बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसीसी यू–१९ एसिया कप : रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित

शनिबार, २५ कात्तिक २०७४, १५ : ५९
शनिबार, २५ कात्तिक २०७४

काठमाडौँ । एसीसी अन्डर १९ एसिया कपको अन्तरगतको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित बनेको छ । 

५० ओभरको खेल वर्षाले प्रभावित भएपछि ४० ओभरमा छोट्याइएको खेलमा बंगलादेशले १८१ रनको परिवर्तित लक्ष्य पाएको थियो ।

किनरारा ओभलमा दुई टोलीबीच निकै रामाञ्चक खेल भएको थियो । अन्तिम ओभरमा बंगलादेशलाई जितका लागि १० रन आवश्यक थियो । बलिङ गर्न आएका कमल सिंहले पहिलो बलमा २३ रन बनाएका महिदुल इसलाम अन्कोनलाई बोल्ड गरे । जसले नेपाललाई जीतको आशा दिलाएको थियो ।

तर, त्यसपछि नयिम हसन र रोबिकुल हकले एक–एक चौका हिर्काएपछि बंगलादेशसँग नेपाल पराजित हुन पुग्यो । खेलमा १ बल बाँकी छँदै बंगलादेशले ८ विकेटको क्षतिमा उक्त रन पछ्यायो ।

बंगलादेशका लागि ओपनर नइम शेखले ५२ रनको योगदान दिए भने आफिफ होसैनले ३३ रनको योगदान दिए । 

नेपालका लागि सिंह र सन्दीप लामिछानेले २–२ विकेट लिए भने अनिल शाह, दिपेन्द्र सिंह र किशोर महतोले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले वर्षाका कारण खेल प्रभावित हुनअघि ४०.१ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान दिए भने रोहित कुमारले ४० रन बनाए ।

सार्कीले मात्र ४० बलमा २ चौका र ३ छक्का हिर्काउँदै उक्त रन बनाएका थिए ।

यसबाहेक ओपनर आशिफ शेखले ३० रनको योगदान दिए ।

बंगलादेशका लागि नायिम हसनले ९ ओभरमा ३ मेडेनसहित ३३ रन  खर्चेर ३ विकेट लिए ।

त्यस्तै, हसन महमुद, काजी ओनिक र अफिफ होसैनले १–१ विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । समूहमा आयोजक मलेसिया, बंगलादेश र भारत समावेश छन् ।

समूहको अर्को खेलमा भारतले मलेसियालाई २०२ को विशाल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा रहेको छ ।

१० नोभेम्बरमा शुरु भएको प्रतियोगिता १९ नोभेम्बरसम्म जारी रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप