शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

म जहाँबाट चुनाव लडे पनि जित्छु : प्रचण्ड

शनिबार, ०२ मङ्सिर २०७४, १४ : ३०
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौं -माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचन प्रचारमा नगईकन पनि आफुले जुनसुकै ठाँउबाट चुनाज वित्ने दावी गरेका छन् । पहिलोपोष्ट अनलाइनमा प्रकाशित अन्तर्वार्तामा उनले आफु विशेष योजनासहित चितवन आएको बताएका छन् । प्रचण्डले चितवनका जनताले हराए त्यो आफुलाई स्वीकार्य हुने पनि बताएका छन् । 

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष एवं वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे बीचको मुख्य प्रतिस्पर्धाका कारण चितवनको निर्वाचन क्षेत्र नं ३ अहिले सबैको ध्यान तानेको छ । प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा दुई प्रमुख ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)को आफ्नो उम्मेदवार भन्ने यहाँ छैन । प्रचण्ड नेकपा एमाले र पाण्डे नेपाली काँग्रेसको मतको आशमा निर्वाचन जित्ने दाबीका साथ चुनावी मैदानमा छन् । 

प्रचण्डले आफ्नो अन्तर्वार्तामा भनेका छन् : 
-उम्मेदवारको हैसियतले उभिँदा  मेरो दिमागमा एकातिर देशमा राजनीतिक स्थायित्व कायम गर्ने र दोश्रो चितवनको विकाससँगै नेपालकै विकास छ। र, तपाईँहरुको सहयोगले त्यो पूरा हुन्छ भन्ने विश्वासमा छु। अर्को भनेको जनताको समर्थन नै हो। यहाँको विकासका निम्ति भनेर म आएको छु। म चुनाव जित्न, सांसद हुन मात्रै आएको छैन। म सांसद हुन देशको जुनसुकै भागबाट, एक पटक पनि जनतामाझ नगइकन, घरदैलो नगरिकन चुनाव जित्न सक्छु। तर, म चितवनको विकास, चितवनका जनतामा समृद्धिका लागि, चितवनको सचेत मतद्वारा राष्ट्रको नेतृत्व गर्ने उद्देश्यको साथ आएको छु। मलाई पूरै विश्वास छ, जनताले विकास, समृद्धि र राजनीतिक स्थायित्वका निम्ति वामपन्थी उम्मेदवार सबैलाई विजयी गराउनुहुन्छ।   

-चितवन जोखिमयुक्त छ जित्दैन भनेर मलाई चेतावनी पनि दिएका थिए। रोल्पा रुकुममा प्रचण्ड देखा नपरे पनि चुनाव जितिहालिन्छ त्यहीबाट उठे हुन्छ भनेर दवाव आयो। तर, चितवनका जनताले मलाई हरायो भने म स्वीकार गर्छु। म चितवनमा नै जान्छु भनेर अडान लिएँ। म यहाँ आउनुको तात्पर्य एउटा त देशको आवश्यकता अर्थात् राजनीतिक स्थायित्वको लागि हो। त्यस्तो स्थायित्वको लागि चितवनका जनताबाट आएको अभिमतले निर्धारित गर्ने कुरो हो। चितवनका जनताबाट आउने अभिमत अन्य जिल्ला र क्षेत्रबाट आउने भन्दा ओजपूर्ण हुन्छ भन्ने सोचेको छु।

प्रचण्डले चुनाव जित्ने आधारवारे भनेका छन्
-मलाई लाग्छ चितवन जिल्ला वाम एक भएपछि लाल किल्ला नै हो। प्राप्त सूचना र स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने मात्र हो भने पनि सबै साथीहरुले जित्नु हुन्छ। तर, जितिन्छ भनेर हात बाँधेर बस्ने हो भने भन्न सकिन्न। त्यसैले मेहनत त अवश्य गर्नु नै पर्दछ। मुख्य कुरा मेरो अर्थात् म उम्मेदवार बनेको तीन नम्बर क्षेत्रको कुरा हो, यहाँ मैले मेरो प्रतिस्पर्धीनै देखेको छैन। कांग्रेसले उम्मेदवारी दिएको भए त्यो उम्मेदवार मेरो प्रतिस्पर्धी भन्न मिल्थ्यो। तर, एक जना गैर राजनीतिज्ञ जसको नेपालका भएका परिवर्तनमा कुनै साइनो छैन। नेपाली कांग्रेस हामी वामपन्थीहरु निरंकुशताविरुद्ध आन्दोलन गर्दा उहाँ त्यसको विपक्षमा हुनुहुन्थ्यो। अझै पनि गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको पक्षमा उहाँ हुनुहुन्न। मैले भन्नैपर्छ बरु उहाँको समर्थन प्रतिगमन तर्फनै छ। कांग्रेसले उहाँलाई उम्मेदवार बनाएको छ। हुन त विक्रमजी ठेकेदारको रुपमा निर्माणको काम राम्रै गर्नु भएको होला। तर, उहाँमा राजनीति संस्कार छैन।

र, यो पनि 
क्षेत्र नं ३ मा ६ स्वतन्त्र र ८ दलका गरी १४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । नेपाल दलित पार्टीका डिलबहादुर विक, विवेकशील पार्टीका सरदराज पाठक, संघीय समाजवादी फोरमका अजय ठाकुर हजाम, नेकपा मालेका डम्बर श्रेष्ठ, देशभक्त जनगणतान्त्रिक मोर्चाका टंकनाथ रेग्मी र नेपाल मजदुर किसान पार्टीका हरिप्रसाद दुलाल प्रतिस्पर्धामा छन् । यसैगरी स्वतन्त्रबाट प्रवेश अधिकारी, विजयराज घिमिरे, भरत बोहरा, टंक बास्तोला, हरिप्रसाद दाहाल र भगवती प्रसाईंको उम्मेदवारी छ ।

यस क्षेत्रमा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ र माडी नगरपालिकाका सबै वडा पर्दछन् । माडीका चार गाविस मिलेर माडी नगरपालिका बनेको हो । भरतपुर उपमहानगरपालिकामा यस अघि नारायणी र चितवन नगरपालिका गाभिएर महानगर बनेको हो । पछि थपिएका दुवै नगरपालिका क्षेत्र नं ३ मा पर्दछन् । भरतपुर महानगरपालिकाका वडा नं ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा क्षेत्र नं ३ मा पर्छ ।

जसमध्ये क्षेत्र नं. ३ को (क) मा भरतपुर महानगरपालिकाका वडा नंं ६, ८, ९, १५ देखि २० सम्म, २६, २७, २८ पर्दछ भने (ख) मा भरतपुर महानगरपालिकाका १३, १४, २१, २२, २३, २४, २५ र माडी नगरपालिकाका सबै वडा पर्दछन् ।

यो क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता छन् । जसमा महिला ६६ हजार २७० र पुरुष ५९ हजार ५५३ रहेका छन् । क्षेत्र नं ३ को (क) को मतदाता ६८ हजार ३६२ छ । जसमा महिला ३६ हजार ३०६ र पुरुष ३२ हजार ५६ छन् । सोही क्षेत्रको (ख) मा ५७ हजार ४६१ मतदाता छन् । जसमा महिला २९ हजार ९६४ र पुरुष २७ हजार ४९७ रहेका छन् ।

जिल्लामा कूल मतदाता तीन लाख ५४ हजार ३६ रहेको छ । जसमा एकजना तेस्रोलिंगी पनि छन् । कार्यालयका अनुसार एक लाख ८४ हजार ६८ जना महिला र एक लाख ६९ हजार ९६७ जना पुरुष मतदाता छन् ।

निर्वाचनका लागि क्षेत्र नं ३ मा ६२ मतदानस्थल तय गरिएको छ जहाँ १४९ मतदान केन्द्र रहेका छन् । जिल्लामा १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप