शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रकोटका अध्यक्ष उम्मेदवार केसी भन्छन्—वाँकी जीवन जनताका लागि

आइतबार, ११ असार २०७४, १४ : ०४
आइतबार, ११ असार २०७४


गुल्मी - असार १४ मा हुन लागेको स्थानीय तह निर्वाचन आउन अव दुइ दिन मात्र बाँकी छ। उम्मेदवारहरु आआफ्ना चुनाव चिन्ह लिँदै जनताको घरदैलोमा पुग्दै गाँउ समृद्धि पार्ने योजनाको फेहरिस्त सुनाइरहेका भेटिन्छन्। यीनै मध्येका एक हुन् गुल्मी चन्द्रकोट गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रका युवराज केसी ।
केसीसँग अभावको पृष्ठभुमि छ,त्यसैले उनी आफ्नो गाउँका हरेक अभावबाट गुज्रिएका परिवारको लागि रोजगारी कसरी दिलाउने भनेर चिन्तित छन्। उनी उमेरमा युवा हुन् त्यसैले उनी चाहन्छन् आफ्नो गाँउमा नमुनायोग्य केही परिवर्तन गरौ। उनी १० बर्षे जनयुद्धमा सहभागी एक लडाकु हुन् त्यसैले उनी दावी गर्छन् उनीसँग जस्तो गाउँलाई समृद्धिको योजनामा लैजान सक्ने खुवी अरुमा छैन।
उनका दौंतरीहरु धेरै पैशा कमाएर परिवारलाई सुखी बनाउन केही अमेरिका छिरेका छन्। कोही क्यानाडा पुगेका छन्। त्यतिमात्र होइन, धेरै सहपाठीहरु भारतीय सेनामा जागिर गरेर पेन्सन पकाउने अवस्थामा पुगेका छन्। तर उनी आफ्नो परिवारको सुखको लागि मात्र सोचेर बसेनन्, आफूजस्तै गरिव परिवारका लागि राज्यले दिएको अधिकार प्राप्त गर्नका लागि उनी आफ्ना व्यक्तिगत सपना, परिवारका अभाव र भोलीको भविष्य केही नसोची युद्धमा होमिएका एक पात्र हुन्। 
उनी केही गर्न चाहन्छन् आफ्नो गाउँको लागि । तर त्यसको लागि एक्लैले गरेर केही हुँदैन भन्ने उनलाई थाहा छ, त्यसैले चुनावी दौडाहामा छन्। अध्यक्ष पदमा जितेर उनी आफ्नो गाँउ आफै बनाऔं भन्दै गाँउकै बिकाशमा जुट्ने बताउँछन्। उनी भन्छन्— म आफ्नो लागि होइन जनताको लागि बाँच्न चाहन्छु। 
कष्टमा बितेको बाल्यकाल, जेलदेखि जनयुद्धको सिपाहीसम्म  
उनी सानै देखि सामाजिक कार्यमा सक्रिय हुन्थे। गाउँमा रहेको सरस्वती निमाबिमा पढ्ने युवाहरु मिलेर उनकै अगुवाइमा सरस्वती युवाक्लव गठन गरेका थिए। साँस्कृतिक कार्यक्रम र बिभिन्न प्रतियोगिताहरु आयोजना गरेर समाज परिवर्तनका गीत गाउन लगाउने युवराज अन्ततः मुक्ति या मृत्युको कसम खाँदै आफै परिवर्तनको लडाईमा होमिए।
किसान परिवारमा जन्मिएका उनी सानैदेखि मेघाबी थिए।  क्लासमा सधैं प्रथम हुने उनको लागि परिवारले कुनै फिस बुझाउनु पर्दैनथ्यो। बरु उल्टै उनले सवै फिस कटाएर छात्रबृत्ति मार्फत पाएको रकम आमाको हातमा राखिदिन्थे।
०५३सालमा उनले आफैले पढेको स्कुलमा पढाउने जागिर पाए। यसले परिवारमा केही राहत दिलायो। बिहानभरी शान्तिपुरमा भर्खरै खुलेको प्लस टुमा पढ्ने र दिउँसो एक घन्टाको उकालो बाटो चढेर आफ्नै गाँउ वलिवाङमा रहेको सरस्वती निमाविमा पढाउने गर्थे उनी। 
त्यसै समयमा देशमा जनयुद्धको लहर चलेको थियो। उनी पनि सवै मानिस बराबर हुने व्यवस्था ल्याउनका लागि तत्कालिन नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीमा संगठित भएर भुमिगत रुपमा काम गर्न थाले। 
पार्टीले आयोजना गरेको हतियार कब्जाको कार्यक्रममा सहभागी भएको आरोपमा उनी ०५५ सालको एकदिन प्रशासनबाट पक्राउ परे। उनलाई सदरमुकाम तम्घासको कारागारमा जेल चलान गरियो। राजनीतिक आस्थाको आधारमा उनलाई ०५५बैशाखदेखि ०५७ बैशाखसम्म थुनामै राखियो। 
जेल मुक्त भएपछि उनी सोझै पार्टी सम्पर्कमा पुगे। घरमा स साना भाइबहिनी थिए। आमा वुवा गरिव किसानभएको कारण बर्षका ६ महिना उनको परिवार चरम भोकमरीबाट गुज्रिनुपर्दथ्यो तर पनि यो समस्या आफ्नो परिवारको मात्र नभएर सिंगो गरिखाने बर्गको समस्या हो भनेर उनी जनयुद्धमा लामबद्ध भएका थिए। 
उनी आफू मात्र जनयुद्धका मसिहा भएनन्। आफ्ना दुइ बहिनी, एक दाजु र एक भाउजुलाई पनि आन्दोलनमा शशरीर उपस्थित गराए। परिवारलाई पार्टीकृत गरे। उनका वुवा प्रेमबहादुर खत्री त्यो समयमा जनसत्ताको वडा प्रमुख भएर काम गरे जतिवेला तत्कालिन सरकारले माओवादीलाई खान, बस्न दिएको आधारमा मात्र होइन, समर्थन गरेको आधारमा पनि गोली हानेर, चरम यातना दिएर र बेपत्ता पारेर ज्यान लिने गरेको थियो। 
उनी जनयुद्धमा लागेर पार्टी कामको सिलसिलामा अनेक ठाँउ पुगेर काम गरे। जनमुक्ति सेनाको कम्पनी कमिसार भएर थुप्रै साना ठूला लडाईका मोर्चामा खटिए। गुल्मीमा मात्र होइन छिमेकका अरु जिल्लामा समेत पुगेर संगठन निर्माण गर्दै हिँडे। सहयात्री सिर्जना तरामु मगर सँग उनले जनवादी बिहे गरे। अहिले उनकी श्रीमती सिर्जना गुल्मीबाट समानुपातिक तर्फकी सांसद बनेकी छन्। 
युद्धकालमा गुल्मीका सदरमुकाम आसपासका श्वेत इलाकामा संगठनको काम गरेका केसीले पार्टी शान्तिप्रकृयामा आएपछि बिगत १० बर्षदेखि सर्वदलिय समितीको संयन्त्रमा रहेर काम गर्दै आएका छन्। उनी शान्ति समिती गुल्मीको संयोजकको रुपमा र बिभिन्न बिकाश निर्माणका योजना अनुगमन समितीमा रहेर समेत काम गरेका छन्। 
गुल्मीका अन्य राजनैतिक दलका नेता कार्यकर्ता मात्र होइन सरकारी संयन्त्रसँग समेत भिजेर काम गर्ने खुवी भएका उनै युवराज यो पटकको स्थानीय तह चुनावमा गुल्मीको चन्द्रकोट गाँउपालिकाको अध्यक्षमा माओवादी केन्द्रका तर्फवाट उम्मेदवार बनेका छन्। ३५ बर्षको युवा उमेरका उनी गाँउमा बिकाश निमार्णको मुल फुटाउन चाहन्छन्। अध्यक्षमा निर्वाचित भएमा नयाँ जोश र जाँगरका साथ काम गरेर नतिजा देखाउने र चन्द्रकोटलाई समृद्ध चन्द्रकोट बनाउने अठोटका साथ यतिवेला उनी भोट माग्दै जनताको घरदैलोमा पुगिरहेका छन्। 
प्लस टु सम्मको अध्यन पनि पुरा गर्न नपाइकन राजनीतिमा होमिएका उनले रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा समाजशास्त्रमा स्नातक र बुटवल बहुमुखी क्याम्पसबाट कानुन बिषयमा स्नातकोत्तर गर्दैछन्। साहित्यिक, वैचारिक र राजनैतिक चेत भएका उनी चन्द्रकोटको शान्तिपुरमा कृषि क्याम्पस स्थापना, स्मार्ट सीटीको बिकास गर्ने, प्राबिधिक क्याम्पस स्थापना गर्ने र गाँउमा रहेका हुग्दी खोला, बडिगाड खोला लगायतका खोलामा साना जलबिद्युतको संभावना अध्ययन गर्ने, वेरोजगार युवायुवतीका लागि रोजगारीको सिर्जना गर्ने र बैदेशिक रोजगारीबाट आएको पैशाको उचित सदुपयोगका लागि योजना बनाउने जस्ता महत्वाकाँक्षी योजनाका साथ चुनावी दौडाहामा लागेका छन्। 
चन्द्रकोट गाँउपालिकामा नेपाली काँग्रेसका दोर्ण खत्री र एमालेका मिमलाल श्रेष्ठ अध्यक्षका दावेदार हुन्। मिमलाल श्रेष्ठ त्यो क्षेत्रका पुराना व्यापारी हुनुका साथै २० बर्ष अगाडि गाबिस अध्यक्ष भएका व्यक्ति हुन् भने दोर्ण खत्री बैदेशिक रोजगारीबाट फर्किएर स्थानीय बोर्डिङ स्कुलमा लगानी गर्दै शिक्षण पेशामा आबद्ध भएका व्यक्ति हुन्। 
         


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप