बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ ६ का उम्मेदवार डा. शेखर कोइरालाको यस्तो छ घोषणापत्र

सोमबार, २० कात्तिक २०७४, ११ : ४५
सोमबार, २० कात्तिक २०७४

प्रमुख राजनीतिक दलले चुनावलाई केन्द्रमा राखेर केन्द्रीय स्तरमा आआफ्ना घोषणापत्र बनाएका छन् । त्यसैगरी प्रतिनिधिसभाका उम्मेदवारले पनि स्थानीय मुद्दा समेटेर व्यक्तिगत रूपमा चुनावी घोषणापत्र बनाएका छन् । प्रतिनिधिसभामा उठेका नेताका चुनावी घोषणापत्र कस्ता छन् ? पाठकहरू र मतादाताबीच बहसका लागि हामीले उनीहरूको घोषणापत्रको पूर्ण पाठ कात्तिक २० गतेबाट छाप्न थालेका छौँ । तपाईं पनि प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ र आफ्नो घोषणापत्र रातोपाटीमार्फत जनताकहाँ पुर्याउन चाहनुहुन्छ भने हाम्रो इमेल [email protected] मा पठाउनुहोला । इमेलमा प्राप्त भएको मितिका आधारमा पालैपालो प्रकाशित हुनेछ । (–सम्पादक)

डा. शेखर कोइरालाको यस्तो छ घोषणापत्र

काङ्ग्रेसको नेतृत्वमा शान्ति र संविधान ।।

काङ्ग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ।।

हाम्रो अपिल

आदरणीय अग्रज, दिदीबहिनी एवं दाजुभाइहरू,

संविधान सभामार्फत संविधान लेख्ने २००७ सालदेखिको राजनीतिक एजेन्डाले पूर्णता प्राप्त गर्दै मुलुक सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरित भएको छ । सहिदहरूको त्याग, तपस्या, कठोर सङ्घर्ष र बलिदानबाट मुलुकमा नयाँ शासन व्यवस्था स्थापित भएसँगै राष्ट्रियता, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षा गर्दै तीव्र विकास–निर्माणमार्फत मुलुकलाई समृद्धिको बाटोमा लैजाने अभिभारा हाम्रो काँधमा आएको छ । जहानिया राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था र सामन्ती राजतन्त्र हटाउने राजनीतिक आन्दोलनको नेतृत्व गर्दै आएको नेपाली काङ्ग्रेसलाई अब समृद्ध  नेपाल निर्माणको जिम्मेवारी आएको छ ।

यद्यपि आर्थिक समृद्धिको बाटोमा लाग्नुपर्ने बेलामा हामी अर्कै बाटो त जाँदै छैनौँ ? कतै फेरि जनताको स्वतन्त्रता, शान्ति र समृद्धिको अभिलाषामाथि तुषारापात त हुँदैन ? भन्ने आशङ्काको बादल देखापर्न थालेका छन् । अहिले निर्वाचनका मुखैमा देखिएको कम्युनिस्ट पार्टीहरूको अप्राकृतिक गठबन्धन शान्ति प्रकृयालाई खलबल्याउने, मुलुक, राष्ट्रियता र सार्वभौमसत्तामाथि आँच पुर्याउने, लोकतान्त्रिक आर्दश र विधिको शासन समाप्त गरी देशमा एकदलीय सर्वसत्तावादी र अधिनायकवादी शासनको बाटोतर्फ अग्रसर भएको छ । युगौँयुगदेखि निरङ्कुशताबाट आजित नेपाली जनतालाई अब कुनै पनि आवारणको अधिनायकवाद स्वीकार्य हुनै सक्दैन । सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम र न्यायप्रेमी नागरिकले चनाखो बनेर आफ्नो मतमार्फत त्यस्ता दुष्प्रयास विफल पार्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र समावेशिता नेपाली काङ्ग्रेसका वैचारिक अस्त्र हुन् । तसर्थ हाम्रो पार्टीले विभिन्न जाति, धर्म, लिङ्ग, भाषा र क्षेत्रका नागरिकहरूलाई समान अवसर र सम्मान प्रदान गर्दै राष्ट्रिय सहमतिमा जोड दिन्छ । नेपालीको राष्ट्रवादी र लोकतान्त्रिक भावनामा कतैबाट खेलवाड हुन नदिन, जनतालाई स्वावलम्बन र मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान नेपाली काङ्ग्रेस पार्टी आम मतदातासँग हातेमालो गरेर कम्युनिस्ट गठबन्धनको अधिनायकवाद लाद्ने षडयन्त्र असफल पार्न पूर्णरूपले कटिबद्ध छ । पार्टीले हामीलाई मोरङ क्षेत्र नं–६ बाट प्रतिनिधि सभा र प्रदेश सभाको उमेदवार बनाएर तपार्इंहरूको जिम्मा लगाएको छ । निर्णय गर्ने अधिकार तपाईंहरूको हो । तपाईंहरूसँग विनम्रतापूर्वक मत माग्दै गर्दा हामी यी प्रतिबद्धता पनि गर्दछौँ ।

हाम्रा प्रतिबद्धताहरू ः

राष्ट्रियः

–  संविधान संशोधनमार्फत मधेसी, जनजाति, थारु, मुस्लिम एवं पिछडा वर्गलगायतको भावनालाई पूर्ण कदर गर्दै यस संविधानलाई सर्वस्वीकार्य बनाउँन पूर्ण प्रतिबद्ध छौँ ।

–  नेपाली जनताको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नेछौँ ।

–  धार्मिक स्वतन्त्रता सुदृढ पार्नेछौँ ।

–  समावेशिता कार्यान्वयन गर्दै अवसर र सामाजिक न्याय तल्लो वर्गसम्म पुर्याउनेछौँ ।

–  शिक्षा, स्वास्थ्य लगायतका सेवा सुविधामा जनताको सहज पहुँचका लागि वकालत गर्नेछौँ ।

–  श्रमजीवीहरूका लागि मर्यादित रोजगारी सामाजिक सुरक्षाको प्रत्याभूति साङ्गठानिक अधिकार र सामूहिक सौदाबाजीको अधिकार सूनिश्चित गर्नैछौँ ।

–  स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यता हटाउन लागि पर्नेछौँ ।

–  महिलाका अधिकार  सशक्त बनाउँदै स्वरोजगारी बनाउन पहल गर्नेछौँ ।

–  आगामी ५ वर्षभित्र प्रत्येक नेपालीले सम्मानजनक जीवनयापन गर्न सक्नेगरी एकीकृत सामाजिक सुरक्षा प्याकेज लागू गर्नेछौँ ।

–  पिछडा वर्गको उत्थानका लागि राजनीतिक, सामाजिक र आर्थिक संरक्षण आयोग गठनको पहल गर्नेछौँ ।

–  पिछडा वर्गको जाति सूचीकृत र आरक्षणको ग्यारेन्टी गर्छौ ।

प्रदेश तथा स्थानीय ः

–  विराटनगर र यसको सेरोफेरोलाई प्रदेशको राजधानी बनाउनेछौँ ।

–  बुढीगङ्गा गाउँपालिकालाई एक वर्षभित्र नगरपालिका बनाउँनेछौँ ।

–  मोरङ निर्वाचन क्षेत्र—६ का विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकालाई स्वच्छ र हरियाली नगर बनाउँनेछौँ ।

–  घरजग्गा करलाई वैज्ञानिक बनाउँनेछौँ ।

–  यसै आर्थिक वर्षमा पुष्पलाल चोक – यादवटोेल – गोकुवा – सुक्चर – तिलाठी नहर – कोयलपुर– झाँगड टोल (घेरावनी) – लोचनी हुँदै गछियासम्मको सडक कालोपत्रे गराउँनेछौँ ।

–  आगामी ५ वर्षभित्र मोरङ निर्वाचन क्षेत्र—६ का सबैखाले सडकहरूलाई माटोरहित पक्की सडक बनाउँनेछौँ ।

–  मोरङ निर्वाचन क्षेत्र—६ का सबै बस्तीहरूमा स्वच्छ खानेपानीको व्यवस्था गर्नेछौँ ।

–  बुढी (केसलिया), सिंगिया र गछिया नदी नियन्त्रणका लागि स्थायी तटबन्ध बनाउँनेछौँ ।

–  तटबन्ध निर्माण गर्दा उच्चा जग्गामा भूमिहीन, दलित,एवं सुकुम्बासी परिवारहरूलाई आवासको ब्यवस्था गर्नेछौँ ।

–  परम्परागत फुसको छाना भएका घरलाई ५ वर्षभित्र जस्तापाता (टिन) को घरमा रूपान्तरण गराउँनेछौँ ।

–  १ वर्षभित्र पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्नेछौँ ।

–  कोशी अञ्चल अस्पताललाई प्रविधियुक्त, सुविधा सम्पन्न बनाउँनेछौँ ।

–  मोरङ निर्वाचन क्षेत्र नं—६ का सबै सार्वजनिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गराउन भौतिक र शैक्षिक व्यवस्थामा सुधार गर्दछौँ साथै मोरङ निर्वाचन क्षेत्र—६ का सरकारी विद्यालयबाट प्रवेशिका परीक्षा (एसईई) मा ७५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने प्रत्येक विद्यार्थीलाई शैक्षिक ल्यापटप दिने व्यवस्था मिलाउँनेछौँ ।

–  एक परिवार– एक रोजगारको व्यवस्थाका लागि प्रयत्न गर्नेछौँ ।

–  विपन्न वर्गमा एक वर्षमा न्यूनतम सय दिनसम्मको रोजगार दिलाउँनेछौँ ।

–  आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम समुदायको संस्कृति झल्कने जातीय सङ्ग्रहालय बनाउँने छौँ ।

                                                                     

                                        जय नेपाल ।

तपाईंको स्नेही,

डा. शेखर कोइराला

प्रतिनिधिसभा उम्मेदवार

मोरङ क्षेत्र नं–६ ।

चुमनारायण तबदार

प्रदेशसभा उम्मेदवार, मोरङ क्षेत्र नं–६ (१) ।

केदार कार्की

प्रदेशसभा उमेदवार, मोरङ क्षेत्र नं–६ (२) ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप