भक्तपुरको सल्लाघारीमा अत्याधुनिक ट्राफिक प्रहरी भवन बन्ने
भक्तपुर– भक्तपुरको सल्लाघारीमा अत्याधुनिक ट्राफिक प्रहरी भवन बन्ने भएको छ । भवन स्थानीयको सहयोगमा १ करोड ४३ लाख लागतमा बन्न लागेको हो । भवनको शुक्रबार बिहान महानगरीय ट्राफिक माहाशाखाका प्रमुख सर्वेन्द्र खनालले शिल्यान्यास गरेका छन् ।
भवन शिलानयास गर्दै प्रमुख खनालले भवन बनेसँगै भक्तपुरको ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त हुने अपेक्षा गरे । त्यस्तै उनले भवनजस्तै ट्राफिक प्रहरीको व्यवहार पनि राम्रो बन्नेमा आफु विश्वस्त रहेको बताए ।
‘यो भवन निर्माण भएपछि ट्राफिक प्रहरीले सवारी चालकबाट नियन्त्रणमा लिएका कागजपत्र भक्तपुरबाटै दिने व्यवस्था गर्ने तयारी भएको छ’ प्रमुख खनालले बताए । कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले एक बर्षभित्र निर्माण सम्पन्न गर्ने र ट्राफिक प्रहरीले राम्रो काम गरेकै कारण भवन बनाउन स्थानीयको सहयोग मिलेको बताए ।
भवन निर्माण समितिका संयोजक ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुले भक्तपुरमा ट्राफिक भवन बनेपछि त्यस भेगमा ट्राफिक व्यवस्थापन सहज हुने प्रतिकृया दिए । यसअघि हाछेथुकै अगुवाइमा काठमाडौ र ललितपुरमा चारवटा ट्राफिक भवन बनिसकेका छन् ।