शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाग्लुङमा बच्ला बामगठबन्धनको विरासत ?

मङ्गलबार, २१ कात्तिक २०७४, ११ : ३२
मङ्गलबार, २१ कात्तिक २०७४

तीन चरण गरेर स्थानीय तह निर्वाचन सकिएको छ । स्थानीय तहमा निर्वाचितले कार्यभार सम्हालिसकेका छन् भने मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलसम्बद्ध उम्मेदवारले प्रचार प्रसार, घरदैलो कार्यक्रम व्यापक बनाएका छन् । सम्बन्धित उम्मेदवारले आफ्नो प्रतिबद्धता सुनाएका छन् । पढाएका छन् । उनीहरूले यसरी नै भोट माग्दै छन् ।

त्यसमध्येका एक हुन्– देवेन्द्र पौडेल ‘सुनील’ । पौडेल बाग्लुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका साझा वाम उम्मेदवार हुन् । माओवादी केन्द्र स्थायी समितिको कार्यालय सदस्यसमेत रहेका उनको उम्मेदवारीलाई बाग्लुङमा चासोसाथ हेरिएको छ । बुझिएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर उनको ३७ वर्षे राजनीतिक यात्रा त्यत्तिकै महत्वपूर्ण ठानिएको छ । 

आसन्न निर्वाचनलाई झन् महत्वसाथ हेरिएको छ । निर्वाचन आफैंमा महत्वपूर्ण ठानिए पनि आसन्न निर्वाचनबाट निर्वाचितले संविधान कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेछ । तसर्थ, संविधान कार्यान्वयनको पहिलो आधार निर्वाचन हो । निर्वाचनबाट मात्रै विभिन्न वर्ग र सामाजिक समूहमार्फत प्रकट जनताका आकांक्षा सम्बोधन गर्न सकिन्छ । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईको प्रमुख राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरिसकेका, काठमाडौं उपत्यकाको सडक विस्तार, राष्ट्रिय गौरवका योजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र युवा स्वरोजगार कार्यक्रम आदिमा सक्रिय योगदान गरेका पौडेलजस्ता दिग्गज उम्मेदवार पाउनु बाग्लुङ क्षेत्र नम्बर २ का मतदाताका लागि गौरवको विषय हो । 

नेपालमा राजनीतिक अधिकारको लडाइँ सकिएको बताइन्छ । यस भनाइप्रति सहमति विमति जे रहे पनि जारी संविधान कार्यान्वयनले मुलुकको स्थिरता, समृद्धि तथा समुन्नतिका लागि ढोका खोलिन सक्छ । त्यसो हो भने देवेन्द्र पौडेल ‘सुनील’ जस्ता नेतालाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराउन सक्नुपर्छ । संवत् २०३७ देखि नेकपा मसालबाट सक्रिय राजनीति थालेका उनले संविधानले परिकल्पना गरेअनुसार, सामाजिक न्याय र समाजको लक्ष्यमा पुग्न आर्थिक समृद्धिमा केन्द्रित हुन कुनै कसर बाँकी राख्ने छैनन् । मतदाताले सम्बन्धित उम्मेदवारको प्रतिबद्धता पढेर, हेरेर, सुनेर मतदान गर्दै आएका छन् । अपवादबाहेक मतदाताले त्यसै गर्ने गर्छन् । पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्दा झन्डै तीन वर्ष जेलजीवन र दर्जनौंपटक हिरासतमा परेका उनले ‘समाजवाद र विकास खोजौं, संयुक्त वाम उम्मेदवार रोजौं’ भन्दै १८ बुँदे प्रतिबद्धता जारी गरेका छन् । 

राष्ट्रिय गौरवका योजना मध्यपहाडी लोकमार्ग, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक र कालीगण्डकी करिडोर स्तरोन्नति गर्दै भित्री बस्ती पुग्ने शाखा सडक निर्माण र सुधारलाई उनले पहिलो प्राथमिकतामा राखेका छन् । विकास निर्माणसँगै जनसाहित्यमा रुचि राख्ने उनीद्वारा जारी प्रतिबद्धतामा उल्लेख छ, ‘लघुउद्यम र स्वरोजगार कार्यक्रममार्फत सालिन्दा दुई हजारका दरले पाँच वर्षमा १० हजार रोजगारी सिर्जना गर्नेछु ।’ अस्ट्रेलिया, जापान, कोरिया, सिंगापुर, मलेसिया, चीन, इन्डोनेसिया, बंगलादेश, भारत, थाइल्यान्ड, दुबई, कतारलगायत देशका भ्रमण तथा विकास अध्ययनले उनलाई उल्लिखित प्रतिबद्धता पूरा गर्न सम्भव बनाइदिएको छ । 

पछिल्लो वामपन्थी गठबन्धन निर्माणार्थ केन्द्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पौडेलले कृषि उत्पादन वृद्धि गरी उचित बजारीकरण व्यवस्था गर्दै ढोरपाटन, घुम्टे, गाजाजस्ता पर्यटकीय स्थललाई उच्च प्राथमिकता दिँदै सम्भावित पर्यटन क्षेत्र विकास र प्रवद्र्धन गर्ने चुनावी नारा बनाएका छन् । 

नेतामात्रै शिक्षित भएर पुग्दैन मतदातासमेत शिक्षित हुनुपर्छ । नेता पौडेल पनि त्यस्तै मान्यता राख्छन् । उनले प्रतिबद्धता नम्बर पाँचमा भनेका छन्, ‘उच्चस्तरीय रोजगारमूलक, व्यावसायिक, सीपमूलक दक्ष जनशक्ति उत्पादन गर्न निर्वाचन क्षेत्रभित्र एक प्राविधिक कलेज स्थापना गरिनेछ ।’ उल्लिखित प्रतिबद्धता पूरा भए खाडी मुलुकमा भौंतारिइरहेका अदक्ष कामदारले पलासको फूलमा सुगन्ध भेटेजस्तै हुनेछ । उनले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धताको १८ नम्बर बुँदामा उल्लेख गरेका छन् । बाग्लुङमात्रै होइन, ७५ जिल्लाकै उम्मेदवारले यसो गर्न सके वैदेशिक रोजगारीमा जाने नेपालीको कल्याण हुने थियो । 

तात्कालिक नेकपा माओवादीले थालेको जनयुद्धताका बागलुङ जिल्ला इन्चार्ज हुँदै गण्डकी उपव्युरो इन्चार्ज, लुम्बिनी व्युरो इन्चार्ज, उपत्यका व्युरो इन्चार्ज, नारायणी व्युरो इन्चार्जको भूमिका निर्वाह गरिसकेका उनले आफ्नो प्रतिबद्धतामा विकास निर्माणलाई प्राथमिकतामा राखेका छन् । ‘ढोरपाटन विमानस्थल स्तरोन्नति र सञ्चालन गर्नेछु,’ उनले थपे, ‘निर्वाचन क्षेत्रभित्र उच्चस्तरीय एक अस्पताल, ६ वटै स्थानीय तहमा एक÷एक खेलमैदान र एक÷एक सुविधासम्पन्न हल निर्माण गर्नेछु ।’ निर्वाचन क्षेत्रको दुर्गम तथा अतिदुर्गम क्षेत्रको विकास र पूर्वाधार निर्माणमा विशेष प्राथमिक दिँदै स्थानीय आवश्यकतालाई दृष्टिगत गरी विशेष कार्यक्रम सञ्चालन गर्ने उनको योजनबद्ध योजना रहेको छ । 

माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता पौडेलले गर्न सक्ने र व्यावहारिक प्रतिबद्धतामात्रै व्यक्त गरेका छन् । उनले मतदातालाई इन्द्रेणी सपना बाँडेका छैनन् । उनले आफूलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरे राष्ट्रिय गौरवको ठूलो विद्युत् परियोजना उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण पहल थाल्ने वाचा गरेका छन् । त्यतिमात्रै होइन, मझौला तथा साना विद्युत् र सिञ्चाइ आयोजना निर्माण र सञ्चालनमा जागरुक काम गर्ने कसम खाएका छन् ।

‘ज्येष्ठ नागरिक, महिला, दलित, विपन्न समुदाय र अपांगता भएका व्यक्तिप्रति सम्मान व्यक्त गर्छु,’ अखिल क्रान्तिकारी केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै केन्द्रीय अध्यक्षको भूमिकासमेत निर्वाह गरेका देवेन्द्र पौडेल ‘सुनील’ द्वारा जारी १७ नम्बर प्रतिबद्धतामा उल्लेख छ, ‘तपाईंहरूलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गर्नेछु ।’ पौडेलको प्रतिबद्धतामा सबै मतदाता समेटिएका छन् । उच्चस्तरीय प्रतिष्ठान बनाई सहिद, बेपत्ता तथा घाइतेको समस्या समाधान गर्न लागिपर्ने पौडेलको भनाइ छ । 

पानीविनाको जिन्दगानी परिकल्पनामात्रै पनि गर्न सकिँदैन । नेता पौडेलले सबै नागरिकसमक्ष स्वच्छ खानेपानीको पहुँच विस्तार गर्ने आश्वासन दिएका छन् । दुर्गमलाई प्राथमिकतामा राखेर सञ्चार पहुँच विस्तार र गलकोट–बुर्तिबाङलाई भौतिक पूर्वाधार सम्पन्न स्मार्ट सिटी बनाउने उनको सपनाल चाँडै विपनामा परिणत गर्ने उनको काम हेर्न बाँकी नै छ । 

नेताले भाषण गर्न, सपना बाँड्नमात्रै जानेर पुग्दैन । उसले बोल्न, लेख्न दुवै जान्नुपर्छ । सम्बन्धित नेताले बोल्न र लेख्न जानेमा आफ्नो विचार सशक्त ढंगले राख्न सक्छन् । पौडेल बोल्न र लेख्न सक्ने थोरै नेताभित्र पर्छन् । केन्द्रीय स्कुलिङ विभाग सदस्य हुँदै नेपाली परिवर्तनकारी आन्दोलन र विचारको पक्षमा उनको झन्डै एक दर्जन किताब प्रकाशित छन् । संवत् २०२१ पुस २८ मा जन्मेका नेता पौडेल बागलुङ नगरपालिका–१२ अमलाचौरनिवासी हुन् । उनले नाफाको बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बाग्लुङमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गरी साझा वाम उम्मेदवार चुनानी मैदानमा उत्रेका छन् । ‘समृद्धि, समानता र सबल राष्ट्रको आधार, प्रदेशदेखि केन्द्रसम्मै वामपन्थीको सरकार’ भन्दै वाम गठबन्धनको घोषणापत्रसमेत जारी भइसकेको छ । 

स्थानीय तहको चुनावलाई आधार मान्दा बागलुङ दुईमा लोकतान्त्रिक गठबन्धनभन्दा बामगठबन्धनको करिब १० हजार मत बढी छ । यसै पनि बागलुङ पुरानो कम्युनिष्टहरुको बाहुल्य रहेको जिल्लाका रुपमा चिनिन्छ । यस्तो अवस्थामा बाम गठबन्धनका यी उम्मेदवारले विरासत बचाउँलान् ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप