बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुलामा कसले मार्ला बाजी ? इतिहास रच्ने र भत्काउनेबीच प्रतिस्पर्धा

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : ५६
मङ्गलबार, २८ कात्तिक २०७४

दार्चुला– निर्बाचनको मिति नजिकिदै गर्दा दार्चुलाका राजनीतिक दलहरुले प्रचारप्रसारसँगै कुन क्षेत्र र भेगबाट कति मत आउनसक्छ भनेर चुनावी अंकगणित तयार गर्न थालेका छन् । बिगतदेखीको जनमत, उम्मेदबारको ब्यक्तित्व, संगठन र गरेका कामको प्रभाबका आधारमा जनताले आफ्नो पक्षमा कति मत देलान् भन्ने अड्कलबाजी प्रतिस्पर्धी दलहरुले गरीरहेका छन् । 

दार्चुलामा संबिधान सभाको पहिलो र दोस्रो निर्बाचन पालैपालो बिजयी भएका माओबादी केन्द्र र एमालेबीच गठबन्धन बनेकाले बाम गठबन्धनका उम्मेदबारहरुको जित सुनिश्चित रहेको कतिपयको विश्लेषण छ भने स्थानीय तह निर्बाचनमा पहिलो पार्टी बन्न पुगेको काग्रेसले त्यसैलाई आधार बनाएर यो निर्वाचनमा पनि आफ्नै जित हुने तर्क गर्दै आएको छ । बामगठबन्धनका उम्मेदबारहरुसँग पहिलो र दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा पराजय भोगेका नेपाली काग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू जिल्लाबाट प्रत्यक्षमा सिफारीस भएपनि समानुपातिकमा बसेकाले गठबन्धन नै बलियो रहेको तर्क पनि भइरहेको छ । 

यद्यपी नेता बडुले युवा नेतृत्वलाई स्थान दिन आफु समानुपातिकमा आएको तर्क गर्ने गरेका छन् । बडुपछि हटेपछि काग्रेसबाट ३५ बर्षदेखी काग्रेसकै राजनीतिमा सक्रिय रहेका नेता बिक्रमसिह धामी उम्मेदबार बनेर गठबन्धनसँग पहिलोपटक चुनावी मैदानमा खडा छन् । 

बाम गठबन्धनका ठगुन्ना इतिहास रच्ने दाउमा
दोस्रो संविधानसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन प्रवक्ता दिलेन्द्रप्रसाद बडूलाई पराजित गरेका एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना लगातार दोस्रोपटक चुनाव जितेर इतिहास रच्ने दौडमा छन् ।

०४८ देखि हालसम्मका निर्वाचनहरुमा दार्चुलामा लगातार दोस्रो पटक जितेको इतिहास कसैले बनाउन सकेका छैनन् । ०४८ देखि ०७० सम्मका ५ वटा निर्वाचनमध्ये कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले दुईपटक जिते पनि लगातार जित्न नसकेको इतिहास छ । ०७० को संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धामा विजयी बनेका एमाले नेता ठगुन्ना यसपटक पनि चुनाव जितेर इतिहास रच्ने विश्वासमा छन् । ०४८ मा दुईवटा निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र राप्रपाका प्रचण्डबहादुर सिंह निर्वाचित भएका थिए । ०५१ देखि हालसम्मका निर्वाचनमा भने दार्चुलामा एउटा मात्र निर्वाचन क्षेत्र छ । 

०५१ को मध्यावधि निर्वाचनमा वहालवाला सहायक मन्त्री दिलेन्द्रप्रसाद बडूलाई चार हजारभन्दा बढी मतअन्तरले हराउँदै एमालेका तत्कालीन केन्द्रीय सदस्य स्व. प्रेमसिंह धामी विजयी बनेका थिए । राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर एमाले नेता धामी ०५१ को मध्यावधि निर्वाचनमा उत्रिएका थिए । ०५६ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी बनेका थिए । एमाले नेता धामीको ०५४ मा जिप दुर्घटनामा निधन हुनु र एमाले मालेबिच तत्कालीन समयमा बिभाजन भएपछि कांग्रेस नेता बडूलाई ०५६ को चुनाव जित्न सहज भएको थियो ।

यहाँबाट २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा माओवादीका लक्ष्मणदत्त जोशी फराकिलो मतान्तरले विजय बने भने ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना विजयी बने ।

यसपटकको निर्वाचनमा वाम गठबन्धन बनेपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बडूले प्रतिनिधिसभामा समानुपातिकको यात्रा तय गरेका छन् । केन्द्रमा कोइराला परिवारका नजिक रहेका बडूलाई समानुपातिक उम्मेदवार बनाएर दार्चुलाको प्रत्यक्ष निर्वाचनमा देउवा पक्षका नेताहरुलाई उम्मेदवार बनाइएकोले कांग्रेस कार्यकर्ताहरुमा खासै जाँगर नदेखिएको स्वयं जिल्लाका कांग्रेस कार्यकर्ता बताउँछन् ।
 

स्थानीय तह निर्बाचन नतिजा यस्तो छ
७ गाउँपालिका र २ नगरपालिका गरी कुल ९ स्थानीय तह रहेको दार्चुलामा स्थानीय तहको निर्वाचनमा कांग्रेसले २ नगरपालिकासहित ५, एमालेले ३ र माओवादी केन्द्रले १ स्थानीय तहको नेतृत्व गर्ने अवसर पाएका छन् । स्थानीय तहमा पाएको मतको आधार हेर्ने हो भने पनि गठबन्धन ८ हजार बढी भोटले अगाडि देखिन्छ । स्थानीय स्थानीय तहमा पालिका प्रमुखहरुले पाएको मत नेपाली कांग्रेसको २१ हजार ७ सय ६८, एमालेको २० हजार ४ सय ४५ र माओवादी केन्द्रको १० हजार ४२ मत देखिन्छन् । यसरी हेर्दा स्थानिय तह नतिजामा समेत बाम गठबन्धन काग्रेसभन्दा केही बलियो देखीएको छ । 
 

कसले बाजि मार्ला त ?
 

स्थानीय तहको निर्वाचनमा कमजोर नतिजा भोगेको एमाले र एमाले नेता ठगुन्नाका लागि वाम गठबन्धन महत्वपूर्ण औजार बन्न पुगेको छ । कांग्रेससँगको एक्लाएक्लै प्रतिस्पर्धामा पछाडि पर्ने आँकलन गरिएको दार्चुला एमालेलाई माओवादी केन्द्रको मतले हौस्याएको छ । स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित बनेका कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री बडूले वामगठन्धन बनेसँगै आफ्नो चुनावी यात्रा मोडेका हुन् । 

कांग्रेसका प्रभावशाली नेता बडूले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन छोडेपछि एमाले र एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्नाले राहत र सजिलो महसुस गरेका मात्र छैनन काग्रेस उम्मेदबारसंग दोब्बर मतान्तरले बिजयी हुने दावी गरीरहेका छन् । गठबन्धनले एमालेका साथै माओवादीसमेत उत्साहित बनाएको छ ।

दार्चुलामा दुईमध्ये एउटा प्रदेशसभामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर धामी सन्तोष उम्मेदवार बनेका छन् । एउटा निर्वाचन क्षेत्रमा एमालेका गेल्बुसिह बोहरा उम्मेदवार छन् । उता काग्रेसले भने संगठनको बलमा बाम गठबन्धलाइ ध्वस्त पार्ने मिसाइल आफुहरुसंग रहेकाले काग्रेसको जित हुने दाबी गरीरहेको छ ।

निबर्तमान सासंद एब. नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना र काग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदबार बिक्रम सिह धामीबिच नै मुख्य चुनाबि प्रतिस्पर्धा देखिन्छ । तर, बाजि कसले मार्नसक्छ त्यो भने मंसीर २१ गतेपछि आउने मतपरिणामले मात्रै प्रमाणित गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र प्रसाद जोशी
लोकेन्द्र प्रसाद जोशी

जोशी रातोपाटीका दार्चुला प्रतिनिधि हुन् । 

लेखकबाट थप