बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटन पूर्वाधारको अभाव

शुक्रबार, ०१ मङ्सिर २०७४, १६ : ४४
शुक्रबार, ०१ मङ्सिर २०७४

काठमाडौँ -मुलुकको पर्यटन व्यवसायसँग सम्बद्ध उद्यमी व्यवसायीले मात्र होइन उच्च सरकारी अधिकारीले समेत पर्याप्त भौतिक पूर्वाधारको अभावमा पर्यटन उद्योग अपेक्षानुसार फस्टाउन नसकेको बताएका छन् । 

कतार एयरवेजले नेपालमा सेवा शुरु गरेको २०औँ वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा आज यहाँ आयोजना गरेको ‘नेपालको पर्यटन ः सम्भावना र चुनौती’ विषयक कार्यशालाका सहभागिले त्यस्तो बताएका हुन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले विश्वकै अद्वितीय पर्यटकीय गन्तव्य मुलुक नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधारको अभावमा सोचेजस्तो विकास हुन नसकेको स्वीकार गर्नुभयो । 

वैदेशिक मुद्रा आर्जनको प्रमुख माध्यमका रुपमा रहेको पर्यटन व्यवसायको प्रवद्र्धनका निम्ति निजी क्षेत्रसँग मिलेर काम गर्न आफू सदैव तत्पर रहेको दोहो¥याउँदै उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न आफू कृतसंकल्प रहेको बताउनुभयो । 

मन्त्री देवले प्रत्यक्ष वैदेशिक लगानीका निम्ति बाह्य लगानीकर्तालाई आह्वान गर्दै त्यसको प्रतिफल सुनिश्चित गर्न नेपाल सरकारले कानूनी व्यवस्था गरेको स्पष्ट गर्नुभयो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सडक, यातायातजस्ता भौतिक पूर्वाधार निर्माण अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । हिन्दू र बुद्ध धर्मको केन्द्रस्थलका रुपमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिने उहाँको भनाइ थियो । 

“मक्का मदिना, जेरुसेलम र तिरुपति बालाजी धार्मिक पर्यटनले विश्वभर प्रख्यात छन् । लुम्बिनी, जनकपुर र काठमाडौँलाई पनि धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिन्छ । त्यस निम्ति भौतिक पूर्वाधार निर्माण पहिलो शर्त हो” उहाँले भन्नुभयो । 

सरकारले पर्यटन क्षेत्रको विकास लागि हरसम्भव प्रयास गरिरहेको र राजनीतिक संक्रमणलगायत आन्तरिक कारणले सोचेअनुरुप विकास हुन नसकेको उहाँले यथार्थ प्रस्तुत गर्नुभयो । 

कतार एयरवेजका देशीय प्रबन्धक जयप्रकाश नायरको सभापतित्वमा भएको उक्त कार्यशालामा वरिष्ठ पत्रकार युवराज घिमिरे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाह, सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उत्पल मजुमदार, नेपाल टुर एण्ड ट्राभल एशोसिएसनका अध्यक्ष मधुसूदन आचार्य, डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचेर र नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा यातायात समितिका सभापति ज्योत्स्न्या श्रेष्ठले नेपालका तारे होटेलले आलु प्याजजस्ता नेपाली उत्पादन पनि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँहरुले नेपाली उत्पादनको अधिकतम उपयोग, तारे होटेलमा छुट्टै नेपाली रेष्टुराँको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै भौतिक पूर्वाधार निर्माण नै पर्यटन प्रवद्र्धनको मुख्य आधार भएको बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप