बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

आइतबार, २६ कात्तिक २०७४, १३ : ४६
आइतबार, २६ कात्तिक २०७४

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले यसपाली आफ्नो चुनावी क्षेत्र परिवर्तन गरे । नयाँ ठाँउमा पनि चुनाव जित्न कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
 
‘तार से गिरा खजुर पे अट्का’ भने जस्तै संयोजक ठाकुुरलाई भएको छ । जे कारणले उनी महोत्तरी छाडेर सर्लाही आएका थिए, त्यो समस्याले उनलाई यहाँ पनि छाडेन ।
 
जन्मस्थान महोत्तरी भएपनि कर्मथलो सर्लाही भएका कारण उनी त्यहीँबाट चुनाव लड्दै आएका थिए । सविधानसभाका दुईवटै चुनावमा पराजय भोगेका अध्यक्ष ठाकुरले यो चुनावमा पनि जोखिम महसुश गरे । सुरक्षित स्थान खोजर महोत्तरी गए । तर, यहाँ पनि सोचेजस्तो सजिलो नरहेको राजपाकै नेता–कार्यकर्ताको बुझाई छ । यहाँ उनलाई काँग्रेस र आफ्नै पार्टीका नेता चुनौति बनेका छन् ।
 
सर्लाही–४ बाट सविधानसभा चुनाव उठेका संयोजक ठाकुरलाई पहिलो सविधानसभा चुनावमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका शिवपुजन राय यादव र दोस्रो सविधानसभा चुनावमा नेपाली काँग्रेसका डा.अमरेशकुमार सिंहले हराएका थिए ।
 
‘लगातार दुईपटक चुनाव हारेका संयोजक ठाकुर पुनः त्यहाँबाट चुनाव लड्ने आँट देखाएनन् । बरु समानुपातिकबाट संसद बन्ने टुगोंमा उनी पुगेका थिए । समानुपातिकको बन्दसूची एक नम्बरमा उनको नाम पनि पठाइएको थियो । तर, पार्टीभित्र अध्यक्ष मण्डलका सबै सदस्यहरु प्रत्यक्षमा चुनाव लड्नुपर्ने दवाव बढेपछि उनी समानुपातिकबाट आफ्नो नाम हटाई चुनाव लड्ने मनस्थिति बनाएका थिए ।’ राजपाका एक नेता भन्छन्, ‘त्यतिबेलासम्म कहाँबाट चुनाव लड्ने भनि टुगों लागेको थिएन । सर्लाही–४ बाट चुनाव लड्ने हो भने अमरेश सिंहले उम्मेदवारी फिर्ता लिनुपर्ने प्रस्ताव काँग्रेसमा लगेका थिए । तर, अमरेशले कुनै पनि हालतमा क्षेत्र नछाड्ने अडान लिए ।’
 
ती नेता अनुसार त्यसपछि उनले शिवपुजनलाई मनाउन तिर लागे ।
राजपा नेपालबाट माओवादी केन्द्रमा गएका शिवपुजनलाई ‘राजपामा आउनुस्, प्रदेशमा लड्नुस् या राज्यसभामा जानुस्’ भन्ने अफर अध्यक्ष ठाकुरबाट गएको दावी स्रोतको छ । तर, शिवपुजनले आफू माओवादी केन्द्रबाट चुनाव लड्ने निश्चित भइसकेकाले फिर्ता नहुने जवाफ फर्काएको स्रोतले बतायो ।  
 
जो–जो दुई व्यक्तिबाट दुईपटक चुनाव हारेका छन, ती दुई व्यक्तिसँग नै प्रतिस्पर्धामा उत्रदा अवश्य पनि त्यसको जोखिम थियो । अर्थात उनीहरुसँगै चुनाव लड्नु ‘जोखिम’ हो भन्ने निश्कर्षमा ठाकुर पनि पुगेका थिए । २०७० सालको चुनावमा सोही क्षेत्रबाट अमरेश, शिवपुजन र ठाकुर चुनाव लडेका थिए । अमरेशले चुनाव जिते, दोस्रोमा शिवपुजन रहे र तेस्रो स्थानमा थिए ठाकुर ।
 
चुनावका सवै सम्भावनाको लेखाजोखापछि ठाकुर जन्मस्थान महोत्तरी फर्के । महोत्तरीकै चारवटै चुनावी क्षेत्रमा सुरक्षित कुन भनेर आन्तरिक रुपमा बुझ्न लगाए । र सबैभन्दा सुरक्षित ठाउँ क्षेत्र नम्बर तीन रोजे । सोही क्षेत्रमा उनको जन्मघर एकरहिया पनि रहेको छ ।
 
सो क्षेत्रमा एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, मनरासिस्वा नगरपालिका र पिपरा गाउँपालिका गरि पाँचवटा स्थानीय तह छन् । पाँचवटै तह राजपा नेपालले जितेको छ । राजपालाई लाग्यो, ‘यो क्षेत्रजस्तो जितका लागि अन्य सुरक्षित स्थान छैन ।’ र ठाकुरले तीनबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिए ।
 
यति हुँदाहुँदै पनि ठाकुरका अगाडि अर्को चुनौति आइलाग्यो । यसअघि त्यहाँबाट सविधानसभा चुनाव जितेका चन्देश्वर झा उनका लागि घाँडो बनेका छन् । झालाई ठाकुरले नै राजपा भित्राएका थिए र शर्त थियो, ‘त्यस क्षेत्रमा झालाई टिकट दिने ।’ तर ठाकुरले झालाई टिकट दिएनन् । बरु आफै उम्मेदवार बने । झा बागी उम्मेदवार बने ।
 
क्षेत्रमा राम्रो पकड बनाएका झालाई उम्मेदवारी फिर्ता लिन राजपा नेपालका नेताहरुले विभिन्न आश्वसन दिए । तर, उनले मानेनन् । पहिला प्यारा रहेका झा अहिले ठाकुरका लागि दुष्मन बने ।
 
अर्कोतिर एमाले र माओवादीको गठबन्धनबाट विजय चौधरीले उम्मेदवारी दिएका छन् । काँग्रेसका बजरंग नेपालीले ठाकुरका लागि उम्मेदवारी फिर्ता लिएका छन् । तर, स्थानीय काँग्रेस नेताहरुले ठाकुरलाई स्वीकार गर्न हिच्किचाईरहेका छन् । उनीहरु भन्छन्, ‘हाम्रो उम्मेदवार जितिरहेका थिए, तर केन्द्रले जवर्जस्ती उम्मेदवारी फिर्ता लिन लगायो, जो हामीलाई ठिक लागेन ।’
 
काँग्रेसको तर्फबाट उम्मेदावरी फिर्ता लिएका वजरंग नेपाली भन्छन्, ‘केन्द्रीय नेतृत्वले उम्मेदवारी फिर्ता लिन हामीलाई निर्देशन दिएपछि फिर्ता लिएका हौं । तर यहाँका स्थानीय पार्टीका कार्यकर्ताहरु मान्न तयार छैनन् ।’ नेपाली यसलाई एक तर्फी प्रेम मान्छन् ।
 
आफूले मात्र फिर्ता लिएको तर राजपा नेपालबाट त्यसका लागि केही नगरेको उनको गुनासो छ । प्रतिनिधिसभा राजपा नेपालले लिएको छ भने प्रदेश काँग्रेसलाई दिनुपर्ने आफूहरुको माग रहेको उनले बताए । ‘यदि यसमा कुरा मिल्यो भने आफूहरुको पूर्ण समर्थन रहन्छ नत्र भन्न सकिन्न’ उनले संकेत गरे ।
 
काँग्रेसका महोत्तरी–३ को (क) मा शम्भुनारायण पाठक रहेका छन् भने राजपा नेपाकला अभिराम शर्मा उम्मेदवार छन् । (ख) मा पवन साह काँग्रेसका उम्मेदवार हुन भने राजपा नेपालका रानी शर्मा तिवारी उम्मेदवार छिन् । राजपा नेपालका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिनुपर्ने काँग्रेस कार्यकर्ताको माग छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप