शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कप्तान दिपेन्द्रको अलराउण्ड प्रदर्शनले नेपालद्वारा भारत पराजित

आइतबार, २६ कात्तिक २०७४, १५ : ३८
आइतबार, २६ कात्तिक २०७४

मलेसिया । कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले टेस्ट खेल्ने राष्ट्र भारतलाई १९ रनले हराउँदै एसीसी यू–१९ एसिया कपमा ऐतिहासिक जीत हासिल गरेको छ ।

ऐरीले चार विकेट लिएपछि नेपाल प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा मात्र १ सय ६६ रनमा अलआउट हुन पुग्यो ।

ऐरीले १० ओभर बलिङ गर्दै दुई मेडनसहित ३९ खर्चेर चार विकेट लिए । उनलाई पवन शराफ र शहबाब आलमले २–२ विकेट लिएर राम्रो साथ दिए ।

सन्दीप लामिछाने र कमल सिंहले १–१ विकेट लिए ।

भारतले पहिलो विकेटका लागि ६५ रन बनाउँदै राम्रो शूरुवात गरेको थियो । तर, त्यसपछि भने लगातार विकेट गुमाउन शुरु गर्यो । ओपनर कप्तान हिमान्सु रानाले ४६ रन बनाए भने अर्का ओपनर मनोज कल्राले ३५ रन बनाए ।

त्यसबाहेक अभिषेक शर्माले २७ रनको योगदान दिए ।

यसअघि, नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । नेपालका लागि ऐरीले सर्वाधिक ८८ रन बनाएका थिए । उनले १०१ बलमा ६ चौका र २ छक्को साथ उक्त योगफल बनाएका थिए ।

ओपनर जितेन्द्र सिंह ठकुरीले ३६ रन बनाए ।

प्रतियोगिताको पहिलो खेलमा बंगलादेशसँग निकै रोमाञ्चक खेलमा २ विकेटले पराजित भएको थियो ।

जीतसँगै नेपालले अर्को चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप