शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ क्षेत्र नं ५ को निर्वाचन बढी रोचक

बुधबार, २९ कात्तिक २०७४, १३ : ०४
बुधबार, २९ कात्तिक २०७४

प्रभाषचन्द्र झा 
विराटनगर - निर्वाचनको तिथि नजकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ । 

छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार–प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् । 

यस क्षेत्रमा सबैभन्दा बढी मधेशी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार–प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न तल्लीन देखिन्छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि नै मोरङको राजनीतिमा सक्रिय रहनुभएका वृद्ध उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहनुभएकाले निर्वाचन बढी रोचक हुने देखिएको छ । 

विसं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको थियो । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली काँग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित हुनुभएको थियो । त्यसपछि यो क्षेत्रको चर्चा राष्ट्रव्यापी रुपमा भएको थियो । 

उपेन्द्र यादव मोरङबाट उम्मेदवारी मनोनयन नगरेको विषय पनि सर्वसाधारण मतदाताको बीचमा चर्चा परिचर्चा भइरहेका छन् । २०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ अब ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा ९माओवादी केन्द्र०बाट शिवकुमार मण्डल विजयी हुनुभएको थियो । उहाँ पुनः मोरङबाट निर्वाचित हुनका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट उठ्नुभएको छ । यसका साथै संघीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ पार्टीको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

नेपाली काँग्रेसबाट अमृतकुमार अर्याल, वाम गठबन्धनबाट शिवकुमार मण्डल र संघीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक संघर्ष हुने प्रबल सम्भावना देखिएको भए पनि मोरङको राजनीतिको पुरानो खेलाडी ७४ वर्षीय बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार हुनुभएकाले निर्वाचन रोचक बनेको छ । यसका साथै सातजना उम्मेदवार रहेको सो क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाबाट अमोद इमजन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी०बाट कुर्वान मियाँ र स्वतन्त्र उम्मेदवारका रुपमा अनिताकुमारी ढकाल हुनुहुन्छ । उहाँहरु पनि चुनावी मैदानमा जोडतोडका साथ प्रचारप्रसार जुट्नुभएको देखिन्छ । 

यस क्षेत्रमा कूल ८९ हजार २८७ मतदाता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप