कमरेडले नबुझेको कम्युनिस्ट एकता

person access_timeकात्तिक १९, २०७४ chat_bubble_outline0


  
ने.क.पा. मालेका नेता तथा महासचिव सीपी मैनाली १७ गतेको धमलाको हमलमा ओली उपर खनिएका थिए । एक सिट पनि जित्न नसक्ने सीपीको पार्टीले पाँच सभासद् माग गर्दा ओलीले अहिले निःशर्त चुनावमा सक्रिय रहेर बाम एकताको महान् उद्देश्यलाई सफल पार्न सल्लाह दिँदा मैनाली रुष्ट भएका रहेछन् । जोईपोइ नै सभासद् बन्ने र सत्ता र भत्ता सोहोर्ने प्रवृत्तिगत ध्याउन्ना भएका यो वा त्यो पार्टीका  कम्युनिस्ट नेतामा  एकताको  सुदूर  र सुदृढ भविष्यको सोच नभएको देखिन्छ । हुन पनि कुखुरे छाती आकास जत्तिको विशाल र फराकिलो हुने कुरा पनि भएन । कुवामा कहाँ सागर अटाउनु ? आफैँ मात्र सदा राजनीतिक र राजकीय सारा अवसर र सरसुविधा पाउनुपर्छ भनेर अपहत्ते गरेपछि संविधानमा उल्लेख गरेअनुसारको देश लोकतान्त्रिक  समाजवाद उन्मुख कसरी हुन्छ ? अनि देश र जनताको भलो कहिले हुन्छ ?  तर अहिले भइरहेको चुनावी वाम अर्थात् जनतान्त्रिक तालमेल र  एकताको देशको समुत्थान र समृद्धिमा दूरगामी अर्थ छ । एकतासम्म जान उद्यत दुई कम्युनिस्ट घटकहरूले छ बुँदे प्रस्तावको भूमिकामा नेपालको अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र सामाजिक सद्भावको संरक्षण र संवर्धनलाई शीर्षस्थानमा राखेको देखिन्छ । प्रमुख दुई वाम दलले उपर्युक्त विषय र सन्दर्भमा जोड दिएको सन्दर्भले  देशको अत्यन्त सङ्गीन र सङ्कटापन्न अवस्थालाई सङ्केत गर्छ । हुन पनि संविधानअनुसार कुनै पनि दलको प्रतिनिधि सभामा एकल बहुमत कहिल्यै आउने छैन । पूर्व प्रधानमन्त्री भीमसेन थापापछि हिजोका दिनसम्म कुनै पनि सरकार पाँच वर्षसम्म टिकेको इतिहास नै छैन । यसले देशको आन्तरिक राजनीति सदा अस्थिर हुँदा विकास निर्माण हुन सकेन । यसमा केही पार्टी र नेताका गम्भीर कमजोरी छँदैछन् तर नेपालको अस्थिरता र अविकासको निमित्त नायक  भातीय शासक र सत्ता रहेको स्पष्ट भइसकेको छ । भारतले नेपालको हरेक आन्तरिक मामिलामा प्रत्यक्ष वा परोक्ष रूपमा हस्तक्षेप गरिरहेको व्यहोरा नेपाल नाकाबन्दीबाट अझ खुलस्त भयो । यस खालका वैदेशिक हस्तक्षेपलाई परास्त गर्न ओलीले भनेझैँ हामीले लड्नुपर्दैन अडिँदा मात्र हुन्छ । कम्तीमा प्रमुख वामहरू एकताबद्ध हुने वित्तिकै यस देशमा राजनीतिक स्थिरता प्राप्त हुन्छ । अहिलेको बाम तालमेलबाट कम्तीमा बहुमतको सरकार बन्छ । अझ कुनै पनि आग्रह विपरीत तमाम वाम नेता, कार्यकर्ता र बुद्धिजीवीहरू  एक ढिक्का भएर चुनावी अभियानमा होमिने हो भने दुई तिहाइ नै जीत हासिल हुन्छ । यसले नेपालको राजनीतिक क्षेत्रको अस्थिर बनाउने खालका कतिपय प्रावधानलाई सच्याएर मुलुकलाई स्थिरतातिर लैजान सकिन्छ । यसो हुँदा मात्र  देशले राजनीतिक, आर्थिक भौतिक तथा सांस्कृतिक  अग्रगमनको बाटो लिन्छ । हालसम्म पनि आम जनताले आफ्नो जीवनमा लोकतन्त्र, गणतन्त्रको  अनुभूति गर्न नसकेको अवस्था आगामी दिनमा हट्दै जानेछ ।  

नेपालको राजनीतिक चरम अस्थिरता, अन्यौल र अराजकताबाट आफ्नो स्वार्थ पूर्ति गर्न  सुविचारित रूपमा लागिरहेको भारतीय सत्ता र सरकारका अनेक गतिविधिहरूबारे विज्ञजन जानकार नै रहेको छ । भारतीय वरिष्ठ पत्रकार आनन्द स्वरूप वर्माको २०७४ असोज २३ गते कान्तिपुर दैनिक पत्रिकामा भारत अर्थात् भारतीय सत्ता वा सरकार चाहिँ नेपाल स्थिर, समृद्ध र विकसित भएको देख्नै चाहँदैन भन्ने सारको एक लेख नै प्रकाशित भएको थियो । नेपालको आन्तरिक राजनीतिमा घुसपैठ गरेर  दरबारदेखि घरबानसम्मलाई पनि अनेक षडयन्त्र गरेर फुटाउ र शासन गरको ब्रिटिस औपनिवेशी नीतिका प्यादा हाम्रा केही नेताहरू भए ।  हालसम्म पनि यसरी नै नेपालमा सबै खालका असन्तुष्टि र आकाङ्क्षालाई भड्काएर चरम विभाजन, विखण्डन र अस्तव्यस्त पारेर नेपाललाई कमजोर पार्ने खेल भारतीय शासकले उहिल्यैदेखि गरिआएको स्पष्ट हुन्छ ।  ढिलै भए पनि वाम तालमेल तिनका बीच हुने  सम्भावित भावी एकताले नेपालको राजनीतिक  क्षेत्रको अस्थिरता हटाउनेछ । यसले  देशको विकास र समृद्धि हासिल गर्ने महान् उद्देश्य राखेको  कतिपय कम्युनिस्ट नेताहरूले नै नबुझेको र कम बुझेको दृश्य देखिन थालेको छ ।

बरु यो कुरा उत्तरको चीनले राम्ररी बुझेको छ । चीन नेपालको राजनीतिस्थिर र कम्तीमा पाँच वर्ष टिक्ने स्थायी सरकार नभएकोमा बारबार गुनासो गरेको सुनिन्छ । नौ नौ महिनामा फेरिँदा आर्थिक भौतिक सहयोग गर्न, दिन र यससम्बन्धी सम्झौता गर्न र गरेका सम्झौता सरकार फेरिने बित्तिकै अन्यौल परेको भन्ने चीनको भनाइ छ ।  त्यस कारणले पनि यो  वाम तालमेल र एकताको भारी महत्व देखिन्छ तर यतिको दूरगामी दीर्घ कालीन एकता  नेपालको समृद्धिको पूर्वाधार हो । तर यसलाई नै धमिलो बनाउने नियतले एमाले र माओवादीका आवरणमा अनेक खेलहरू नहोलान् भन्न सकिन्न । केहीले त दोहोर्याई तेहर्याई सभासद्को टिकट नपाएको र आफूले माग र दाबी गरे अनुसार पार्टीले टिकट नदिएको निहुँमा  सडक सडकमा नै रोइलो गर्न थालेको देखिन्छ र यिनको यो घोडे जात्रा यस लेखकले इँटहरीमा बसेर  हेरिरहनुपरेको छ । तालमेल हुँदै यस एकताले  शिखरको  चुचुरो चुम्ने अवस्था नदेख्नु एउटा वैचारिक नेता र कार्यकर्ताका लागि सरमको कुरा हो ।  जिल्ला पार्टीको  अध्यक्ष तथा सभासद् भइसकेको अगुवा नेताले तालमेल र एकता भाँड्ने खालको काम किमार्थ गर्न सुहाउँदैन यस खालको प्रवृत्तिलाई जसकसले पनि सम्झाइहाल्नुपर्छ । रिसको आवेगमा बुद्धिको भाँडोमा बिर्को लागेको पनि  हुनसक्छ । 

तर  वाम पार्टीहरू तिनका नेता र कार्यकर्तामा सैद्धान्तिक वैचारिक स्तर  खस्केको देखिन्छ । एमाले नेता र कार्यकर्ताको नाडी यस लेखकले छामेकै थियो तर माओवादी केन्द्रका आफूले भेटेसम्मका नेता र कार्यकर्तासितको कुराकानीबाट यिनीहरूमा पनि सैद्धान्तिक स्तरीकरणको खाँचो देखियो । कामले काम सिकाउँछ, मन र ध्यान जान सक्यो भने वैचारिक स्तर बुद्धि गर्न कुनै भारी बात छैन ।

कम्युनिस्टहरूले लोकतान्त्रिक समाजवादी शासन व्यवस्थामा पुँजीवादी तथा आफूलाई लोकतान्त्रिक भन्ने पार्टीले शासन गर्दा जस्तो आधार भूत आम जनताका आधारभूत दैनिक जीवनको गुजारा गर्न कुनै  पनि वस्तु सरल, सहुलियत र सुलभ गराउँदैन । यसले राष्ट्रिय पुँजी र पुँजीपतिको  उत्थान, विकास र समृद्धिमा कुनै ध्यान दिँदैन । बरु नेका नेता गिरिजा कोइरालाको सरकारले मित्र राष्ट्रहरूले उपहार स्वरूप दिएका हेटौँडा कपडा कधारखाना, बाँसबारी छालाजुत्ता कारखाना लगायत दर्जनौँ रोजगार प्रवर्धन गर्ने उद्योगहरू निजीकरणका नाममा माटोका बेच्यो । त्यसैले कम्युनिस्टहरूको वा समाजवादीहरूको शासनमा जनताका आधारभूत दैनन्दिनका आवश्यकताका साधनहरू सुलभ र सरल रूपमा उपलब्ध गराउने राज्यको ग्यारेन्टी हुन्छ । उदारीकरण, नवउदारवाद जस्ता नीतिका माध्यमबाट जसले जति सक्छौ लुट भन्ने खुल्ला बजार अर्थतन्त्रले तमाम श्रमिक जनताको भलो हुँदैन ।  कम्युनिस्टहरूले अपनाउने लोकतान्त्रिक समाजवादी व्यवस्थाले आम श्रमजीवी जनताका न्यूनतम गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षाको सुलभ र सरल रूपमा उपलब्ध गराउने हो । अहिले वाम तालमेलको संयुक्त चुनावी घोषण पत्रमा आगामी पाँच वर्षमा गरिने जन राहत, सेवा र विकास निर्माणका योजना र कार्यक्रमहरू प्रस्तुत गरिएको देखिन्छ । त्यसैले यस बेला तमाम वाम नेता, कार्यकर्ता तथा विभिन्न तह र तप्काहरूले व्यक्तिगत असन्तुष्टिहरूलाई थाँती राखेर तालमेलको भावनालाई अक्षरशः लागू गर्नुपर्छ र देशको समृद्धिको यात्रामा आफूलाई समाहित गर्नुपर्छ । यही अहिलेको मौकाको काम र बेलाको बोली हो । यो तालमेल र एकता भनेको सुझबुझको काम हो ।

तर  वाम पार्टीहरू तिनका नेता र कार्यकर्तामा सैद्धान्तिक वैचारिक स्तर  खस्केको देखिन्छ । एमाले नेता र कार्यकर्ताको नाडी यस लेखकले छामेकै थियो तर माओवादी केन्द्रका आफूले भेटेसम्मका नेता र कार्यकर्तासितको कुराकानीबाट यिनीहरूमा पनि सैद्धान्तिक स्तरीकरणको खाँचो देखियो । कामले काम सिकाउँछ, मन र ध्यान जान सक्यो भने वैचारिक स्तर बुद्धि गर्न कुनै भारी बात छैन । तर दुवै पार्टीमा उन्नत स्तरको सैद्धान्तिक वैचारिक नेताहरू छन् । माओवादी केन्द्रमा  नारायण काजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी आदि सैद्धान्तिक वैचारिक नेता लाग्छन् । अहिलेको तालमेल र आगामी निकट दिनमा हुने पार्टी एकीकरणमा दुवै पार्टीका प्रमुख र शीर्षस्थ नेताहरूले महत्वपूर्ण भूमिका सुरु गरेका छन् र यसलाई तमाम वाम नेता र कार्यकर्ताहरूले साथ, सहयोग र यसमा कटिबद्ध भएर लाग्नु नेपालको राजनीति, सरकार र विकास निर्माण तथा समृद्धिलाई स्थायित्व दिनु सुनौलो मौका र अवसरलाई भरपुर सदुपयोग गर्नुपर्छ ।

तर यस तालमेल र एकतालाई भाँड्न नेपाललाई लुटखसौट गर्ने भारतीय सत्ताधारी र वर्तमान सरकार तथा पश्चिमा शक्तिहरू हर हिसाबले लागिपर्ने छन् । वाम गठबन्धका तमाम शक्तिहरू यस कुरामा अत्यन्त सतर्क र सचेत हुनुपर्छ तथा अहिलेदेखि नै प्रमख वाम पार्टीका उच्च तहका नेताहरूबाट आफूलाई नै जनवादी, लोकतान्त्रिक संस्कार, आचार, व्यवहार र संस्कृतिलाई अवलम्बन गर्ने काममा ढिला गर्नु हुँदैन । एक एमाले वरिष्ठ नेताले केही दिनअघि टिभी अन्तर्वार्तामा नितान्त निजी प्रशंसा गरिरहेको देख्दा सरम लागेर आयो । ओली कमरेडले भनेझैँ पार्टीका नेताहरू जिम्मेवारीका हिसाबले मात्र ठूला हुन् । त्यसैले प्राप्त पदीय जिम्मेवारी र दायित्व अनुसार तल्लो तहका तमाम नेता, कार्यकर्ता र आम जनतालाई पनि प्रभावित पार्ने खालको चरित्र, चिन्तन र व्यवहार नेताहरूले देखाऊन् नत्र पार्टीभित्रैका लेखकहरू विचार र व्यवहारका विचलनका विरुद्ध खुल्ला रूपमा आउन नपरोस् । यतिबेला एमाले र माओवादी आदि भनेर होइन, संयुक्त बामको मुद्दा लिएर आगामी निर्वाचनमा सबै वाम उम्मेदवारहरूलाई जिताएर दुई तिहाई जित हासिल गर्नेगरी कम्मर कसेर लाग्नुपर्ने अवस्था देखिन्छ ।   
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ