शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाम गठबन्धनले जिते यही माटोमा सुन फलाउन सक्नुहुन्छ : महासचिव पोख्रेल

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ४५
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । नेकपा (एमाले) महासचिव एवम् काठमाडौँ क्षेत्र नम्बर–५ का वाम गठबन्धनका उम्मेदवार ईश्वर पोख्रेलले राजनीतिक लडाइँको कार्यभार समाप्त भएको भन्दै अब समृद्धिको दिशामा अघि बढ्ने बताएका छन् । चुनावी सभाका क्रममा शनिबार बालुवाटारमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी राजनीतिक लडाईँको अन्तिम अध्यायमा छौँ,’ उनले भने, ‘संविधान कार्यान्वयनपछि देशलाई समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भनेर मात्र सोच्ने छौँ ।’

उनले वाम गठबन्धन लहर र लहडका भरमा आएको नभई तीन करोड नेपालीको समृद्धिको सपना पूरा गर्ने उद्देश्य बोेकेर आएको पनि दाबी गरे । ‘अरुले सपना बाँढ्दै हिँडेका छन्,’ उनले एक सय ८० बढी युवालाई एमाले प्रवेश गराउँदै भने,’ ‘हामी तपाईँहरुका सपना पूरा गर्छौ । तपाईँहरु रोजगारीका एजेण्डा लिएर आउनुहोला । म ३ सय ६५ दिन नै तपाईँहरुको साथमा रहने छु ।’

उनले अब दैनिक हजार, दुई हजारको संख्यामा रोजगारीका लागि विदेश जाने परम्पराको समेत अन्त्य हुने दाबी गरे । ‘स्वदेशमा श्रम गर्ने वातावरण हामी निर्माण गर्छौ,’ उनले भने, ‘तपाईँहरु यही माटोमा सुन फलाउन सक्नुहुन्छ । यही उद्योग–कलकारखाना चलाउन सक्नुहुन्छ ।’

उनले वाम गठबन्धन देश बनाउने संकल्प लिएर अघि बढेको भन्दै युवाहरुलाई राष्ट्रको आवश्यकता अनुसार काम गर्न सुझाव दिए । अहिले जनताले फुट्न होइन जुट्न चाहेको भन्दै  जनताको चाहना पनि यो सानो देशमा दुईवटा मात्र पार्टी हुन् भन्ने रहेको उनले बताए । 

वाम एकताले पार्टीका नेता भन्दा धेरै जनता हौसिएको पनि दाबी गर्नुभयो । उनले जनताको त्यही हौसलालाई दुईतिहाई बहुमतको सरकार बनाएर संम्भावनामा परिणत गर्ने पनि प्रण गरे ।  

कार्यक्रममा नेपाल लोकतान्त्रिक समूह बालुवाटार, हाँडीगाउँ युवा समूह र टुसाल युवा समूहका एक सय ७४ जना युवाले एमाले प्रवेश गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप