शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एउटा युगको अन्त्य : बुफोनसहित रोस्सी र बारजाग्लीद्वारा सन्यासको घोषणा

मङ्गलबार, २८ कात्तिक २०७४, १० : २८
मङ्गलबार, २८ कात्तिक २०७४

रोम । स्वीडेनसँग पराजित भएपछि इटालीका फुटबल समर्थकहरुसँग माफी माग्दै इटालीका लिजेन्डरी गोलकिपर जियानलुइजी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

बुफोनले यसअघि नै रसिया हुने विश्वकपपछि सन्यास लिने संकेत गरेका थिए । तर, सोमबार मिलानमा भएको प्लेअफको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि समग्रमा १–० ले पराजित हुँदै इटाली विश्वकपमा छनौट हुन असफल हुनपुग्यो । सन् १९५८ यता इटाली विश्वकपमा पुग्न असफल भएको पहिलो पटक हो ।

आँखाभरी आँशुसहित ३९ वर्षीय भेट्रान खेलाडीले भने, ‘मेरा अन्तिम खेल विश्वकपमा छनौट हुन नसक्नुसँग संगोग पर्यो । यो लज्जाको विषय हो ।’
‘यसको जिम्मा हामी सबैले बराबर लिनुपर्छ । कसैलाई बलीको बोका बनाइनु हुँदैन,’ उनले भने ।

उनीसँगै युभेन्टसका समकक्षी आन्द्रेया बारजाग्ली र रोमाका मिडफिल्डर ड्यानियल डि रोस्सीले पनि इटालीको करियर अन्त्य गरेका छन् । जर्जियो चिलेनीले पनि सन्यासको घोषणा गर्ने अनुमान गरिएको छ । उनीहरुबीच देशका लागि ४६१ खेल खेलेका छन् ।

बुफोनले आफ्नो २० वर्षीय करियरमा देशका लागि १७५ वटा खेल गरेका छन् । सन् २००६ मा उनी विश्व विजेतासमेत बनेका थिए ।

‘अझै पनि इटालीको फुटबलको भविष्य छ । किनभने हामीसँग स्वाभिमान, क्षमता र खराब पलबाट माथि उठ्ने दृढता छ । हामी फेरि उठ्ने छौँ,’ उनले भने ।

इटालीका प्रशिक्षक गियामपिएरो भेन्चुराले खेलपछि राष्ट्रिय टेलिजिनसँग कुरा गर्न नमाने पछि ९० मिनेटपछि पत्रकार सम्मेलनमा बोल्दै आफूले अहिलेसम्म राजीनामा नदिएको बताए ।

उनले भने, ‘मैले राजीनामा दिएको छैन किनभने मैले अध्यक्षसँग कुरा गरेको छैन । यसबारे म फुटबल संघसँग कुरा गर्नेछु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप