शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउडमा यौनउत्पीडन : प्रियंकाकी आमा भन्छिन्, ‘उत्तेजक लुगा लगाउन नमान्दा छोरीले १० वटा चलचित्र गुमाइन्’

सोमबार, २७ कात्तिक २०७४, १७ : ५०
सोमबार, २७ कात्तिक २०७४

मुम्बई । गत अक्टोबरमा हर्भे विन्सटेन प्रकरणबाहिर आएपछि हलिउडमा यतिबेला एकपछि अर्को यौनउत्पीडन र बलात्कारका दाबीहरु बाहिर आइरहेका छन् । तर, यो विषयमा अर्को चलचित्र उद्योग बलिउड भने मौन छ । 

अहिले भने अभिनेत्री प्रियंका चोपडाकी आमा डा. मधु चोपडाले यस विषयमा चुप्पी ताडेकी छिन् । कुनै व्यक्तिको नाम नलिँदै उनले हिन्दी चलचित्र उद्योगको बारेमा केही खुलासा गरेकी हुन् ।

शुक्रबार हैदराबादमा आयोजित २० औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा डा. चोपडाले आफ्नो छोरी प्रियांकाले बलिउड करियरको शुरुवातमा भोगेका अप्ठ्याराहरु खुलासा गरिन् ।

डेक्कन कोर्निकलसँग कुरा गर्दै उनले प्रियंकाले भोगेका दुई घटनाहरु सुनाइन् । उनले प्रियंका मात्र १७ वर्षको उमेर हुँदा बलिउडमा प्रवेश गरेको र आफू जहिले पनि उनीसँगै हुने कुरा सुनाइन् ।

मधुले भनिन्, ‘उनी मात्र १७ वर्षको थिइन्, जब उनी बलिउडमा प्रवेश गरिन् । त्यही भएर म जहाँ जाँदा पनि उनीसँगै हुन्थेँ । एक दिन एक जनाले भने – मैले कथा सुनाउँदा तपाईंको मम्मी बाहिर बस्न सक्नुहुन्छ ? जवाफमा प्रियंकाले उनलाई – यदी यो कथा मेरो आमाले सुन्न सक्नुहुन्न भने म यो गर्दिन । उनले त्यो प्रोजेक्ट छाडिन्, जुन ठूलै ब्यानरको थियो ।’

मधुका अनुसार प्रियंकाले उत्तेजक कपडा लगाउन नमानेको कारण नै १० वटा चलचित्र गुमाउनु परेको पनि खुलाइन् ।

‘एक जना निर्देशकले डिजाइनरलाई प्रियंकाका लागि उत्तेजक कपडा बनाउन निर्देशन दिएका रहेछन् । उनको भनाई थियो मिस वल्र्डको सुन्दर शरीरलाई क्यामरामा देखाउन पाइएन भने उनलाई लिएको के काम ? प्रियंकाले त्यो चलचित्र गरिनन् । यस्तै कारणले उनले अन्य १० चलचित्र गुमाइन् । तर उनलाई मतलब थिएन । यो जीवनको अन्त्य होइन, जीवन योभन्दा अमूल्य छ ।’

हलिउड गएपछि भने प्रियंकाले हालसम्म कुनै समस्या नभोगेको बताइन् । ‘अहिलेसम्म उनले सम्मान नै पाएकी छिन् । त्यहाँ संघर्ष ठूलो छ तर परिणाम त्यतिकै गुलियो हुन्छ,’ उनले भनिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप