शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजकीय सम्मानबिनै पूर्वप्रधानमन्त्री विष्टको यसरी गरियो अन्त्येष्टि, १२ तस्बिरमा हेर्नुहोस्

शनिबार, २५ कात्तिक २०७४, १५ : ४४
शनिबार, २५ कात्तिक २०७४

काठमाडौं– पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको राजकीय सम्मान बिनै अन्त्येष्टि गरिएको छ ।  लामो समयदेखि क्यान्सर रोगबाट पीडित विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा  शनिबार विहान निधन भएको थियो । 

पूर्वप्रधानमन्त्री जस्तो  विशिष्ट व्यक्तिको निधनमा  राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने प्रचलन रहिआएको भएपनि उनको परिवारले साधारण ढंगले  अन्त्ेष्टि गरेको हो । परिवारकै चाहनामा  राजकीय सम्मान बिनै अन्त्ेष्टि  गरिएको बताइएको छ ।  उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटस्थित साझा चितामा जलाइएको थियो । 


एकानब्बे वर्षको उमेरमा आज देहावसान भएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट निष्ठावान राजनीतिज्ञ थिए। 

पिता चन्द्रनिधि र माता धनकुमारीको कोखबाट उनको जन्म १५ जनवरी १९२७ मा भएको थियो । 

उनले लखनउ विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका थिए । 

राजनीतिसम्बन्धी लेखहरू लेख्दै राजनीतिज्ञ डिल्लीरमण रेग्मीसँगको सङ्गतबाट राजनीतिमा सरिक भएका बिष्टले नेपाली राष्ट्रिय काँग्रेसबाट राजनीतिक यात्रा शुरु गरेका थिए । उनी जहानियाँ राणा शासनविरुद्धको विसं २००७ को क्रान्तिमा सक्रियतापूर्वक लागेका थिए । 

सन् १९५८ मा परामर्शदात्री सभाको सदस्य भएका  विष्ट सन् १९६१ मा सहायक मन्त्री, मन्त्री हुँदै  विसं २०२५–२०२६, २०२८–२०३० र २०३४–२०३६ सालमा तीन पटकसम्म प्रधानमन्त्री भएका थिए । 


विसं २०६१ मा माघ १९ गते ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सञ्चालन गरेपछि उनलाई विसं २०६१ फागुनमा उपाध्यक्षमा नियुक्त गरेका थिए । 

विसं २०३० मा सिंहदरबार आगलागी हुँदा नैतिकताको कारण राजीनामा दिई नेपालको इतिहासमा चर्चित भएका उपाध्यक्ष विष्टले नै चुनावमा भाग लिँदा आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेका थिए । 

विसं २००७ मा प्रजातन्त्र पुनःस्थापनापछि गठित राष्ट्रिय जनता परिषद्को उपसभापति र सभापति पनि रहेका साथै सोही पार्टीबाट उनी विसं २०१५ फागुन गते भएको काठमाडौँ–३ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए । 

उनले तत्कालिन वाग्मती पुनःरुत्थान कोष, वीरेन्द्र गद्दी आरोहण नागरिक मूल समारोह समिति, त्रिभुवन स्मारक समिति र राष्ट्रिय सम्मान समितिका अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । 

सन् १९९६ मा प्रतिनिधिसभाले महाकाली सन्धि अनुमोदन गर्दा विरोध प्रदर्शन गरेबापत उनी पक्राउ परेका थिए । उनले चीन, भारत, पाकिस्तान, रुस, उत्तर कोरिया, अष्ट्रिया, जापान, मलेसिया, जर्मनी, फ्रान्स, नेदरल्याण्डस्, संयुक्त राज्य अमेरिका, इण्डोनेसिया र ब्राजिलको भ्रमण गर्नुका साथै राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पनि गरेका थिए । 


 उनको राजनीतिक दर्शनको अध्ययन र पत्रकारितामा रुचि थियो ।


उनको  दुई छोरा र तीन छोरी छन् । दुई वर्ष अघि उनको श्रीमती र एक छोराको निधन भएको थियो । 


उनको अन्तिम बिदाईका लागि  उपप्रधानमन्त्री कमलथापासहित पञ्चायत पृष्ठभूमिका  नेता तथा शुभेच्छुक पशुपति आर्यघाट पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप