शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ढुङ्गाखानीको कमाल : रातारात गायब भयो १ सय ५३ हेक्टर वन

आइतबार, ११ असार २०७४, ११ : ५३
आइतबार, ११ असार २०७४

एसके लामा

ललितपुरको गोदावरी नगरपालिकाको टाहाखेल हुँदै जाँदा क्रसर उद्योग देख्न सकिन्छ । टाहाखेलतिर सडक छेउमै २, ४ वटाको सङ्ख्यामा देख्न सकिन्छ भने टीकाभैरव नल्लुखोलामा भने १७ वटाको हारहारीमा क्रसर उद्योगहरु सञ्चालनमा छन् । 

खोला छेउमै सञ्चालित केही उद्योगले खोलालाई अतिक्रमणसम्म गरेका छन् । क्रसरबाट निस्केका धूलो सीधै खोलामा फालिएको छ । यी क्रसर उद्योग २०७३ असार मसान्तदेखि नवीकरण भएका छैनन् । तर, काम चाहिँ गरिरहेका छन् । 

अर्थात उद्योग जेजसरी चलेका छन्, त्यो अवैध नै चलेका छन् । खुला रुपमा विनारोकतोक क्रसर उद्योग सञ्चालित छन् । मापदण्ड विपरीत र अवैध उद्योग विभागीय कर्मचारीहरुकै सहयोगमा चलेका छन् । 

ढुङ्गा खानीसमेत अवैध छन् । जिल्ला समन्वय समिति ललितपुरले यस वर्षका लागि जिल्लामा ४ वटा ढुङ्गा खानी नवीकरण भएको जानकारी दिएको छ । जसमध्येमा टीकाभैरव नल्लुखोलामा १ वटा मात्रै ढुङ्गा खानी नवीकरण भएको छ । तर, यहाँ आधा दर्जन ढुङ्गाखानी चलेका छन् । नवीकरणविनकै काम गरिरहेका छन् । 

उद्योगीहरुले वन सीमासँग जोडिएको आफ्नो जग्गाको ढुङ्गा निखारी सकेपछि माथिदेखि तलसम्म मिलोमतो गरी वनमा ढुङ्गा निकालिरहेको स्थानीय बताउँछन् ।

सबै जसो ढुङ्गा खानी सामुदायिक वनमा प्रवेश गरी ढुङ्गा उत्खनन् गर्ने गरेका छन् । एक स्थानीयले भने, ‘खानी हेर्नुस् त सबै वनमा छन् । त्यो आफ्नो जग्गा होइन, सबै सामुदायिक वन हो ।’


जिल्ला समन्वय समिति ललितपुरबाट नवीकरण भएको भनिएको निराकर रोडा ढुङ्गा उद्योगले पनि वनबाटै ढुङ्गा निकालिरहेको आरोप लागेको छ । डम्सिडोल ठूलो सामुदायिक वन मिचेर ढुङ्गा खानी सञ्चालन भएका छन् । 

वनमा प्रवेश गरी ढुङ्गा उत्खनन् र पैठारी गर्नेहरुमा क्वालिटी रोडा ढुङ्गा उद्योग, डोटेल एन्ड सन्स् प्रालिलगायतको रहेको स्थानीयको आरोप छ । 
नवीकरणबिनै उद्योग चलाउन सामन्य होइन अर्थात् यसमा राजनीतिक र प्रशासनिक सहयोग चाहिन्छ । यस्तो वातवरण यहाँका ढुङ्गा उद्योगहरुले पाएका छन् । 

यो पनि पढ्नुहोस्

क्रसर उद्योगको आतङ्क, तर ललितपुरका सीडीओलाई थाहा छैन !

वनको क्षेत्रफल घटायो

एक स्थानीयका अनुसार यस क्षेत्रमा ढुङ्गा खानी सञ्चालन भएको २० वर्ष भइसकेको रहेछ ।  तर वन प्रवेश गरी उद्योग सञ्चालन गरेको भने ३, ४ वर्ष मात्रै भएको रहेछ । 

उद्योगीहरुले वन सीमासँग जोडिएको आफ्नो जग्गाको ढुङ्गा निखारी सकेपछि माथिदेखि तलसम्म मिलोमतो गरी वनमा ढुङ्गा निकालिरहेको स्थानीय बताउँछन् ।

यस्तो काममा सामुदायिक वन समितिका पदाधिकारी र वन कर्मचारीले भूमिका खेल्छन् । १ वर्षअघि मात्रै वनको इन्भेन्ट्री (वैज्ञानिक तरिकाले वनको सीमा क्षेत्रफलसहित लगत निकाल्ने कार्य) गरेर वन घटाइएको छ । 

पहिला ५ सय ३ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वन अहिले ३ सय ५० हेक्टर क्षेत्रफलमा सीमित पारिएको छ । ‘वन घटाउनुे भनेको वनको ढुङ्गा पैठारी गर्ने उद्देश्यले नै मिलोमतो गरिएका हुन् ।’ वन कार्यलयको स्रोत भन्छ– ‘वन कर्मचारीले यसमा चलखेल गरे ।’

हप्ता बुझ्ने काम 

वनको क्षेत्रफल घटाउन भूमिका खेलेका वन समितिका अध्यक्ष र तत्कालीन सहायक वन अधिकृतले रामचन्द्र कँडेललगायतले खानीवालाबाट मासिक रकम बुझ्ने गरेको दाबी खानी सञ्चालक मध्येका एकले बताए । 

सहायक वन अधिकृत कँडेलले उद्योगीहरुले आफूलाई महिनावारी रकम बुझाएको भन्ने कुरा गलत भएको बताए । उनले आफू जहिल्यै वन क्षेत्रमा सञ्चालित ढुङ्गा खानी बन्द गर्नुपर्छ भन्दै रिपोर्टिङ गरेको र बन्द नभएकोमा अचम्मित भएको बताए । 

उनले वनको क्षेत्रफल घट्नुमा पहिला फित्ता टेपले नापेको र पछिल्लो पटक जीपीएस सिस्टमबाट नापेकाले फरक आएको सुनाए । 

खानी बन्द भएको झण्डै हप्ता दिन वितिसकेको थियो । फेरि अचानक खानी खुले । खानी सञ्चालनमा आएको १० दिन पनि भएको थिएन । डीएसपीले माथिको आदेश भन्दै फेरि खानी बन्द भयो । खानी कहिले खुल्ने र कहिले बन्द हुने कसरी हुन्छ ? स्थानीय यसमा आर्थिक खेल भएको शङ्का गरिरहेका छन् । 

जननिर्वाचित प्रतिनिधि पनि

अवैध क्रसर र ढुङ्गा खानी सञ्चालनमा जननिर्वाचित प्रतिनिधि पनि रहेको पाइयो । टीकाभैरव नल्लु खोलामा सञ्चालित मनकामना र सगरमाथा रोडा ढुङ्गा उद्योगका मालिक विष्णुमान महर्जन हुन् । 

उनी एक स्थानीय पनि हुन् भने अर्का एक स्थानीय श्याम गोविन्द श्रेष्ठसँगको लगानीमा उनले क्रसर तथा ढुङ्गा खानी सञ्चालन गर्दै आइरहेका छन् ।

उनी नेपाली काङ्ग्रेसको तर्फबाट गोदावरी नगपालिका वडा ६ मा वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि समेत हुन् ।
काङ्ग्रेस नेता उनले माथिल्लो तहमा समन्य गरेरे उद्योग सञ्चालनका लागि वातवरण बनाउने गरेको आरोप लागेको छ । अन्य उद्योगी चाहिँ महर्जनलाई सहयोग गर्छन् । 

तलतिरैको राज 

क्रसर व्यवसायीले सीधै माथिभन्दा पहिला तल्लो तहका कर्मचारी मार्फत काम गर्ने गरेको बताउँछन् ।  काम गरेबापत तल्लो तहका कर्मचारी पनि नजरना बुझ्छन् । नल्लु खोलामा अड्डा जमाएर मोटो रकम खेलाउने खेलमा सामेल हुँदै त्यी तल्लो तहका कर्मचारीहरुले राज चलाइरहेका छन् ।

बार्गेनिङ नमिल्दा ...

केही दिन अगाडिको कुरा हो, स्थानीय तहको चुनाव सकेको ६–७ दिनपछि महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपीले नल्लुखोलामा सञ्चालित ढुङ्गा खानी एकाएक बन्द गरे । क्रसर चाहिँ निर्वाध चलाउन दिए ।

खानी बन्द भएको झण्डै हप्ता दिन वितिसकेको थियो । फेरि अचानक खानी खुले । खानी सञ्चालनमा आएको १० दिन पनि भएको थिएन । डीएसपीले माथिको आदेश भन्दै फेरि खानी बन्द भयो । खानी कहिले खुल्ने र कहिले बन्द हुने कसरी हुन्छ ? स्थानीय यसमा आर्थिक खेल भएको शङ्का गरिरहेका छन् । 

प्रहरी प्रशासनभित्र किचलो

अवैध ढुङ्गाखानी तथा क्रसर उद्योगकै कारण प्रहरी प्रशासनभित्र आपसी किचलो देखिएको छ । यसको असर प्रहरी चौकी, चापागाउँ वृत्त र जवलाखेल परिषरसम्म पुगेकोको सजिलै अनुमान गर्न सकिन्छ । चापागाउँ वृत्त र जवलाखेल परिसरबीच पनि यो विषयमा मनमुटाव रहेको स्रोत बताउँछ । त्यस्तै टीकाभैरव प्रहरी चौकीमा पनि त्यस्तै समस्या छ । स्रोत भन्छ– ‘पैसाका विषयमा मनमुटाव भएको हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप