बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देवघाटमा सद्बीज छर्न हालसम्मकै बढी भक्तजन

शुक्रबार, ०१ मङ्सिर २०७४, ०९ : ४२
शुक्रबार, ०१ मङ्सिर २०७४

चितवन - पवित्र तीर्थस्थल देवघाटधाममा सद्बीज छर्नेहरुको भीड लागेको छ । 

पितृहरुको मोक्ष प्राप्तिका लागि सद्बीज छर्ने चलन रहेको पाइन्छ । यस लोकमा छरेको अन्न पितृहरुको लोकमा अंकुरण हुने र सो बीजका कारण पितृहरुले कहिल्यै भोकै बस्नु नपर्ने भनाइ हिन्दू धर्मशास्त्रमा छ । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार आज बिहान देवघाटमा एक लाखभन्दा बढी भक्तजन आएका छन् । बिहीबार दिउँसो २ बजेदेखि भक्तजनले जाग्राम दीप प्रज्वलनका लागि नदी किनार र आश्रम क्षेत्रमा स्थान सुरक्षित गर्न थालेका थिए । 

तनहुँतर्फको वेणी, गलेश्वर आश्रम, मैयादेवी ट्रस्ट, अघोरी आश्रम लगायतका क्षेत्रमा जाग्राम दीप प्रज्वलन गर्नेहरुको भीड लागेको थियो । रातभर जाग्राम बस्ने र बिहान सबेरै नारायणी, कालीगण्डकी नदी किनार हुँदै मठमन्दिर र आश्रमहरु वरपर सद्बीज छर्ने गरिन्छ । 

आज बिहान २ बजेदेखि बिहान आउने दर्शनार्थीको ओइरो लागेको छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा एक पटकमा सयजना मात्रै आवतजावत गर्नुपर्नेमा यो सङ्ख्या २५० नाघेको पौडेलले बताए । 

निर्वाचनले गर्दा प्रहरीको सङ्ख्या कम रहेकाले व्यवस्थित गर्न कठिन भएको छ । भारतलगायत तेस्रो मुलुकबाट पनि भक्तजन सद्बीज छर्न र मेला हेर्न आउने गर्दछन् । विगतका वर्षको तुलनामा यस वर्ष अहिलेसम्मकै बढी भक्तजन आएको पौडेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप