बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइलमा चिठ्ठा पर्यो भन्दै लाखौँ ठगी गर्ने ६ जना पक्राउ

शनिबार, ०२ मङ्सिर २०७४, १२ : ०३
शनिबार, ०२ मङ्सिर २०७४

बिराटनगर । लामो समयदेखि बिराटनगरमा बसेर अवैध हुण्डी कारोवारमा संलग्न अनुप सेठिया र उनका आफन्तहरुले अन्तर्राष्ट्रिय नेटवर्क बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको नयाँ तथ्य खुलेको छ । 

सेठिया र उनका सहयोगीले मोबाइलमा भाइबर र एसमेएसमार्फत चिठ्ठा परेको बताउँदै नेपाली नागरिकहरुबाट लाखौँ रुपैयाँ ठगी गर्ने गरेको रहस्य खुलेको हो । 
प्रहरीका अनुसार उनीहरुले भाइबरमार्फत लाखौँको चिठ्ठा पर्यो भनेर विभिन्न बहानामा नेपालीहरुलाई आइएमईमार्फत पैसा मगाई लाखौँ रुपैयाँ ठगी गर्ने गरेका थिए । 

पक्राउ पर्नेमा मुख्य नाइके बिराटनगर–७ का  ५५ बर्षीय अनुप सेठिया सहित उनका भतिजा ४० बर्षिय ललित सेठिया र सहयोगीहरु बिराटनगर–७ का २३ बर्षिय बिमलकुमार चिरानिया, २७ बर्षिय श्रवण कुमार बिश्वास , सुनसरी दुहवी नपा ६ का २९ वर्षीय  बलराम बिश्वास र भारत बिहार राज्य दरबंगा जिल्ला सुन्दरपुर–२ का ३७ बर्षीय पंकज कर्णलाई नगद ४६ लाख ५९ हजार ३४५ रुपैयाँसहित पक्राउ गरेको छ  । 

बिहिबार बिराटनगर मेनरोडस्थित सेठिया मार्केटमा रहेको आफिसमा छापा मारेर प्रहरीले सेठियाको नगदसहित ६ जनालाई पक्राउ गरेको थियो । उनीहरुबाट मोवाइल र पैसा बुझेका आइएमईका रसिदहरु पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ गरिएकाहरु सबैलाई ठगी आरोपमा मुद्दा चलाउन म्याद थप गरिएको र अनुसन्धान पछि सम्पत्तीशुद्धिकरणमा पनि मुद्दा दर्ता गरिने मोरङका एसपी अरुण बिसीले बताए । 

यसरी गर्थे सेठियाले  ठगी  
मुख्य योजनाकार रहेका सेठियाले भतिजा ललित र नातेदार बिमलकुमार मार्फत एजेण्टहरु फैलाउने गर्थे । सेठिया र उनका आफन्तहरु कोर टिममा रहेर ह्याक गरिएका मोवाइल नम्बरहरु मार्फत मोवाइलमा फोन गरेर वा भाइबरमा एसएमएस पठाएर चिठ्ठा परेको भन्दै मानिसहरुलाई लोम्याउने गर्दथे । उनीहरुले कहिले भारत कहिले पाकिस्तान, कहिले खाडी मुलुकका नम्बरहरु मार्फत फोन गर्ने र एसएमएस पठाउने गर्दथे । त्यसपछि उनीहरुले पटक–पटक सम्पर्क बनाएर भ्रम छर्दै मानिसलाई प्रलोभनमा पार्ने गर्दथे । सुरुमा धेरै पैसा पाउने लोभ देखाएर टयाक्स बापत थोरै पैसा मागेर मानिसहरुलाई जालो भित्र छिराउने गर्दथे । जालोमा परेपछि एजेन्टहरुमार्फत पटक –पटक आइएमई मार्फत पैसा मागेर असुल्ने गर्दथे ।  एजेन्टहरुको काम सर्वसाधारणसँग सम्पर्क बनाएर आफ्नो नामबाट पैसा जिम्मा लिएर सेठियालाई बुझाउनु हुन्थ्यो । 

यसबापत एजेन्टहरुले मोटो कमसिन पाउँथे । पैसाको आवश्यक परेका युवाहरुलाई सेठियाले एजेन्ट बनाउने गरेका थिए । पैसा लिनेमा आइएमईमा युवाहरुको नाम देखिने हुँदा प्रहरीले पटक पटक चिठ्ठामा ठगी गर्ने साना गिराहलाई पक्राउ गरेपनि मुख्य नाइकेसम्म पुग्न सकेको थिएन ।

यसपटक भने प्रहरीले ठूलो माछा नै समात्न सफल भएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप