शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै काम भित्तो काट्दै

मङ्गलबार, २८ कात्तिक २०७४, १५ : ०२
मङ्गलबार, २८ कात्तिक २०७४

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा आजदेखि सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइएको छ । 

वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो । गत भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो । त्यसअघि दिनका समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको हो । 

सोअनुसार बिहान ७ देखि ८ः३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, अपराह्न १ देखि २ बजेसम्म र अपराह्न ३ देखि ४ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम शुरु गरिएको छ । आज बिहान ११ बजेदेखि गाडी रोकेर भित्तो काट्ने काम थालिएको हो । 

स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताए । 

सडकको नारायणगढबाट १६ किमी ३०० मि, घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र जलबीरेमा गरी ३०० मि क्षेत्रमा सडक चौडा गर्न बाँकी छ । ती ठाउँमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इन्जिनियर शिव खनालले बताए । 

हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ । इ खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्रे गर्नुपर्ने हुन्छ । एक दिनमा ३०० मि हाराहारीका दरले कालोपत्रे गर्न सकिएको उनले बताए । आगामी फागुन मसान्तसम्ममा कालोपत्रे सक्ने गरी काम भइरहेको बताइएको छ । 

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किमी खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किमीसम्म सडक ११ मि फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म नौ मि फराकिलो सडक बनाइँदैछ । सडकको सबै भाग कालोपत्रे गरिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप