शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर चुनावविरोधी गतिविधि भएपछि बोल्यो निर्वाचन आयोग

शुक्रबार, ०१ मङ्सिर २०७४, १८ : १५
शुक्रबार, ०१ मङ्सिर २०७४


काठमाडौं– निर्वाचन आयोगले पछिल्लो समय भएका चुनाव विरोधी गतिविधिप्रति चिन्ता जनाएको छ ।

आयोगले आज विज्ञप्ती निकालेर मतदाता, उम्मेदवारहरुलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असर पर्ने गरी देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटनाहरु भएकाप्रति दुख व्यक्त गरेको छ ।

उम्मेदवारहरूले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले आयोगलाई स्तब्ध तुल्याएको जनाइएको छ ।

बेलैमा थप सुरक्षा सर्तकता अपनाउन आयोगले सरकारलाई हार्दिक आग्रह गरेको छ ।

यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवम् निर्वाचनका सरोकारवालासँग आयोगले अनुरोध गरेको छ । 


यस्तो छ विज्ञप्तीको पूर्णपाठ 
नेपाली जनताको ठूलो बलिदानबाट गठन भएको संविधानसभामार्फत जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्न २०७४ मंंसिर १० र २१ गते दुई चरणमा  प्रतिनिधिसभा  तथा प्रदेशसभा सदस्य निर्वाचन हुन लागेको व्यहोरा विदितै छ । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा तथा संस्थागत गर्न देश अहिले लोकतान्त्रिक निर्वाचन अभियानमा अग्रसर छ । 

निर्वाचन आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र क्रियाशील रहेको छ । मतदाता, राजनीतिक दल र उम्मेदवारहरूको व्यापक सहभागितामा देशभर व्यवस्थित रुपमा निर्वाचनको अभियान सञ्चालन भइरहेको अवस्थामा मतदाता, उम्मेदवारहरुलाई हतोत्साहित गर्ने तथा निर्वाचनका गतिविधिमा नकारात्मक असर पर्ने गरी देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटनाहरु भएकाप्रति आयोग दुःख व्यक्त गर्दछ । 

निर्वाचनका लागि नेपाल सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति आयोग विश्वस्त रहेको छ तर हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरूले शान्तिपूर्णरूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले आयोगलाई स्तब्ध तुल्याएको छ । त्यसकारण बेलैमा थप सुरक्षा सर्तकता अपनाउन आयोग सरकारलाई हार्दिक आग्रह गर्दछ । साथै यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवम् निर्वाचनका सरोकारवालासँग आयोग हार्दिक अनुरोध गर्दछ । 

जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्ण रूपमा आफ्ना गतिविधिहरुलाई अगाडि बढाउन सकिने व्यवस्था रहँदा रहँदै जनचाहनाविपरीतका हिंसात्मक घटनाहरू गराई निर्वाचनविरोधी गतिविधिहरु सञ्चालन नगर्न, नगराउन सम्बद्ध सरोकारवालाहरुलाई निर्वाचन आयोग निर्देश गर्दछ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप