शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यचौकी सार्न लागिएको भन्दै स्थानीयको विरोध

शुक्रबार, ०१ मङ्सिर २०७४, ०८ : ५०
शुक्रबार, ०१ मङ्सिर २०७४

खोटाङ - साबिकको स्थानबाट स्वास्थ्यचौकी सार्न लागिएको भन्दै खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका स्थानीयवासीले विरोध जनाएका छन् । 

लफ्याङको मेघेचौरामा रहेको स्वास्थ्यचौकीलाई करिब दुई किलोमिटर तल मोहोरियामा सार्न लागिएको भन्दै असन्तुष्ट स्थानीयवासीले विरोध जनाएका हुन् । 

छलफल नै नगरी स्वास्थ्यचौकी सार्न लागिएको विरोधमा असन्तुष्ट स्थानीयवासीले बिहीबार स्वास्थ्यचौकीमा ताला लगाएर नाराजुलुस लगाउँदै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । 

सूचना टाँस गरेर निःशुल्क जग्गाका लागि आह्वान गरिएपछि साबिकको स्वास्थ्यचौकी नजिक बाबुराम राई र विजय राईले पाँच रोपनी जग्गा दिन तयार भए पनि स्वास्थ्य सहयोग समितिका अध्यक्ष रहेका वडाअध्यक्ष निर्मल राईले स्वास्थ्यचौकी सार्न खोजेको स्थानीयवासी प्रेम कटुवालले बताए । 

स्वास्थ्य सहयोग समितिले भने शान्तिशोभा राई र चरी राईले मोहोरियामा दिएको जग्गा बुधबार स्वास्थ्यचौकीको नाममा पास गराएपछि विरोध गरिएको स्थानीयवासीले बताएका छन् । 

आफूहरुले साबिकको स्वास्थ्यचौकी नजिक जग्गा दिन खोज्दा स्वास्थ्य सहयोग समितिले निवेदन लिन नै अस्वीकार गरेको असन्तुष्ट पक्षको आरोप छ । वडाअध्यक्ष निर्मल राईले भने सर्वदलीय बैठककै निर्णयअनुसार नै स्वास्थ्यचौकी सार्नका लागि जग्गा पास गरेको बताए । 

यता, सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदीले नाराजुलुससहित प्रशासन पुगेको टोलीलाई तत्काल ताला खोलेर सेवा सञ्चालन गराउन अनुरोध गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप