शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चेला अनन्तलाई भोट माग्न गुरु महरा रोल्पामा

शुक्रबार, ०१ मङ्सिर २०७४, १९ : ५३
शुक्रबार, ०१ मङ्सिर २०७४

रोल्पा – नेकपा (माओवादी केन्द्र) वरिष्ठ नेता एवम् उपप्रधानमन्त्री कृष्णबहादुर महरा अर्का वरिष्ठ नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’का राजनीतिक एवम् शैक्षिक गुरु हुन् । ‘आदरणीय महरा सर मेरो शैक्षिक गुरुमात्रै होइन । राजनीतिक गुरु पनि हो’, शुक्रबार लिबाङमा आयोजित चुनावी सभामा महराका सामुन्ने अनन्तले भने, ‘म मात्रै होइन हामी रोल्पाबाट जति माओवादीका नेता छौँ, सबै महरा सरका चेला हौँ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन नजिकिदै जाँदा महराले रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा अनन्तका लागि भोट माग्न रोल्पा पुगिरहेका छन् । उनी एक हप्ताको अन्तरालमा अनन्तलाई भोट माग्न दुईपटक रोल्पा आईसकेका छन् ।

दाङ २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका महरा अनन्तलगायत आफ्ना चेलाहरु कुलप्रसाद केसी र दीपेन्द्र पुनलाई भोट माग्न रोल्पा पुगे । महरा र अनन्तलाई लक्षित गरेर नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले महराको घरनजिकै पर्ने भदौरेभन्ने ठाउँमा बम विस्फोट गराए । चन्द पनि महराका राजनीतिक तथा शैक्षिक चेला हुन् । संयोगले एक चेलाका लागि भोट माग्न रोल्पा जाँदै गर्दा अर्का चेलाले महरामाथि बम प्रहार गरिरहेका थिए ।

नगरपालिका स्तरीय चुनावीसभालाई संबोधन गर्ने क्रममा महराले आफ्ना चेला अनन्तको राम्रै प्रशंसा गरे । उनले स्पष्ट भाषामा भने, ‘अनन्तको जीत मेरो जित हो ।’ उनले अनन्त, कुलप्रसाद केसी, दीपेन्द्र पुन, जयपुरी घर्तीलगायत आफ्ना विद्यार्थी भएको स्मरण गर्दै भने, ‘उहाँहरुको जित मेरो जित हो । उहाँहरुको जीतमा मलाई गौरव हुनेछ ।’

महराले आफू र अनन्तबीच अन्तरविरोध छन् भनि कतिपयले हल्ला गरिरहेको उल्लेख गर्दै आफूहरुबीच अन्तरविरोध छ भन्नेहरु दुस्मन भएको घोषणा गरे । ‘केहिं तत्वले हाम्रो बीचमा अन्तरविरोध ल्याउन खोजिरहेका छन्, यो दुश्मनले खेल्ने खेलभन्दा अरु केहीं होइन,’ चुनावीसभामा अनन्तलाई भोट माग्दै उनले भने, ‘अनन्तजी र मबीचमा कुनै मतभेद छैन, कोहीं पनि भ्रममा नपर्नुहोला । उहाँलाई अत्यधिक बहुमतले विजयी गराउनु होला ।’ रोल्पा नगरपालिका महरा र अनन्त दुवैको गृहक्षेत्र हो ।

उनले आफू अनन्तलगायतका नेताहरुलाई भोट माग्न रोल्पा आएको स्मरण गर्दै मंसिर १० पछि आफ्नो लागि भोग माग्न आईदिन आग्रहसमेत गरे । भने, ‘१० गते यहाँ चुनाव सकिन्छ, म दाङबाट उठेको छु, तपाईंहरु जसले जहाँबाट सक्नुहुन्छ, मेरो लागि भोट मागिदिनुपर्छ ।’

कार्यक्रममा महराभन्दा पछि बोलेको अनन्तले आफूलाई भोट माग्न आईदिएकोमा महरालाई धन्यवाद दिए । उनले महरा आफ्नो राजनीतिक एवम् शैक्षिक गुरु भएको बताए । ‘महरा सर मेरो शैक्षिक गुरुमात्रै होइन, राजनीतिक गुरु पनि हो’, उनले भने, ‘म मात्रै होइन रोल्पाका हामी माओवादी नेताहरुकै उहाँ शैक्षिक एवम् राजनीतिक गुरु हो । उहाँले हामीलाई माया गर्नुहुन्छ, हामी सबैले उहाँलाई सम्मान गर्छौँ ।’

अनन्तले महरा र आफूबीचमा कुनै पनि मतभेद नभएको घोषणा गरे । ‘कतिपयले महरा र अनन्तबीच द्वन्द्वछ भनेर हल्ला गर्न खोज्छन्, हामीबीच कुनै द्वन्द्व छैन,’ उनले भने, ‘महरा सर हाम्रो लागि भोट माग्न आईदिनुभयो । हामी धन्यवाद दिन्छौँ । हामी पनि उहाँका लागि भोट माग्न जाने छौँ ।’

अब समृद्ध रोल्पा सुखी रोल्पाली

चुनावी सभामा वाम गठबन्धनका नेताहरुले वाम गठबन्धनले दुई तिहाई सिट ल्याउने दावि गरे । उनीहरुले समृद्ध रोल्पा र सुखी रोल्पाली आफूहरुको अभियान भएको बताउँदै भोट मागे । 

कार्यक्रममा महरा, अनन्त, निवर्तमान सभामुख ओनसरी घर्तीमगर, वाम गठबन्धनका प्रदेश सभा सदस्य उम्मेदवारहरु कुलप्रसाद केसी, दीपेन्द्र पुन, समानुपातिक उम्मेदवार जयपुरी घर्तीमगर, एमाले पोलिट्व्यूरो सदस्य गोकुलप्रसाद घर्तीले संबोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप