शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जित्नेमा शङ्का नै छैनः लेखराज भट्ट

मङ्गलबार, २८ कात्तिक २०७४, ११ : ०६
मङ्गलबार, २८ कात्तिक २०७४

२०२८ सालदेखि निरन्तर कम्युनिस्ट पार्टीमा आबद्ध भई सक्रिय राजनीतिमा संलग्न माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्ट वाम गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन् । चुनावी प्रचारमा रहेका नेता भट्टसँग चुनावी माहोल बारे रातोपाटीका लागि टङ्क कुँवरले गरेको कुराकानीः

–चुनावको तयारी कस्तो छ ?
वाम गठबन्धनसँग तालमेल गरेको तपाईंलाई थाहा नै छ । हामीले पहिलो चरणअन्तर्गत वडाभेला, जनसम्पर्क कार्यालय स्थापना, जनवर्गीय सङ्गठनलाई एकीकृत गरी परिचालन गर्ने काम गरी चुनावी प्रचारप्रसारमा लागिरहेका छौँ । घोषणा पत्रसहित जनताको घरदैलोमा जाने योजनामा छौँ ।

– कैलाली ४ नै किन रोज्नुभयो ?
वर्षौंदेखि मेरो बसोवास यही क्षेत्रमा नै छ । यसअघि २०६४ सालको संविधान सभाको चुनावमा पनि यही क्षेत्रबाट जितेर तीन पटकसम्म मन्त्री भएँ । वर्षांैदेखि यहाँका जनतासँग भावनात्मक सम्बन्ध हुनुका साथै उहाँहरूको हर सुखदुःखमा साथ दिँदै आएको छु । त्यसैगरी उहाँहरूले पनि मलाई साथ सहयोग गर्दै आएका छन् । गठबन्धनबाट पनि यही क्षेत्रमा नै लड्नुस भनेर टिकट दिएकाले यो क्षेत्र रोजँे ।

– जित्ने सम्भावना छ ?
जित्ने मात्र होइन, अत्यधिक मतका साथ जित्नेमा पूर्ण विश्वस्त छु । राजनीतिलाई जहिल्यै पनि सेवाको रूपमा लिई २०३६ सालदेखि हर आन्दोलन र परिवर्तनमा मेरो ठूलो योगदान छ । मेरो सङ्घर्ष र योगदानको सम्मानीत जनता जनार्दनलाई पनि राम्ररी थाहा छ । म सत्तामा हुँदा वा बाहिर हुँदा जहिल्यै पनि यस क्षेत्रको विकास निर्माणका लागि अहोरात्र लागिपरेको छु । त्यही भएर पनि मेरो जित सुनिश्चित छ ।

 –तीन पटक मन्त्री हुनुभयो, यस क्षेत्रका लागि के–के गर्नुभयो ?
मेरो निर्वाचन क्षेत्र सुदूरपश्चिम प्रवेश विन्दु हो । तर, यहाँ अझै जुन गतिमा विकास निर्माणका काम हुनुपर्ने हो हुन सकेका छैनन् । जहाँसम्म म मन्त्री हुँदाको कुरा छ, म मन्त्री भएपछि विशेष आर्थिक क्षेत्र (सेज) स्थापना, गेटामा मेडिकल कलेज, दोधारचाँदनीमा सुख्खा बन्दरगाह, गेटामा रहेको धनगढी विमानस्थलको स्तरोन्तीलगायतका काम मेरै पालामा सुरु गरिएको हो । हाल यी योजना कार्यान्वयनका चरणमा छन् । साथै, गौरीफन्टानाकालाई अन्तर्राष्ट्रिय भन्सार नाका बनाउन पहल गरिरहेको छु भने क्षेत्रीय स्तरको आर्युवेद अस्पताल स्थापना, अत्तरिया–मोहना छ लेनको बाटो बनाउन मेरो अहम् भूमिका छ । सुकुम्बासी र मुक्तकमैयाको समस्या समाधानका लागि पहल, कमलरी, हलियाखलिया प्रथा हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

– चुनावको मुखमा एमाले र माओवादीबीच किन गठबन्धन बन्यो ? यो गठबन्धन कहाँसम्म पुग्छ ?
पहिलो कुरो कम्युनिस्ट आन्दोलनप्रति नेपाली जनता उत्साहित छन् । कम्युनिस्ट आन्दोलनले नेपालमा धेरै परिवर्तन र जनतामा चेतना जगाई दिएको छ । कम्युनिस्टहरूको ६५ प्रतिशत मत हुँदाहुँदै पनि २५ प्रतिशत मत भएको काङ्ग्रेससँग हामी प्रयोग हुँदै आयौँ, त्यसैले नेतृत्व तहबाट लामो छलफल, बहसबाट दीर्घकालीन सोचका साथ यो गठबन्धन बनेको हो । अब गठबन्धनले दुई तिहाई बहुमत ल्याएर स्थायी सरकार बन्छ र देशको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा फड्को मार्छ । यो गठनबन्धन चुनावका लागि मात्र नभएर पार्टी एकतासम्म पुग्छ ।

– यस क्षेत्रका लागि तपाईंका एजेन्डा के–के छन् ?
मैले आफ्ना एजेन्डा प्रष्टसँग राखेको छु । म राजनीतिमा लागेदेखि नै यहाँको विकासमा मेरो मुख्य चासो रह्यो । जनयुद्धमार्फत पनि सुदूरपश्चिमको विकासका कुरा उठाएँ । शान्ति प्रक्रियामा आएपछि झन् सशक्त बनाउन भूमिका खेले । सेती लोकमार्ग, महाकाली लोकमार्गजस्ता ठूलो आयोजना ल्याउन मुख्य भूमिका निभाएँ ।
नदी कटान रोक्न तटबन्धन, कृषि सडक कालोपत्रे गर्ने, पर्यटन विकास, उद्योगधन्दाको विकास, सर्वसुलभरूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको वातावरण सिर्जना गर्ने, स्थानीयस्तरमै रोजगारीका सम्भावनाको खोजी गर्ने र स्वरोजगारमूलक कार्यक्रम ल्याउने लगायतका मेरा एजेन्डा रहेका छन् ।

– वाम गठबन्धनका उम्मेदवारले जित्लान् त ?
अन्य दलका साथीहरूले राजनीतिलाई व्यापार जस्तो बनाएका छन् तर हामीले राजनीतिलाई सेवाका रूपमा लिएका छौँ । त्यसलाई रोक्न र काम गर्न सक्षम नेतृत्व छान्न जनता अब चुक्दैनन् । सबैको साझा प्रतिनिधि भएर काम गर्ने गठबन्धनको प्रतिबद्धताले विपक्षी दलका कार्यकर्ता र त्यो लाममा रहेका भनिएका मतदाताहरूले पनि गठबन्धनका उम्मेदवारलाई विश्वास गरेकाले जित्नेमा कुनै शङ्का नै छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप