कम्युनिस्ट एकता र वैज्ञानिक समाजवाद

person access_timeकात्तिक २२, २०७४ chat_bubble_outline0

आरोह–अवरोहको शृङ्खलाहरू बीचमा नेपाली कम्युनिस्ट आन्दोलन गुज्रिँदै आएको छ । विचलन, फुट र विग्रहले सिङ्गो आन्दोलन सङ्क्रमित देखिन्छ । मूलतः सैद्धान्तिक राजनीतिक कार्यदिशामा अनि कार्यनीतिक सवालहरूमा विवादहरू हुँदै आएको छ । सामन्यतय कम्युनिस्ट पार्टी पनि विपरीतहरूको एकत्वमा नै बन्ने हुँदा यिनीहरूको बीचमा अन्तर्सङ्घर्ष चलि नै रहन्छ र चल्नु पर्छ । यसले पार्टीलाई जीवित राख्नुको साथै सही कार्यदिशा मार्फत समाज र युग सापेक्ष गुणात्मक परिणाममुखी सङ्घर्षको लाइन तय गर्छ । यसलाई दार्शनिक भाषामा दुई लाइन सङ्घर्ष भनिन्छ । नेपालमा कतिपय कम्युनिस्टहरू बीच कार्यनीति र रणनीतिमा मतान्तर रहेको छ भने कतिपय कम्युनिस्टहरू बीचमा रणनीति मिले पनि कार्यनीतिक मतभेद रहेको छ । यसबाट कम्युनिस्ट पार्टीहरू बीच सही ढङ्गले अन्तर्सङ्घर्ष वा दुई लाइन सङ्घर्ष सञ्चालन नभएको प्रष्ट हुन्छ ।
 

 स्टालिनपछि ख्रुस्चेभले संशोधनवादी कार्यदिशा लागू गरे । यसैबीच चीन–शोभियत सङ्घ कम्युनिस्ट कार्यदिशा बारे महाविवाद सृजना भयो । यता माओ पछि देङले चीनमा सुधारवादी नीति लिए । पूर्वी युरोपको समाजवादी सत्ताहरू भकाभक ढले । त्यसपछि विश्वमा समाजवादी सत्ताहरू धराशायी बन्यो । विश्वभरी नै कम्युनिस्ट आन्दोलन रक्षात्मक भयो । यही वस्तुगत धरातलमा नेपालमा पनि कम्युनिस्ट पार्टीहरू कार्यदिशाको सवालमा रुमलिन पुग्यो । कसैले क्रान्तिकारी, कसैले मध्यपन्थी अवसरवाद र कसैले दक्षिणपन्थी सुधारवादी लाइन समाते । रणनीतिक लक्ष्य एउटै हुँदाहुँदै पनि कार्यनीतिक सवालमा चरम मतभिन्नता भए । यसले नेपाल जस्तो वर्गअन्तरविरोध र उत्पीडन भएको समाजमा पनि अपेक्षितरूपमा कम्युनिस्टले नेतृत्व गर्नसकेन । यद्यपि नेपाली समाजको वर्गचरित्र कम्युनिस्ट आन्दोलनको लागि उर्वर र अनुकूल थियो ।
 

 अर्थात विभेदपूर्ण समाजमा कम्युनिस्ट आन्दोलन स्वाभाविक हुन्छ । वस्तुगत अवस्था अनुकूल हुनेगर्छ । नियमतः परिपक्व वस्तुगत परिस्थितिले नै आत्मगत स्थिति पैदा गर्छ । मालेमावादी मुलभूत प्रस्थापनामा आधारित समानता, सामाजिक न्याय र जनताको अधिनायकत्वसहितको न्यायपूर्ण राज्यव्यवस्था कम्युनिस्टहरूको आधारभूत बटमलाइन हो । यसका लागि इतिहासको विभिन्न कालखण्डमा बलिदानीपूर्ण जनसङ्घर्षहरू हुँदै आएको छ । परिवर्तन, न्याय र समानताका लागि गरिने सङ्घर्षहरू लहड, सनक र झोकमा नभएर इतिहासको निर्मम र अपरिहार्य आवश्यकतामा हुने गर्छ । यो समाज गतिशीलताको नियम अनुरूप हुनेगर्छ । १० वर्षे महान जनयुद्ध यसैको संश्लेषण थियो । तर आन्तरिक किचलो, बाह्य प्रतिकूल परिवेश, चलखेल, षड्यन्त्र र निहित स्वार्थका कारण यस्ता मुक्ति आन्दोलनहरूले राम्रोसँग बिट मार्न सकिरहेको छैन । यो असाध्यै दुर्भाग्यपूर्ण, पीडादायी र विचारणीय सवाल हो । 
   हालसालै नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुँदै एकताको पहल भइरहेको छ । यो नितान्त ऐतिहासिक र अकल्पनीय विषय बनेको छ ।

यसले पट्यारलाग्दो निरन्तरताको राजनीतिलाई क्रमभङ्ग गरेको छ । चौतर्फी तरङ्ग पैदा गरेको छ । वास्तवमा चुनावी तालमेल जोसुकैसँग गर्न सकिन्छ । किनकि यो चुनाव जित्ने रणनीतिक दाउमा केन्द्रित हुन्छ । तर एकता सिद्धान्त, विचार, राजनीति, कार्यदिशा, एजेन्डा, कार्यक्रम, उद्देश्य र रणनीतिक उद्देश्य मिल्नेसँग मात्र हुन्छ । यो एकताको सार्वभौमिक र वस्तुपरक यथार्थ हो । एकताले सकरात्मक र फुटले नकरात्मक अर्थ बोकेको हुन्छ । तर सबै एकता सही र सबै फुट गलत हुँदैन । अर्थात एकतामा बनिबनाउ समाधन देख्नु र फुटमा बर्बाद देख्नु अधिभूतवादी चिन्तन, अवैज्ञानिक र अवस्तुवादी विश्लेषण र बुझाइ हुनपुग्दछ । वास्तवमा फुट र एकतामा अन्तरनिहित सैद्धान्तिक, राजनीतिक मर्म, भावना र उद्देश्यमा यसको औचित्य अन्तरनिहीत हुन्छ । एकता किन र कसको हित वा स्वार्थमा भन्ने सवालमा यसको ऐतिहासिक दूरगामी राजनीतिक प्रभाव र महत्व लुकेको हुन्छ । यो एकता र फुटको द्वन्द्वात्मक सार्वभौमिकता हो । 


   यसकारण बाम एकताको प्रसङ्गमा आवश्यकताभन्दा बढी तरङ्गीत र निराश हुनु वस्तुसङ्गत ठम्याइ हुँदैन । यसमा औधी नै हौसिनु, मात्तिनु र आत्तिनुभन्दा यसभित्र अन्तरनिहित राजनीतिक तथा प्राविधिक आयामहरूको गम्भीर विश्लेषण गर्नु बुद्धिमानी हुन्छ । यसलाई आलोचनात्मक तथा रचनात्मक रूपमा बुझ्नु जरुरी छ । मूलतः एमाले र माओवादी केन्द्रको एकताको सैद्धान्तिक आधारहरू के–के हुन् ? प्राविधिक तथा व्यावहारिक आयामहरू के–के हुन् ? यो कसको हित र स्वार्थमा केन्द्रित छ । अन्तिम रणनीतिक लक्ष्य के हो ? एकताको दूरगामी ऐतिहासिक राजनीतिक महत्व यसैमा निर्भर देखिन्छ । त्यसैले सिद्धान्त, विचार, नीति, एजेन्डा र कार्यक्रमहरूमा घनिभूत छलफल बहसको फोरम सञ्चालन गरी स्पष्टतासहितको एकरूपता भएपछि मात्र एकता गर्नु बुद्धिमानी हुन्छ । 

  मूलतः एकताको मूलभूत आधार भनेको वैज्ञानिक समाजवाद नै हो । उन्नत चेतनासहितको वैज्ञानिक समाजवाद बाहेक अरू सबै भ्रम हुन् । माक्र्सवादी प्रस्थापनामा आधारित वैज्ञानिक समाजवाद र बुर्जुवाहरूको उपभोक्तावादी समाजवादमा सारभूतरूपमै भिन्नता रहेको छ । बोलिभेरियन समाजवादमा पनि माक्र्सवादी अन्तर्वस्तु देखिँदैन । त्यसैले यो एकता मूलतः वैज्ञानिक समाजवादी प्रस्थापनामा आधारित हुनुपर्छ । बुर्जुवाहरूले वैज्ञानिक समाजवाद बारे अपव्याख्या गरिरहेका छन् । उनीहरूले केवल शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मौलिक अधिकारहरूमा राज्यले दायित्व लिने पद्धतिलाई समाजवाद भनिरहेका छन् । यो वर्गीय स्वार्थ अनुरूप समाजवाद पदावलीको चरम अपव्याख्य र भ्रष्ट्रीकरण हो । यसमा उन्नत समाजवादी चेतना, उन्नत मनोविज्ञान, सामूहिक, राष्ट्रिय, अन्तर्राष्ट्रि हुँदै सिङ्गो मानव स्वार्थको चरित्र हुँदैन । यसमा चरम आत्मकेन्द्रित व्यक्तिवाद, निहित स्वार्थ, नातावाद, कृपावाद, चाप्लुसीवाद, चाकरीवाद, श्रद्धावाद, भनसुनवाद र छाडावाद हाबी हुन्छ । माक्र्सवादी उन्नत सांस्कृतिक चेत शून्य हुन्छ । 
 

 सबै नागरिकको मनोविज्ञान तेरोमेरो अस्वस्थ्य प्रतिष्पर्धामा आधारित हुन्छ । व्यक्तिगत धन आर्जनको डरलाग्दो होडमा भ्रष्टाचार संस्थागत हुनपुग्दछ । कथित क्षमताको नाममा योग्यतमहरू मात्र हाबी हुन्छन् । यसले विकृत, भ्रष्ट, अराजक र विभेदपूर्ण संस्कृतिलाई मलजल गर्छ । जनतामा उन्नत समाजवादी चेतना विकास नगरी राज्यले दायित्व लिने पद्धति समाजवाद नभएर जनतालाई बोइलरीकरण गर्ने परिपाटी मात्र हो । राज्यले बोइलरीकरण गर्ने अनि जनता बोइलर बन्न चाहने खञ्चुवा र स्वादे न्यून चेतनामा आधारित पद्धति र प्रवृत्ति मौलाएको समाजलाई समृद्ध नै भए पनि वैज्ञानिक समाजवाद भनिदैन । यसलाई योग्यतमहरूको उपभोक्तावादी समाजवाद भनिन्छ । यो त दानापानी खुवाएर जनतामाथि इमोसनल ब्ल्याकमेलिङ गर्दै आवधिक चुनाव जित्ने चलाखी रणनीति मात्र हो । 
 

यता माक्र्सवादी दृष्ट्रिकोणमा साम्यवादमा पुग्ने साधन नै वैज्ञानिक समाजवाद हो । माक्र्सवादले लामो र निरन्तर सङ्घर्षको प्रक्रिया मार्फत उन्नत सामूहिक चेतनाको विकासपछि मात्र समाजवाद सम्भव देख्दछ । पुरानै सोच र मनोविज्ञान हावी भएको समाजमा केवल राज्यले शिक्षा, स्वस्थ्य र रोजगारीको दायित्व लिँदैमा वैज्ञानिक समाजव हुनसक्दैन । वैज्ञानिक समाजवादको स्थापना आम जनताको औसत चिन्तन, मनोविज्ञान, सोच र स्वार्थबाट माथि उठेको उन्नत सामूहिक तथा मानवीय प्रगतिशील चेतवाट मात्र सम्भव हुन्छ । यस्तो पुरातनवादी मनोविज्ञान र चिन्तन हटाउन असाध्यै कष्टसाध्य लामो प्रक्रिया गुजार्नुपर्छ । यसका लागि सामूहिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुँदै मानवीय उन्नत चेतना विकास आधारभूत शर्त हुनजान्छ । सामूहिक स्वार्थ पहिलो खुट्किलो हो । अर्थात, स्वार्थी दया मायामा राज्यले स्रोतसाधन वितरण गर्नु नै वैज्ञानिक समाजवाद होइन । यो उन्नत चेत, सामूहिक स्वार्थ, न्यायिक वितरणमा आधारित समानता र सामाजिक न्याय ग्यारेन्टी गरिएको सामूहिक स्वार्थसहितको राज्यरूप हो । यसमा अन्तरविरोध र विभेदहरू पूर्ण उन्मूलनको प्रक्रियामा हुन्छ ।

     यस मानेमा एमाले र माओवादीबीचको एकताको मूल आधार वैज्ञानिक समाजवाद नै हुनुपर्छ । उचित तथा अग्रगामी राजनीतिक व्यवस्थापन विना यो सम्भव छैन । यस्तो रणनीतिक लक्ष्य चुम्न तत्काल स्थिर सरकार अनिवार्य हुन्छ । स्थिर सरकारले योजनाबद्धरूपमा अल्पकालिक, मध्यकालिक र दीर्घकालिक विकास–निमार्णका परियोजनाहरू सञ्चालन गर्नुपर्छ । विपेषणमा आधारित वित्तीय अर्थतन्त्रलाई उत्पादनमूलक राष्ट्रिय औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्छ । राष्ट्रिय पुँजी निर्माणका लागि उद्योग कलकारखानाको तीव्र विकास गर्नुपर्छ । दलाल पुँजीलाई निरुत्साहित गर्दै राष्ट्रिय पुँजी निमार्णमा जोड दिनुपर्छ । राष्ट्रिय र प्रगतिशील औद्योगिक चरित्रको अर्थतन्त्र अनिवार्य हुन्छ । राष्ट्रिय प्रगतिशील औद्योगिक अर्थतन्त्रको पूर्ण विकासबिना साँचो समृद्धि र असली शान्ति सम्भव हुँदैन । किनभने प्रगतिशील राष्ट्रिय अर्थतन्त्रले मात्रै समुचित उत्पादन र न्यायपूर्ण वितरणमा प्रक्रियागतरूपमा ध्यान दिन्छ । स्रोतसाधनहरूको राष्ट्रीयकरण सहज हुन्छ । मूलतः सामूहिक राष्ट्रिय अर्थतन्त्र समाजवाद निर्माणको पहिलो आधार हो । समृद्धि र शान्तिसहितको राष्ट्रिय वा प्रगतिशील पुँजीको पूर्ण आकारमा विकास नगरी समाजवादमा सङ्क्रमण सम्भव हुँदैन । यही नै वैज्ञानिक समाजवादको माक्र्सवादी अवधारणा हो । 
 

 वास्तवमा अमुक समृद्धि र दलाल पुँजीको विकासले मुलुक जति नै धनी भए पनि वैज्ञानिक समाजवाद सम्भव हुँदैन । समृद्धि र समाजवाद फरक सवाल हो । बुर्जुवा समृद्धिले वर्गअन्तरविरोधपूर्ण उपभोक्तावादी समाजको जन्म गराउँछ । अर्थात दलाल अर्थतन्त्र समृद्ध भए पनि वैज्ञानिक समाजवाद निर्माण गर्दैन । कम्युनिस्टहरूको बटमलाइन दलाल उपभोक्तावादी समाजवाद हुँदैहोइन । त्यसैले उत्पादनमूलक, प्रगतिशील र स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण र न्यायोचित वितरणसहितको समृद्धि नै एकताको आधार हो । चुनावमा बहुमत स्थिर सरकारका लागि हो । स्थिर सरकार विकास र राष्ट्रिय औद्योगिक अर्थतन्त्र निर्माणको लागि हो । विकास र राष्ट्रिय औद्योगिक अर्थतन्त्र समृद्धिको आधार हो । समृद्धि न्याय र समानताका लागि हो । न्याय र समानता स्थायी शान्तिका लागि हो । समृद्धि र शान्तिसहितको राष्ट्रिय पुँजीको व्यापक उत्पादन र न्यायोचित वितरण वैज्ञानिक समाजवादको आधारस्तम्भ हो । 

   त्यसैले सैद्धान्तिक राजनीतिक पक्ष नै एकताको मूल आधार हो । गणितीय जोड–घटाउ, सरकार गठन–विघटन र दलीय आयतन घटबढ नितान्त प्राविधिक आधार हो । बहुमत अल्पमत अनि नेता कार्यकर्ताहरूको भौतिक परिवेश निर्माण र लाभको पद प्राप्ति सहायक पक्ष हो । एकताले वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको यात्रा तय गर्नैपर्छ । नत्र यसको राजनीतिक औचित्य हुनेछैन । त्यसैले तालमेलको कार्यनीति र एकताको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद बाहेक अरू हुनसक्दैन ।

यसका लागि साँघुरो घेरा, निम्न पुँजीवादी कित्ताकाट, प्रतिशोधपूर्ण मनोवैज्ञानिक लक्ष्मणरेखा अनि गुटगत चिन्तनको विरासत त्याग्ने साहस गर्नैपर्छ । यसो भए सबै क्रान्तिकारी कम्युनिस्टहरू यसैको छातामुनि गोलबन्द हुने सम्भावना छ । अन्यथा अन्य वैकल्पिक धारले नेतृत्व गर्नेछ । यसले अर्को आन्दोलनलाई अवश्यंभावी र निर्विकल्प बनाउनेछ । त्यतिखेर टालटुले प्राविधिक एकता गलत सावित हुनेछ । सिद्धान्त, एजेन्डा, नीति र विधिमा एकता नगरिएकोमा पश्चताप गर्नुपर्नेछ, जुनबेला समयले कोल्टे फेरिसकेको हुनेछ । त्यसैले एकता वैज्ञानिक समाजवाद स्थापनाको महान रणनीतिक मिसनमा केन्द्रित हुनु अपरिहार्य देखिन्छ । 

   
 
  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ