक्रममा नहिँड्न चेतावनीसहितको पत्र थमाएको एक उम्मेदवारले बताए । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समितिको लेटरप्याडमा दिएको उक्त पत्रमा आफूहरुको अनुरोधलाई बेवास्था गरे जस्तो सुकै कारबाही हुने धम्कि उक्त पत्र मार्फत दिइएको ती उम्मेद्वारले बताए । 

बम प्रहारसँगै भोजपुर जिल्लामा सुरक्षा निकायले उम्मेदवारहरुको सुरक्षा निगरानी बढाएको छ । सुरक्षा थ्रेटको बामजुद उम्मेदवारहरु भने निर्वाचन कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

विप्लव माओवादी नेता पदम राईले आफूहरुलाई जनसभाहरु प्रशासनले रोक लगाएपछि जनताबाट प्रतिरोध सुरु भएको बताए । निर्वाचन किन बहिस्कार गर्ने भन्ने बिषयमा थालिएको सभाहरुलाई हस्तक्षेप गर्दै धरपकड सुरु भएपछि जनता आक्रोशित भएको उनले बताए । 

शान्तिपूर्ण रुपमा बोल्न पाउने अधिकारलाई प्रतिबन्द लगाएर राज्य आफैले आतंक सुरु गरेपछि जनता स्वभाविक रुपमा प्रतिरोधमा उत्रिने राईले बताए । पछिल्लो पटक बिराटनगर अस्पतालमा उपचार गराइरहेका आफ्नो कार्यकर्ताहरु पक्राउ गरेर राज्य पक्षले द्वन्द्व निम्त्याउन चाहेको उनको भनाइ छ । 

राईले राज्यले नो भोटको व्यवस्था गरे अधिकांश जनता भोट लागउन नजाने दाबी गरे । नो भोटको व्यवस्था नगर्नु भनेको जवरजस्ती आफ्नो सत्ता टिकाउने चाल भएको आरोप समेत लगाए । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक पशुपति उपाध्यायले भने प्रदेशभर पूर्ण रुपमा सुरक्षा व्यवस्था मिलाइएको बताए । आजै प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा चलिरहेको र उक्त गोष्ठिले थप योजना निर्माण गर्ने प्रहरी प्रमुख उपाध्ययले बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप