बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बा अर्धभूमिगत, छोरा चुनावी मैदानमा

मङ्गलबार, २८ कात्तिक २०७४, १० : ४०
मङ्गलबार, २८ कात्तिक २०७४

मत दान नै गर्ने हो । किनबेच होइन । यो सर्वमान्यता हो । तर, निर्वाचनमा मत किनबेच हुनु अनौठो होइन । त्यस अर्थमा काठमाडौंका मतदाता शिक्षित छन् । सचेत छन् । उनीहरूले राजनीतिलाई मसिनोगरी नियालेका छन् । 

शिक्षित, सचेत र राजनीतिक चेत भएको काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभाका लागि अशोकविक्रम जिसी (समीर सिंह) ले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाको निर्णयअनुसार समीर सिंहले काठमाडौं ६ बाट उम्मेदवारी दिएका हुन् । ‘काठमाडौंमा कुनै पनि राजनीतिक दलको पकड छैन,’ समीर सिंहले भने, ‘राष्ट्रियताका एजेन्डा, भ्रष्टाचारीलाई पाखा लगाउनुपर्छ, सही विचार, सिद्धान्त र जुन पार्टी अहिलेसम्म श्रमजीवी जनताका मुक्तिका लागि संघर्षरत छ, त्यस्ता पार्टीसम्बद्ध नेता पहिचान गरी मतदाताले हामीलाई चिन्नेछन् । मतदान गर्नेछन् भन्नेमा विश्वस्त छु ।’

नेपालमा राष्ट्रियता र जनतन्त्रका लागि भएका आन्दोलनमा काठमाडौंको जनताका भूमिका उल्लेख्य छ । उनीहरूको भूमिका निर्णायक रहेको जगजाहेरै छ । राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि काठमाडौंका जनताको भूमिका महत्वपूर्ण ठानिएको छ । काठमाडौंको राजनीतिले देशभरिको राजनीति प्रभावित पार्दै आएको छ । ‘त्यतिमात्रै होइन, काठमाडौंका जनता ठूला राजनीतिक दलको गलत प्रवृत्ति, व्यवहारबाट आजित छन्,’ उनको बुझाइ छ, ‘उनीहरूले विकल्प खोजिरहेका छन् । गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार रञ्जु दर्शनको पक्षमा उल्लेख्य मत आयो । त्यसलाई दृष्टिगत गर्ने हो भने काठमाडौंका मतदाता विकल्प चाहन्छन् ।’ 

निर्वाचनको मुख्य आकर्षण भनेको सम्बन्धित राजनीतिक दलको घोषणापत्र, उम्मेदवारको प्रतिबद्धता, योग्यता र अपिल नै हो । राजमोको मूल मुद्दा राष्ट्रियता हो । ‘राष्ट्रियता गम्भीर अवस्थामा छ,’ समीर सिंह भन्छन्, ‘त्यसलाई जोगाउन राजमो विचलित हुने छैन । हुनुहुँदैन । स्वाभिमान फैलाउनु हाम्रो पहिलो एजेन्डा हो ।’ 

‘मुलुकको अर्थतन्त्र धराशयी बन्दै गएको छ । यसको मूल कारण राजनीति व्यापारका रूपमा फस्टाउँदै गएको छ,’ उनले थपे, ‘भ्रष्ट व्यक्ति विभिन्न राजनीतिक दलसँग जोडिएर निर्वाचनमा भाग लिने गरेका छन् । निर्वाचनमा पैसाको खोलो बगाएर निर्वाचित भएकै छन् । त्यस्तैको बाहुल्य बढ्दै जाँदा राजनीतिमा फोहोरी खेल बढ्दै गएको हो ।’ राजनीतिमा फोहोरी खेल बढ्दै जानु भनेको सही विचार, सिद्धान्त, नीति तथा कार्यक्रम ओझेलमा पर्दै जानु हो । राजनीतिमा भित्रिएका उल्लिखित सबैखालका फोहोरी खेल निरूपण गर्नुपर्छ भन्ने मान्यतासहितको एजेन्डा लिएर उनी निर्वाचनमा जुटेका छन् । 

प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै राष्ट्रिय जनमोर्चा चुनाव प्रचार प्रसार समिति काठमाडौं क्षेत्र नम्बर ६ ले समीर सिंहलाई मतदान गरी विजयी गराए तपलिका काम कार्यान्वयन गर्ने प्रतिबद्धा व्यक्त गरेको छ ।
–भ्रष्टाचार अन्त्य गर्न ।
–ग्रामीण र पिछडिएका क्षेत्र तथा समुदायको विकास गर्न ।
–स्थानीय प्राकृतिक तथा मानवीय स्रोत साधनको विकास गर्न ।
–विकासको फलको न्यायोचित वितरण गर्न ।
–सहर तथा गाउँमा एकीकृत व्यवस्थित बस्ती विकास गर्न ।
–स्थानीय तहलाई लोकतान्त्रिक संगठित रूपमा बलियो र अधिकारसम्पन्न बनाउन ।
–स्थानीय तहका शिक्षा, स्वास्थ्यमा भएको बढ्दो निजीकरण अन्त्य गर्न ।
–ज्येष्ठ नागरिक, असहाय, महिला, बालबालिका तथा श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गराउन ।
–आत्मनिर्भर अर्थतन्त्र विकास गर्न ।
–स्थानीयस्तरमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीमा रहेका नेपाली कार्यरत देशबाटै मतदानको व्यवस्था गर्न ।
–पर्यटन व्यवसायलाई उद्योगका रूपमा विकास गरी रोजगारी सिर्जना गर्न ।
–कृषि उत्पादनलाई आधुनिकीकरण गर्न ।
–गणतन्त्र र धर्मनिरपेक्षतालाई संस्थागत तथा सुदृढ गर्न ।
–संघीयता खारेज गर्न, संविधान कार्यान्वयन गर्न ।
–प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासनप्रणाली स्थापना गर्न ।
–जातिवाद, क्षेत्रीयतावाद, साम्प्रदायिकता र विखण्डन रोक्न ।
–राष्ट्रिय स्वाधीनता र राष्ट्रियताको रक्षा गर्न ।

समीर सिंहलाई विजयी गराउन राष्ट्रिय जनमोर्चा चुनाव प्रचार प्रसार समिति काठमाडौं क्षेत्र नम्बर ६ ले प्रचार प्रसार तीव्र पारेको छ । उसले मुक्तबहादुर केसीको संयोजकत्वमा १०१ सदस्यीय प्रचार प्रसार समिति बनाएको छ भने दिवाकर सुवेदीको अध्यक्षतामा आर्थिक समिति बनाएर प्रचार प्रसारलाई तीव्र बनाएको हो ।

उम्मेदवार, पार्टीको विचार, सिद्धान्त, नीति तथा कार्यक्रमसहित घरदैलो अभियान थालिसकेको उसले राजमोको घोषणापत्र, उसले गर्न खोजेको काम प्रस्ट्याउँदै गिलास चिह्न मतदान गर्न आह्वान गर्दै आएको छ ।

प्युठानमा जन्मेर कैलालीको टीकापुरबाट एसएलसी पूरा गरेका समीर सिंहले भारतबाट उच्चशिक्षा हासिल गरेका छन् । मोहनविक्रम सिंह भूमिगत हुँदा भारतमै रहेकाले उनीसँग सम्पर्क गरी समीर भारत पुगेका थिए । भारतमा रहँदा उनले अखिल भारत नेपाली विद्यार्थी संघको दुईपटक अध्यक्षको भूमिका निर्वाह गरे । पढाइ पूरा गरेपछि वर्ष दिनसम्म पत्रकारिता गरे । उनले त्यतिबेला दिल्लीबाट प्रकाशित विश्व नेपाली साप्ताहिक सहसम्पादकको भूमिकासमेत निर्वाह गरेका थिए ।  

सन् २००१ मा नेपाल फर्केका समीर सिंह अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रीय सचिव, अखिल नेपाल बुद्धिजीवी संघ काठमाडौं जिल्ला अध्यक्ष र राजमो प्युठान काठमाडौं सम्पर्क समिति अध्यक्षको भूमिका एकैसाथ निर्वाह गर्दै आएका छन् । उनी चार वामपन्थी समूहद्वारा स्थापित माक्र्सवादी स्कुलमा दर्शनशास्त्र पढाउँछन् ।   

जीवनभरि देश र जनताका मुक्तिका लागि लडेका कम्युनिस्ट पार्टीको धरोहर मोहनविक्रम सिंहका छोरा हुन्– समीर सिंह । मोहनविक्रमको योगदानले नै मुलुकमा कम्युनिस्टको उभार आएको समीरको ठम्याइ छ । ‘निःस्वार्थ र सम्झौताहीन राजनीतिक व्यक्तित्व हुनुहुन्छ,’ बुवाको प्रशंसा गर्दै उनले भने, ‘उहाँ राजमोको नेता हो । उहाँका आदर्श, संघर्षमय जीवनबाट प्रभावित भएर राजनीतिमा लागें । उहाँको कार्यकर्ता बनें । त्यस अर्थमा उहाँसँग नातागत, भावनात्मक र राजनीतिक सम्बन्ध छ । बुवा र मबीच वर्गीय नाताले बाँधेको छ ।’ 
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप