शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वर र पञ्चकन्याको पूजा गरी घरदैलो अभियान शुरु

बुधबार, २९ कात्तिक २०७४, १३ : १२
बुधबार, २९ कात्तिक २०७४

काठमाडौँ -सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गोकर्णेश्वर महादेव मन्दिर र पञ्चकन्याको पूजा गरी चुनावी घरदैलो अभियान शुरु गर्नुभएको छ । 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसबाट काठमाडौँ क्षेत्र नं। ३ की उम्मेदवारसमेत रहनुभएकी मन्त्री बस्नेतले आज बिहान गोकर्णेश्वर मन्दिर र पञ्चकन्याको पूजा गरी गोकर्णेश्वर नगरपालिका–३ तारेभिरबाट घरदैलो अभियान शुरु गर्नुभएको हो । 

उपत्यकाभित्रै भए पनि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको दुर्गम गाउँ भएकाले विकास निर्माण र रोजगारीका दृष्टिले तारेभिर पछि परेको स्थानीयवासीको गुनासो थियो । चुनावी अभियान शुरु गर्नुहुँदै मन्त्री बस्नेतले उपत्यकाभित्रै भए पनि गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आफू राजनीतिमा लागेको बताउनुभयो । “बेरोजगार रहेका युवालाई युवा स्वरोजगार कोषबाट सहकारीमार्फत रु दुई लाख दिएर उद्यम गर्ने व्यवस्था गरिएको छ, मन्त्रालयले यो कार्यक्रमलाई अझ सहज बनाउने योजना बनाएको छ”, उहाँले भन्नुभयो । 

वाम गठबन्धनमा आबद्ध दलले उपत्यकाका दुर्गम गाउँलाई मत बैंकका रुपमा प्रयोग गरेर जनतालाई धोका दिने गरेको मन्त्री बस्नेतको आरोप थियो । गरिबको दल भनी नेपालका कम्युनिष्ट पार्टीले गरिबीमाथि नै राजनीति गरिरहेको उहाँले आरोप लगाउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति एवम् गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले निकुञ्जसँग जोडिएका नगरपालिकाका वडामा विशेष विकास निर्माणको योजना ल्याउने गृहकार्य भइरहेको जानकारी दिनुभयो । चुनावी अभियान शुरुवात समारोहमा क्षेत्र नं ३ को प्रदेशसभा ९क० का उम्मेदवार छिरिङदोर्जे लामा र प्रदेशसभा ९ख० का बिमल ठकुरी, काँग्रेस गोकर्णेश्वर नगर समिति सभापति श्रीकृष्ण ज्योति, क्षेत्रीय सचिव सुशील सिम्खडा लगायतले उपत्यकाकै दुर्गम गाउँलाई सहज रुपमा विकास निर्माण गर्न सक्ने नीति निर्धारण गर्न प्रदेशसभा र प्रतिनिधिसभामा काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप