बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के मुद्दा लिएर चुनाव लड्दै छन् रमेश लेखक ?

शनिबार, ०२ मङ्सिर २०७४, ११ : ३९
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । क्षेत्रगत रूपमा समग्र कञ्चनपुर विकासका लागि रमेश लेखक भरोसायोग्य नेता मानिन्छन् । दुईपटक कञ्चनपुरबाट निर्वाचित नेता लेखकले कञ्चनपुर र सुदूरपश्चिममा विकासको जग बसाले । सम्बन्धित क्षेत्रका मतदाता र सुदूरपश्चिमेलीका भरोसायोग्य नेता रमेश लेखक कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । 

‘कञ्चनपुरलाई भारत, चीन र नेपालको त्रिदेशीय नाकाका रूपमा विकास गरी समृद्घ कञ्चनपुर बनाउने मुख्य एजेन्डा हो,’ उनले भने, ‘जनताले त्यो सपना पूरा गर्न फेरि जिम्मेवारी दिनेछन् । जिम्मेवारी दिए म पूरा गर्नेछु ।’

विकासका नारा र विगतमा गरेको विकासे कामलाई आधार मानेर उनी मतदाता फकाउँदै छन् । उनले शान्तिप्रक्रिया र संविधान निर्माणमा आफूले खेलेको भूमिकालाई चुनावी मुद्दा बनाएका हुन् ।  महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणकार्य अगाडि बढेको छ । उनले चाँदनी र दोधारामा पुल र बाँध निर्माणमात्रै होइन, बाढी नियन्त्रण र सुक्खा बन्दरगाह बनाउन उल्लेख्य भूमिका खेलेका थिए । सुदूरपश्चिम विश्वविद्यालय स्थापनार्थ उनले खेलेको भूमिका सुदूरपश्चिमले बिर्सेका छैनन् ।

भौतिक योजना तथा यातायातमन्त्रीको भूमिका निर्वाह गरिसकेका उनले दैजी, बेलडाँडी, पुनर्वास हुलाकी सडकको काम अगाडि बढाएका थिए । जिल्लामा एक वर्षमै ४२ पुल निर्माणकार्य सुरु भइसकेको छ । चाँदनी र दोधारासँगै भीमदत्त नगरपालिकाको विकासका लागि आफूले भूमिका खेलेको उनको भनाइ छ । 

‘महाकाली अञ्चलमा सरकारी चिकित्सक बस्नै मान्दैनथे,’ उनले जानकारी गराए, ‘त्यस्तो अवस्थामा विकास समितिमार्फत चिकित्सक नियुक्त गरेर बिरामीलाई अकाल मृत्युबाट जोगाउने प्रयत्न गरेको थिएँ ।’ चाँदनी, दोधारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पुर्याउनुमात्रै होइन, चिकित्सकका लागि आवास बनाउनसम्म नेता लेखककै भर पनुपथ्र्यो । उनले निकट भविष्यमै चाँदनी, दोधरामा रहेको प्राथमिक स्वास्थ्यकेन्द्रलाई १५ शय्याको अस्पताल र अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा ल्याउने योजना बनाएका छन् । उनले चाँदनी र दोधाराका विद्यालय भवनको स्तरोन्नति गर्नुका साथै क्याम्पस स्थापना गरे ।

संवत् ०५६ सम्म दोधारा, चाँदनीवासी गाँस, वास, कपासमात्रै होइन, स्वास्थ्य, शिक्षामा समेत भारतसँगै निर्भर थिए । चाँदनी, दोधारामा बिजुलीबत्तीको उचित प्रबन्ध थिएन । बाटो थिएन । खानेपानीको समस्या उस्तै थियो । आफ्नै देश टेक्ने पुल थिएन । हिजोआज चाँदनी, दोधारावासीको विकराल समस्या समाधान भइसकेको छ । यसको जस रमेश लेखकले नै पाउँदै आएका छन् । 

नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रूपमा विकास गरेर कञ्चनपुरलाई देशकै ठूलो नाका बनाउने लक्ष्यसहित ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माण गर्ने काममा आफूले खेलेको भूमिकाप्रति उनी गौरवान्वित छन् । उनले भावी योजना छ, ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउँदै नयाँदिल्ली–कञ्चनपुर (चार सय किलोमिटर) र कञ्चनपुर–ताक्लाकोट (तीन सय किमि दूरीको सडक बनाएर) मार्ग मानसरोवरसम्म जोड्नेछु ।’ 

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत बाहिरी जिल्लाका १५ क्याम्पसलाई सम्बन्धन दिलाउन उनको भूमिका अहम् थियो । सुदूरपश्चिममा विश्वविद्यालय स्थापना हुनुपर्ने स्थानीयले माग गरेपछि स्थानीयको माग सम्बोधन गर्न नेता लेखकको अथक प्रयासस्वरूप विश्वविद्यालय स्थापना सुरु भइसकेको छ ।

पटकपटक मन्त्री भइसकेका लेखक संवत् २०५६ मा कञ्चनपुर–३ बाट अत्यधिक मतले विजयी भएका थिए । निर्वाचित भएपछि उनलाई यहाँको अवस्थाबारे सम्झाइरहन परेन । चुनावमा गरेका प्रतिबद्धता पूरा गरे । उनले एसियाकै दोस्रो लामो झोलुंगेपुल निर्माणका लागि गरेको पहल स्थानीयले सम्झेकै छन् । सो पुल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । 

श्रममन्त्री हुँदा उनले वैदेशिक रोजगारीसम्बन्धी दूरगामी प्रभाव पार्ने काम गरे । ‘दक्षिण कोरिया, संयुक्त अरब इमेरेट्स, बहराइन र कतारसँग श्रम सम्झौता गरें,’ नेता लेखकले भने, ‘त्योभन्दा पहिले श्रम सम्भौता थिएन । जसकारण कामदार जोखिममा थिए । दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस) सम्झौता मेरै पालामा भएको थियो ।’ त्यसअघि दसौं लाख रुपैयाँ असुलेर कोरिया पठाइन्थ्यो । हिजोआज कोरियाली भाषा उत्तीर्ण गरेकाले ईपीएसमार्फत थोरै खर्चमा कोरिया जान पाउँछन् । कोरियामा कार्यरत एक नेपालीले मासिक एकदेखि दुई लाख रुपैयाँसम्म कमाउने गर्छन् ।

त्यतिबेला, विकासभन्दा शान्ति स्थापनाको माग बुलन्द थियो । शान्ति स्थापनामा लेखकले ठूलो भूमिका खेले । सरकारले उनलाई सरकारी वार्ताटोली सदस्य बनाएर माओवादीसँग वार्तामा खटायो । फलस्वरूप माओवादी शान्तिवार्तामा आयो । शान्ति स्थापनार्थ उनले खेलको भूमिका देशवासीले बिर्सेका छैनन् । 

संविधान निर्माणमा उनको सक्रिय सहभागिता थियो । नेता लेखकले त्यतिबेला मौलिक हक तथा नागरिकता मस्यौदा समिति र संविधानको अन्तिम रूपको कार्यदलको सदस्य भएर भूमिका निर्वाह गरेका थिए । 

राजनीति भनेको समाजसेवा हो । समाजसेवामा लागेकाले सेवा गर्नु पहिलो सर्त हो । उनले जोगबुढा नदी नियन्त्रणसम्बन्धी उदाहरणीय काम गरे । महाकाली नदीमा एसियाकै सबैभन्दा दोस्रो ठूलो झोलुंगेपुल निर्माणपछि पक्की पुल बनाउने जिम्मेवारी उनकै दायित्व थियो । नभन्दै त्यस क्षेत्रका नेताहरूको सहयोगमा उनी यस काममा समेत सफल भए ।  

शिक्षित र विकासप्रेमी नेताका रूपमा चिनिएका रमेश लेखक जनताको जीवनस्तर, मुलुकको आर्थिक समुन्नतिका लागि सधैं प्रयत्नशील रहे । कतिपय नेतामा आफ्नै दुनो सोझ्याउने दाउमा छन् । तर, उनी जहिल्यै मुलुकको स्वाभिमान उँचो राख्न लागिपरे । नीति र नितान्त आसेपासेको स्वार्थमा रमाउने नेताको जगजगी छ । स्वच्छ छविका नेता उनले काठमाडौं तराई जोड्ने फास्ट ट्र्याक नेपाली सेनालाई निर्माणको जिम्मा दिन कूटनीतिक रूपमा सफल भए । 

दशरथ चन्द नगरपालिका बैतडीमा ०२० मा बुवा प्रयागदत्त लेखक र आमा शारदादेवी लेखकको कोखबाट जन्मेका लेखकसँग सिंगो सुदूरपश्चिमसँगै देशलाई समृद्ध बनाउने सपना र योजना छ । ०३७ मा विद्यार्थी राजनीतिबाट थालेको राजनीतिक यात्राले निरन्तरता पाएकै छ । भारतको लखनउ विश्वविद्यालयबाट स्नातकोत्तर र एलएलबीसम्मको अध्ययन गरेका उनले ०४७ पछि कांग्रेस जिल्ला कार्यसमितिको सचिवको जिम्मेवारी सम्हाले । त्यही समय उनले महाकाली साप्ताहिकमार्फत पत्रकारिता यात्रालाई अगाडि बढाए । क्याम्पसमा अध्यापन र वकालत पेसा सँगसँगै अघि बढाए । 

व्यक्तिगत वृत्तिविकास छाडेर नेता रमेश लेखक राजनीतिमा लागेका हुन् । कञ्चनपुर–३ ले नेता लेखकजस्तो उम्मेदवार पाउनु गौरव मान्नैपर्छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप