बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् प्रमुख दलबाट मुख्यमन्त्रीका मुख्य दाबेदारहरु

शुक्रबार, ०१ मङ्सिर २०७४, ०७ : ०९
शुक्रबार, ०१ मङ्सिर २०७४

प्रायः ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन्, जिल्लाकै नेता दाबेदारको रुपमा रहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेस
प्रदेश नम्बर १
अधिकांश जिल्ला सभापति दाबेदार
कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन् । त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन् । ताप्लेजुङबाट जिल्ला सभापति लीला बोखिम, पाँचथरबाट नरेन्द्र केरुङ, सुनसरीबाट राजीव कोइराला, उदयपुरबाट विदुर बस्नेत, सोलुखुम्बुबाट आङगेलु शेर्पा, खोटाङबाट विष्णु राई, धनकुटाबाट मनोहरनारायण श्रेष्ठ र तेह्रथुमबाट गोविन्द ढुंगाना उम्मेदवार छन् । उनीहरू नै मुख्यमन्त्रीका दाबेदार हुन् । यीमध्ये सभापति शेरबहादुर देउवाका सबैभन्दा निकट आङगेलु शेर्पा हुन् ।

प्रदेश नम्बर २
पूर्वराष्ट्रपति र कोषाध्यक्षका छोरासम्म
पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन धनुषा र कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र सिरहाबाट उम्मेदवार छन् । त्यस्तै, नेविसंघका पूर्वसभापति रञ्जित कर्ण सप्तरी, पूर्वसांसद डा. गणेश मण्डल सिरहा, प्रेमकिशोर साह तथा रामसरोज यादव धनुषा र जनार्दन क्षेत्री पर्साबाट उम्मेदवार छन् । उनीहरू नै मुख्यमन्त्रीको दाबेदार हुन् ।

प्रदेश नम्बर ३
केन्द्रीय सदस्यदेखि पूर्वसांसदसम्म
सिन्धुलीका श्याम घिमिरे, मकवानपुरका इन्द्र बानियाँ, चितवनका दिनेश कोइराला, काभ्रेका कञ्चनचन्द्र बादे श्रेष्ठ, काठमाडौंका लोकेश ढकाल, भक्तपुरका गणेशमान चक्रधर र नुवाकोटका जगदीश्वरनरसिंह केसी मुख्यमन्त्रीका उम्मेदवार हुन् ।

प्रदेश नम्बर ४
तीन केन्द्रीय सदस्य दाबेदार
प्रदेश नम्बर ४ मा भने केन्द्रीय नेताहरू नै दाबेदार छन् । कृष्णचन्द्र नेपाली नवलपुर पूर्व १ (क), महेन्द्रध्वज जिसी (ख), तनहुँ १ (क) गोविन्द भट्टराई, तनहुँ २ (क) प्रदीप पौडेल, (ख) मा धु्रव वाग्ले, कास्की १ (क) जीवन परियार उम्मेदवार छन् । उनीहरु नै मुख्यमन्त्रीका दाबेदार हुन् । भट्टराई, पौडेल र परियार केन्द्रीय सदस्य हुन् । यीबाहेक कास्की ३ (क) शारदा पौडेल, स्याङ्जा १ (क) कमलप्रसाद पंगेनी पनि मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश नम्बर ५
मुख्यमन्त्रीका दाबेदार लो–प्रोफाइलका
प्रदेश नम्बर ५ बाट कांग्रेसमा केन्द्रीयस्तरका नेता मुख्यमन्त्रीका दाबेदार छैनन् । कपिलवस्तु ३ (ख) बाट वीरेन्द्रकुमार कनौडिया, दाङ ३ (क) बाट डिल्लीबहादुर चौधरी, दाङ २ (क) बाट कमलकिशोर घिमिरे मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रदेश नम्बर ६
शाही र विष्ट दाबेदार
प्रदेश नम्बर ६ बाट कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही हुम्ला (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन् । सुर्खेत २ (ख) बाट तप्तबहादुर विष्ट पनि अर्कोे सम्भावित नाम हो ।

प्रदेश नम्बर ७
पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म
प्रदेश नम्बर ७ मा डडेल्धुरा (क) बाट रघुराज भट्ट, (ख) बाट कर्णबहादुर मल्ल, डोटी १ (क) बाट भरतबहादुर खड्का, बाजुरा (क) बाट जनकराज गिरी मुख्यमन्त्रीका दाबेदार हुन् । यीमध्ये गिरी पूर्वसहायकमन्त्री हुन् । खड्का सांसद भइसकेका छन् । मल्ल कांग्रेस डडेल्धुरा सभापति हुन् । बझाङ (ख) बाट उम्मेदवार बनेका पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह पनि दाबेदार हुन् ।

एमाले
प्रदेश नम्बर १
आचार्य र राई दाबेदार
एमाले सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राई मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । आचार्यले सुनसरी १ (ख) बाट उम्मेदवारी दिएका छन् । त्यस्तै,पूर्वमन्त्री शेरधन राई भोजपुर (क) बाट उम्मेदवार छन् ।

प्रदेश नम्बर २
संयोजक र सहसंयोजक दुवै दाबेदार 
स्थायी समिति सदस्य तथा पार्टी प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरी दुवै प्रदेश सभामा उम्मेदवार छन् । मण्डल सप्तरी १ (क) बाट तथा चौधरी पर्सा ३ (क) बाट उम्मेदवार छन् । एमालेले मुख्यमन्त्री पाएको अवस्थामा उनीहरू नै प्रमुख दाबेदार हुन् । यद्यपि, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच यो प्रदेशमा मुख्यमन्त्री माओवादीलाई दिने अनौपचारिक छलफल चलेको स्रोतको दाबी छ ।

प्रदेश नम्बर ३
उपाध्यक्षसहित पाँच नेता दाबेदार 
यो प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पाँचजना पोलिटब्युरो सदस्य मुख्यमन्त्रीका दाबेदार छन् । पाँचैजनाले आफूलाई सम्भावित मुख्यमन्त्रीका रूपमा सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन् । शाक्य काठमाडौं ८ (ख) बाट उम्मेदवार बनेकी छिन् । उनी प्रदेश सभामा उम्मेदवार बनेकामध्ये सबैभन्दा उच्च तहकी नेतृ हुन् ।

त्यस्तै, दुईपटक पोलिटब्युरो सदस्य भइसकेका पशुपति चौलागाईं दोलखा, राजेन्द्रप्रसाद पाण्डे धादिङबाट उम्मेदवार छन् । अर्का पोलिटब्युरो सदस्य अरुण नेपालले सिन्धुपाल्चोक तथा वैकल्पिक पोलिटब्युरो सदस्य सानु श्रेष्ठ काठमाडौं २ बाट प्रदेश सभामा उम्मेदवार छन् । चौलागाईंलाई शीर्ष तहमा भावी मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमतिपछि प्रदेश सभामा उठाइएको स्रोतले जनाएको छ ।

प्रदेश ४
सचिवदेखि स्थायी समिति सदस्यसम्म दाबेदार 
प्रदेश नम्बर ४ बाट एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार हुन् । पृथ्वीसुब्बा लमजुङ र किरणले तनहुँबाट प्रदेश सभामा उम्मेदवार छन् । दुवैले मुख्यमन्त्रीका रूपमा प्रदेश नम्बर ४ लाई ‘पर्यटन हब’का रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन् ।

प्रदेश ५ 
शंकर पोखरेल प्रमुख दाबेदार 
प्रदेश नम्बर ५ बाट एमालेबाट स्थायी समिति सदस्य शंकर पोखरेल र वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ चौधरी मुख्यमन्त्रीका दाबेदार छन् । पोखरेलले दाङ २ (ख) बाट र चौधरी परासी २ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रतिनिधिसभामा उठाउनुपर्ने भएपछि पोखरेललाई अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासनका साथ प्रदेश सभामा उठाएको स्रोतले जनाएको छ । सम्भावित मुख्यमन्त्रीका रूपमा उनले प्रदेशको समग्र विकासबारे पूर्वाधार, यातायात, पुँजी परिचालनलगायत १० वटा मुख्य एजेन्डा अघि सारेका छन् ।

प्रदेश ६
प्रकाश ज्वाला र कँडेल प्रतिष्पर्धी
प्रदेश नम्बर ६ मा दुई पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन् । ज्वालाले सल्यान (ख) बाट तथा कँडेलले सुर्खेत (ख) बाट प्रदेश सभामा उम्मेदवारी दिएका छन् । तर, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने गरी छलफल चलिरहेको स्रोतले जनाएको छ ।

प्रदेश ७
थापा एकल दाबेदार 
प्रदेश नम्बर ७ बाट पोलिटब्युरो सदस्य कर्णबहादुर थापा एमालेबाट मुख्यमन्त्रीमा एकल दाबेदार देखिएका छन् । बाजुराबाट प्रदेश सभामा उम्मेदवारी दिएका थापालाई उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीमबहादुर रावलले प्रदेश सरकार बन्दा थापा नै मुख्यमन्त्री बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।

प्रदेश सभामा दलको नेता मुख्यमन्त्री 
कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय, सचिव, एमाले 
अहिले नै कुन प्रदेशमा को मुख्यमन्त्रीका उम्मेदवार तोकिसकेका छैनौँ । तालमेलका कारण पोलिटब्युरोदेखि सचिव तहसम्मका नेता प्रदेश सभामा उठ्नुभएको छ । अहिले जो चर्चामा हुनुहुन्छ, उहाँहरूमध्येबाटै मुख्यमन्त्री बन्ने हो । एमालेले जबजलाई अंगीकार गरेकाले पार्टीभित्र पनि खुला प्रतिस्पर्धा स्विकार्छौँ । भोलि प्रदेश सभा सांसद निर्वाचित भएर आएपछि प्रतिस्पर्धाबाट जो दलको नेता चुनिन्छ, ऊ नै मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन् ।

माओवादी
प्रदेश नम्बर २
भरत साह चर्चामा
माओवादीले प्रदेश नम्बर २ मा पूर्वसांसद भरत साह आफूलाई मुख्यमन्त्रीको दाबेदार भनेर प्रचारप्रसार गरिरहेका छन् । उनी ०६३ मा सांसदका रूपमा सिंहदरबार प्रवेश गरेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भने महोत्तरी ६ बाट पराजित भएका थिए । त्यस्तै, समानुपातिक सूचीमा रहेका जगत यादवले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् ।

प्रदेश नम्बर ४
‘पर्ख र हेर’को रणनीतिमा 
माओवादी केन्द्र प्रदेश नम्बर ४ मा ‘पर्ख र हेर’ को अवस्थामा छ । प्रदेश नम्बर १, ३, ४ र ७ मा प्रदेश सभामा उठेका माओवादी केन्द्रका नेताले मुख्यमन्त्रीमा दाबी गरेका छैनन् । इच्छा भएकाले पनि मुख खोलेका छैनन् । निर्वाचन जितेपछि मात्र मुख्यमन्त्रीको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने रणनीति उनीहरूले बनाएका छन् ।

प्रदेश नम्बर ५ 
कुलप्रसाद केसीको दाबी 
माओवादी केन्द्रले प्रदेश नम्बर ५ बाट कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ । उनी रोल्पा (क) बाट उम्मेदवार बनेका छन् । तर, एमालेका तर्फबाट स्थायी समिति सदस्य शंकर पोखरेललाई अगाडि सारिएकाले अवसर कसले पाउने भनेर निक्र्योल हुन निर्वाचन नै पर्खिनुपर्ने स्थिति छ ।

प्रदेश नम्बर ६ 
भण्डारी र शाही दाबेदार
विना विभागियमन्त्री महेन्द्रबहादुर शाही, पूर्वसांसद नरेश भण्डारीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । शाहीले कालिकोट (ख) बाट उम्मेदवारी दिएका छन् । भण्डारी जुम्ला (क) बाट उम्मेदवार छन् । शाही दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट निर्वाचित भएका थिए । भण्डारी पहिलो र दोस्रो संविधानसभामा सभासद् थिए । प्रदेशसभामा समानुपातिक उम्मेदवार पूर्वमन्त्री सत्या पहाडी पनि मुख्यमन्त्रीको दाबेदार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप