बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिम्बाव्वेमा सैनिक ‘कू’ : पत्नी मोहका कारण मुगाबेको ३७ वर्षदेखिको शासन धरापमा

बुधबार, २९ कात्तिक २०७४, १७ : १९
बुधबार, २९ कात्तिक २०७४

हरारे । सैनिकले जिम्बाव्वेमा ‘कू’ गर्दै देशलाई आफ्नो नियन्त्रणमा लिएको छ । तर, सन् १९८० देखि सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे भने ‘सुरक्षित’ रहेको उसले जानकारी दिएको छ ।

राष्ट्रिय टिभीलाई नियन्त्रण लिएपछि सैनिक प्रवक्ताले पछिल्लो घटनाक्रमले देशलाई ‘सामाजिक र आर्थिकरुपमा हानी पुर्याउने’ मुगाबेका समर्थकहरुलाई लक्षित गरिएको जानकारी दिएका छन् ।

पत्नी ग्रेसलाई उत्तराधिकारी बनाउन रोबर्ट मुगाबेले उपराष्ट्रपति इमरसन मनगावाको बर्खास्त गरेपछि सेनाले यस्तो कदम चालेको हो ।

बुधबार बिहान राजधानी हरारेको उत्तरी भागमा भीषण गोलाबारीको आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेनाका जेनरल सिबुसिसो मोयोले भने यो ‘कू’ नभएको जानकारी दिएका छन् । तर, मुगाबे सुरक्षित रहेको बाहेक उनीबारे मोयोले अरु थप केही बताएनन् ।

जिम्बाब्वेमा सत्तारुढ पार्टी जानु–पीएफलेले ट्विटरमा रक्तहीन सत्ता परिवर्तनपछि राष्ट्रपति रोवर्ट मुगाबेलाई हिरासतमा राखिएकोे दाबी गरेको छ ।

बेलायतबाट स्वतन्त्र भए यता ९३ वर्षीय मुगाबे जिम्बाव्वेको राजनीतिमा छाउँदै आएका छन् । कूपछि दक्षिण अफ्रिकाका राष्ट्रपति जाकब जुमाले असंवैधानिक तरिकाबाट सरकार परिवर्तन नहुने विश्वास व्यक्त गरेका छन् भने अमेरिका बेलायतले जिम्बाव्वेमा रहेका आफ्ना नगरिकहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ । जिम्बाव्वेको सबैभन्दा ठूलो आर्थिक साझेदार चीनले पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ ।

मंगलबारदेखि नै सेनाको बख्तरबन्द गाडी हरारेको सडकमा देखिएको थियो । बुधबार बिहान राष्ट्रिय प्रशारण जेबिसीलाई नियन्त्रणमा लिएपछि मेजर जेनरल सिबुसिसो मोयोले वक्तव्य दिँदै राष्ट्रपति र उनको परिवार सुरक्षित रहेको जानकारी दिएका थिए ।

‘हामीले अपराधीहरुलाई मात्र निशाना बनाएका छौँ,’ उनले भनेका थिए, ‘यो मिसन सकिएपछि सबै कुरा सामान्य अवस्थामा फर्किनेछ ।’

कसले सैन्य अपरेशनको नेतृत्व गरिरहेको छ भन्ने यकिन हुन सकेको छैन ।

कू को कारण पत्नी मोह ?

९३ वर्षीय मुगाबेले आफ्नी दोस्री पत्नी ४१ वर्षले कान्छी ग्रेसलाई उत्तराधिकारी बनाउन चाहेपछि पछिल्लो घटनाक्रम विकसित भएको विश्लेषकहरुले बताएका छन् । 

मुगाबेको यो निर्णयबाट उपराष्ट्रपति एमर्सन मनगावालगायत पार्टीका शीर्ष नेताले असन्तुष्ट थिए । किनभने ग्रेसलाई जिम्बावेमा धेरैले मन पराउँदैनन् ।

तर, मुगाबेले ‘द क्रोकोडाइल (गोही)’ भनेर चिनिने पूर्व जासुससमेत रहेका एमर्सनलाई बर्खास्त गरे । उनलाई ज्यान मार्ने धम्की दिएपछि उनी दक्षिण अफ्रिका भागे ।

मुगाबेले उनीमाथि सत्ता खोस्न षड्यन्त्र गरेको आरोप लगाएका थिए भने पत्नी ग्रेसलाई उनलाई सर्पको संज्ञा दिँदै टाउको कुल्चनु पर्ने भाषण नै दिएकी थिइन् ।

गत हप्तामात्र एमर्सनले मुगाबेलाई पार्टी कसैको विर्ता नभएको चेतावनी दिएका थिए । त्यस्तै एमर्सनका साथी रहेका जिम्बाव्वेका सैन्य प्रमुख चिवेङ्गाले पनि सेना चुप लागेर नबस्ने चेतावनी दिएका थिए ।

सैनिक कूपछि एमर्सन फेरि देश फर्किएका छन् । ‘सेनाको चाहना अनुरुप’ अब उनले सत्ताको बागडोर सम्हाल्ने विभिन्न समाचारमा उल्लेख गरिएको छ ।

यता, ग्रेस आगामी महिना हुने पार्टीको कङ्ग्रेसबाट पतिको उत्तराधिकारीको रुपमा चयन हुने तयारीमा थिइन् । तर, पछिल्लो घटनाक्रमले भने सबै कुरा उल्टाइदिएको छ ।

मुगाबेको पहिलो पत्नीलाई सबैले मनपराउँथे तर, त्यसको ठीक विपरित ग्रेसलाई भने देशमा धेरैले मनपराउँदैन थिए ।

हालै मात्र उनको एक पत्रकारसँग झगडा परेको थियो भने दक्षिण अफ्रिकामा एक मोडलमाथि हातपात गरेको आरोप लागेको थियो ।

५२ वर्षीया ग्रेसको जीवनशैली पनि त्यतिनै विवादीत छ । उनले दुबई र दक्षिण अफ्रिकामा आलिशान घर किनेकी छिन् । आफ्नो छोरीको विवाहमा राष्ट्रको ढुकुटीबाट ३० लाख पाउण्ड खर्च गरेकी थिइन्, जसको निकै आलोचना भएको थियो । तैपनि हालै मात्र तीन लाख पाउण्डमा रोल्स रोयस कार फेरि खरिद गरिन् ।

उनका तीन छोराको खर्चिलो जीवनशैलीले पनि जिम्बाव्वेका धेरै जनतालाई उनीप्रति आक्रोशित बनाएको थियो । अनलाइनमा लिक भएको एउटा बिलमा उनीहरुले एकै रात ३ हजार डलर खर्च गरेको देखाएको छ जुन त्यहाँको जनताको औसत वार्षिक आयभन्दा ३ गुणाले बढी हो ।

उनको कान्छा छोराले हालै मात्र हिरा जडित घडीमा महंगो स्याम्पेन खनाउँदै ‘आफ्नो पिताले देशलाई राज गर्ने’ भन्दै भिडियो पोष्ट गरेका थिए ।

यस्तो अवस्थामा मुगाबे प्रति जिम्बाव्वेका कमै जनताको सहानुभूति हुने आँकलनसहित पछिल्लोको कदम चालिएको विश्लेषकहरुले बताइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप