शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक महानगरसहित सात उपमहानगरमा चुनावी प्रतिस्पर्धाः कसले मार्ला बाजी ?

आइतबार, ११ असार २०७४, १४ : ५४
आइतबार, ११ असार २०७४

काठमाडौं – असार १४ मा हुने ३३४ स्थानीय तहमध्ये एक महानगरपालिका र सात उपमहानगरपालिकामा पनि चुनावमार्फत जनप्रतिनिध चयन हुँदैछन् । प्रमुख शहरसमेत मानिने र धेरै राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठासँग जोडेका यी स्थानमा प्रायः सबै राजनीतक दलहरुले चुनाव जित्ने दावी गरेका छन् ।
 तर, दलहरुले दावी गरेजस्तो त्यति सजिलै चुनाव जित्न सम्भावना भने न्युन भएको विश्लेषकहरु बताउँछन् ।  धेरैका लागि प्रतिष्ठाका विषय भएका एक महानगर र सात उपमहानगरमा कसले कसरी चुनाव लड्दैछन् त ? 

विराटनगर महानगर – प्रमुख राजनीतिक दलहरुले विराटनगर महानगरपालिकालाई  आफ्नो प्रतिष्ठासँग जोडेका छन् । नोपालको परिवर्तनमा ऐतिहासिक भुमिका र महत्व बोकेको विराटनगरमा ७ स्वतन्त्रसहित १४ जनाले मेयर र ५ स्वतन्त्रसहित १० जनाले उपमेयरमा उम्मेदवारी दिएर चुनावी प्रतिपर्धा गर्दैछन् । यहाँ कांग्रेस एक्लै चुनावी मैदानमा छ भने  एमाले र लोकतान्त्रिक फोरम तथा माओवादी र संघीय समाजवादी फोरम तालमेलमार्फत चुनाव लडदैछन् । मेयरमा एमालेका विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमबाट सूची चौधरीले उम्मेदवारी दिएर प्रतिश्पर्धा गर्दैछन् ।
 
त्यस्तै कांग्रेसले मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्कीलाई चुनावमा लडाएको छ । संघीय समाजवादीले विराटनगरको मेयरमा उमेश यादव र उपमेयरमा माओवादीकी नमिता न्यौपानेले उम्मेदवारी दिएका छन् । त्यस्तै, राप्रपाबाट प्रह्लादप्रसाद साह, मालेबाट लिलोमोहन राजवंशी, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरी, चुरेभावर राष्ट्रिय एकता पार्टीबाट घनश्याम टन्डन मेयरमा प्रतिस्पर्धा गर्दैै छन् । 

धरान उपमहानगरः  लाहुरेहरुको बस्ती रहेको भनेर चिनिने धरानमा यसपटककको चुनावी परिणाम कस्तो आउला भन्ने अड्कलबाजी गर्न राजनीतिक पण्डितहरुलाई गाह्रो छ । धरान उपमहानगरमा एमाले र कांग्रेस एक्लाएक्लै चुनाव लडदा माओवादी केन्द्रले संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ । जसका कारण पनि चुनावी परिणाम कसको पक्षमा आउछ भन्ने अनुमान लगाउन गाह्रो भएको हो । कांग्रेसले मेयरमा तिलक राई, उपमेयरमा श्यामा रेग्मीलाई प्रतिस्पर्धमा उतारेको छ भने एमालेले तारा सुब्बा मेयर र मञ्जु भण्डारी उपमेयरको उम्मेदवार बनाएको छ । यसैगरी माओवादी केन्द्रले मेयरमा अइन्दविक्रम बेघालाई र समाजवादी फोरमले उपमेयरमा पारस काङमाङलाई उम्मेदवार बनाएर चुनावी गतिविधि गरिरहेको छ ।

बुटवल उपमहानगर :  एमालेको किल्ला भनिने बुटवलको यस पटकको चुनावी परिणाम कसको पक्षामा जाला भन्ने कौतुहलता मतदाताहरुमा हुन थालेको छ । बुटवल उपमहानगरपालिकामा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि एमालेको विरासत जोगिएला या गुम्ला भन्ने प्रश्नहरु उठन थालेका छन् । बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादीका जगतबहादुर पोखरेल उम्मेदवार बनेको बुटवलमा एमाले एक्लै मैदानमा उत्रिएको छ । एमालेका तर्पmबाट मेयरमा सोमराज सुवेदी र उपमेयरमा गोमा आचार्य उम्मेदवार छन् । एमालेका नेता विष्णु पौडेलको निर्वाचन क्षेत्रमा पर्ने बुटवलमा निर्णायक मतदाता भने सुकुम्बासी रहेका छन् । 

धनगढी उपमहानगरः  धनगढी उपमहानगरमा प्रमुख तीन दल कसैसँग चनावी तालमेल नगरी नै चुनावमा प्रतिश्पर्धा गर्दैछन् । एक्लाएक्लै चुनाव लडेका प्रमुख दलले नै आफै जित्ने दावी गरिरहेका छन् । खासगरी कांग्रेसको वर्चश्व रहेको भनिएको यो उपमहानगरमा कांग्रेसबाट नृपबहादुर वड मेयर र सुशीला भट्ट मिश्रलाई उपमेयरमा लड्दैछन् । धनगढीमा एमालेले मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणि देवकोटा तथा माओवादी केन्द्रले रामसमज रानालाई मेयर र शान्ति अधिकारी क्षेत्रीलाई उपमेयरमा अघि सारेको छ । त्यस्तै, राप्रपाले मेयरमा विष्णु शाह र उपमेयरमा जनककुमारी कुँवर, लोकतान्त्रिक फोरमले प्रेम बिसीलाई मेयरमा र दुर्गा कुश्मीलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

इटहरी उपमहानगर : पुर्वको त्यसमाथि प्रदेश नम्बर १ को राजधानीका रुपमा समेत हेरिएको इटहरी उपमहानगरपालिकाको चुनावी परिणामप्रति धेरैको चासो बढेको छ । यहाँ पनि प्रमुख राजनीतिक दलहरु आ आफ्नै ढंगले चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । इटहरीको मेयरमा कांग्रेसबाट रोहित प्रसाईं, एमालेबाट द्वारिकलाल चौधरी, माओवादी केन्द्रबाट हरिमाया जिमी र राप्रपाबाट मेयरमा रामकुमार सुब्बाले उम्मेदवारी दिएका छन् । सुव्वा यो क्षेत्रका चर्चित नेतामै पर्दछन् । 

नेपालगन्ज उपमहानगरः कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले चुनाव जितेको क्षेत्र हो नेपालगञ्ज । कांग्रेसका लागि पुरानो विरासत जोगाउन र एमाले माओवादीलाई कांग्रेसको वर्चस्व तोड्नुपर्ने चुनौती छ । यहाँ कांग्रेसबाट मेयरमा डा. सुरेशकुमार कनोडिया र उपमेयरमा उमा थापा मगरले उम्मेदवार बनाएको छ भने एमालेले मेयरमा समसुद्दिन सिद्धिकी र उपमेयरमा शान्ति ढकाललाई चुनावी प्रतिश्पर्धामा ल्याएको छ । त्यस्तै  माओवादी केन्द्रले मेयरमा दामोदर आचार्य र उपमेयरमा कलामुन अन्सारीलाई अघि सारेको छ । त्यस्तै, राप्रपाले डा. धवलशमशेर राणा र उपमेयरमा रमारानी वैश्यलाई उम्मेदवार बनाएर चुनावी दौड सुरु गरेको छ । यस क्षेत्रमा राणाको समेत राम्रो पकड रहेको स्थानीय मतदाता बताउँछन् । 


तुलसीपुर उपमहानगरः कहिले कांग्रेस, कहिले माओवादी त कहिले एमालेले पकड जमाउने तुलसीपुरमा यसपटकको चुनावी नतिजा कसले पाउला भन्ने चासो सर्वत्र छ ।  यो पटक कांग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा देविका नेपाली रेग्मी, एमालेबाट मेयरमा घनश्याम पाण्डे र उपमेयरमा माया आचार्य उम्मेदवार बनेका छन् । त्यस्तै, माओवादी केन्द्रले मेयरमा शेषुराम भण्डारी र उपमेयरमा सीता ओली, राप्रपाले मेयरमा लालबहादुर केसी र उपमेयरमा लक्ष्मीसिंह राठौरलाई अघि सारेको छ ।

घोराही उपमहानगरः दाङकै घोराही उपमहानगरपालिकामा कांग्रेसले मेयरमा भूपबहादुर डाँगी र उपमेयरमा पुष्पा श्रेष्ठलाई उठाएको छ । त्यस्तै एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा सीता न्यौपाने तथा माओवादी केन्द्रबाट मेयरमा जीवन गौतम र उमपेयरमा सीता चौधरी चुनावी प्रतिस्पर्धा गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप