बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व क्रिकेट लिगका लागि बन्द प्रशिक्षण सुरु

बिहीबार, २३ कात्तिक २०७४, १९ : ३६
बिहीबार, २३ कात्तिक २०७४

काठमाडौँ – विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध हुने अन्तिम चरणको खेलका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि यहाँ सुरु भएको छ । 

आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले प्रारम्भिक चरणमा २८ खेलाडीलाई छनोट गरेको छ । 

बन्द प्रशिक्षमा भने अहिले २४ खेलाडी सहभागी छन् । मलेसियामा शुक्रबारदेखि शुरु हुने उन्नाइस वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिताले गर्दा २४ खेलाडी मात्र बन्द प्रशिक्षणमा राखिएको टोलीका मुख्य प्रशिक्षक टमाटाले जानकारी दिए । 

उनले प्रारम्भिक चरणमा २६ खेलाडीको नाम सार्वजनिक गरिएको र एसिया कपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने दुई खेलाडीलाई पनि बन्द प्रशिक्षणमा बोलाइने बताए ।

छनोट हुने खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, विनोद भण्डारी, सागर पुन, करण केसी, दिलिप नाथ तथा दीपेन्द्रसिंह ऐरी छन् । त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, सुशान भारी, सुशील कँडेल, नरेश बुढा एर, शक्ति गौचन, जीतेन्द्र मुखिया, मेहबुब आलम, सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, अनिल मण्डल, कुशल भुर्तेल, विक्रम सोब र सुनिल धमला छन् । 

विश्व लिग क्रिकेटमा यसअघि बाह्र खेल खेलेको नेपालले चार खेलमा जीत, एक खेलमा बराबरी तथा सात खेलमा हार बेहोरेको छ । नौ अंक जोडेको नेपाल लिगको छैटौँ स्थानमा छ । यता समान १२ खेल खेलेको युएई तीन खेलमा जीत तथा नौ खेलमा हार बेहोर्दै लिगको अन्तिम स्थानमा छ । युएइको ६ अंक छ । 

त्यस्तै नेदरल्यान्डस १८ अंकका साथ लिगको शीर्ष स्थानमा तथा पपुवा न्युगिनी १६ अंकका साथ लिगको दोस्रो, स्कटल्याण्ड तेस्रो, हङकङ चौथो तथा केन्या पाँचौँ स्थानमा छन् । विश्व लिग क्रिकेटको सातौँ चरणअन्तर्गतको दुई खेल आगामी मंसिर २० र २२ गते युएईस्थित अबुधावीको शेख जायेद रङ्गशालामा हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप