मैत्रिपूर्ण खेलमा अर्जेन्टिना नाइजेरियासँग स्तब्ध, जर्मनी–फ्रान्स, ब्राजिल–इंग्ल्याण्ड बराबर
रसिया । विश्वकप उपाधिको दाबेदार टोली अर्जेन्टिना मैत्रिपूर्ण खेलमा नाइजेरियासँग स्तब्ध भएको छ ।
रसियाको क्रास्नोडारमा भएको खेलमा २–० ले पछि परेको स्थिति उल्टाउँदै नाइजेरियाले ४–२ अन्तरले अर्जेन्टिनालाई पराजित गरेको हो ।
एभर बनेगा र सर्जियो अगुएरोले अर्जेन्टिनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यतिर केलिची इहेनाचोले एक गोल फर्काएका थिए ।
खेलको दोस्रो हाफमा आर्सनलका एलेक्स इवोबीले दुई तथा ब्रायन इडोवुले एक गोल गरे पनि नाइजेरियाले सहज जित निकाल्न सफल रह्यो ।
अगुएरो खेलको बीचमै बिरामी
खेलमा अर्जेन्टिनाका लागि करियरको ३६ औँ गोल गरेका अगुएरोलाई हाफ टाइमको दौरान अस्पताल लानु परेको थियो । हाफ टाइममा रिंगटा लागेपछि २९ वर्षीय खेलाडीलाई नियमित जाँचको लागि अस्पताल लगिएको र डिस्चार्ज गरिसकिएको अर्जेन्टिनाको फुटबल संघले जानकारी दिएको छ । गत सेप्टेम्बरमा आम्सटरडाममा उनी एउटा कार दुर्घटनामा परेका थिए । जसमा उनको करङमा चोट लागेको थियो ।
हेभिवेटको प्रतिस्पर्धा बराबरमा सकियो
लार्स स्टिन्डीले इन्जुरी समयमा गोल गरेपछि जर्मनीले फ्रान्सलाई २–२ को बराबरीमा रोक्न सफल भएको छ ।
खेलमा अलेक्सान्डर लाकाजेटको गोलको मद्दतले फ्रान्सले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा टिमो वेर्नरले मेसुट ओजिलको पासमा खेल बराबरीमा ल्याए ।
खेलको ७१ औँ मिनेटमा लाकाजेटले पुनः गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । जिततर्फ अग्रसर भइरहेको फ्रान्सविरुद्ध स्टिन्डीले गोल गर्दै खेल बराबरी गरे ।
उता, ब्राजिल र इंग्ल्याण्डबीच वेम्बलेमा भएको मैत्रिपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । सन् १९७७ पछि दुई टोलीबीच गोलरहित बराबरीमा खेल सकिएको यो पहिलो अवसर हो ।
त्यस्तै, उपाधि दाबेदार मानिएको स्पेन आयोजक रसियासँग ३–३ को बराबरीमा रोकिएको छ ।
जोर्डी आल्बाले गोल गर्दै स्पेनलाई खेलको नवौँ मिनेटमा नै अग्रता दिलाएका थिए । त्यसपछि सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए ।
तर, पहिलो हाफ सकिन लाग्दा फ्योडोर स्मोलोभ र दोस्रो हाफको शुरुवातमा एलेक्से मिरान्चुकले खेल गोल गर्दै खेल बराबरी गरेका थिए ।
लगत्तै रामोशले पेनाल्टीमार्फत खेलमा स्पेनलाई पुनः अग्रता दिलाए ।
खेलको ७० औँ मिनेटमा स्मोलोभले अर्को गोल गरेपछि खेल बराबरीमा सकियो ।