कार्यकर्ता व्यवस्थापनका चुनौतीहरू

person access_timeकात्तिक १९, २०७४ chat_bubble_outline0

सङ्घीय तथा प्रदेशसभा निर्वाचनका क्रममा देशभरी दोस्रो चरणमा नेपालका राजनीतिक दलहरूले पार्टीका तर्पmबाट उम्मेदवारहरूको मनोनयन गर्ने कार्य सम्पन्न गरेका छन् । उम्मेदावारहरूको मनोनयनसँगै वाम तथा लोकतान्त्रिक गठबन्धनमा बागी उम्मेदवारहरू चर्चामा रहेका छन । किन हुन्छन् कार्यकर्ताहरू नै बागी वा विद्रोही ? यो प्रश्नको जवाफ खोज्ने प्रयास र प्रयत्नहरूलाई अघि नबढाउने हो भने यसले दलीय अनुशासनको दायरा खतरामा पर्ने र अधिकारका नाममा अराजकताले प्रश्रय पाउने निश्चित छ । 

लोकतान्त्रिक गठबन्धनभित्रको कुरा भने बेग्लै हुन सक्छ, किनकि नेपाली काङ्ग्रेसलगायतका लोकतान्त्रिक गठबन्धनमा समावेश रहेका राजनीतिक दलहरूको दलीय अनुशासन त्यति कठोर हँुदैन र उनीहरू बागी विद्रोही कार्यकर्ताहरूलाई सहजै रूपमा मनाउन सक्ने र कार्यकर्ताहरूको बार्गेनिङका रूपमा त्यसलाई बुझ्ने ग्रहण गर्ने प्रणाली नै स्थापित गरेका छन तर लेनीनवादी सङ्गठनात्मक सिद्धान्तको अवलम्बन गर्ने नेपालमा कम्युनिस्ट पार्टीहरू भित्र बागी विद्रोही बन्ने कुरा त्यति सहज र सरल मानिदैन । पार्टीले तत्कालै कारवाहीको विषय बनाउने र एउटा वर्षौंसम्म राजनीतिक आन्दोलन अभियानमा संलग्न भएको व्यक्तिको राजनीतिक भूमिका क्षणभरमै समाप्त हुने गरेका विभिन्न उदाहरणहरू विद्यमान रहेका छन् ।

कठोर अनुशासनमा बाँधिएका कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू आफ्नो राजनीतिक जीवन दाउमा राखेर किन गर्छन् विद्रोह ? यसको खोजी र अनुसन्धान आवश्यक छ । किनभने निकट भविष्यमै यदि जनताले चाहेजस्तै, देशले खोजेजस्तै र पार्टीहरूका शीर्षस्थ नेता कार्यकर्ताबीचको सहमति कार्यान्वयन हुने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुने अवस्थामा झन् बढी अनुशासन आवश्यक छ तर अनुशासनका नाममा कार्यकर्ताहरूको उचित व्यवस्थापन वा मूल्याङ्कन गर्ने परिपाटी, प्रणाली र प्रक्रिया स्थापित नगर्ने हो भने निश्चित छ कि बागी विद्रोही कार्यकर्ताहरूको सङ्ख्या बढ्दै जाने र यसबाट पार्टी अनुशासन अवलम्बनको पाटो खुकुलो हुँदै अराजकता सृजना हुने मात्रै होइन, प्रतिष्पर्धी पार्टीहरूका लागि यो हाँसो र मजाकका रूपमा कम्युनिस्ट पार्टीहरूको अनुशासनलाई लिइनेछ ।

कम्युनिस्ट पार्टीहरूको अनुशासनको कुरालाई सहज रूपमा लिनु हुँदैन । खुल्ला अवस्थामा रहेका पार्टीहरूभित्रको आम अनुशासन जस्तै कम्युनिस्ट पार्टीहरूभित्रको अनुशासनलाई लिँदै जाने अवस्थालाई कायम राखी राख्ने कि यसलाई साच्चै व्यवस्थित, मर्यादित र प्रणालीबद्ध बनाउने भन्ने कुरामा आजैदेखि हाम्रा प्रयास र प्रयत्नहरूलाई अघि बढाउनु जरुरी छ । भविष्यमा केन्द्र वा प्रदेशमा जनताले बहुमत नै दिएको अवस्थामा पनि पार्टी अनुशासन पद्धति र प्रणालीको अवलम्बन गरिएन भने त्यसले कुनै पनि बेला पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले दल बदल गरी सरकार परिवर्तनका खेलहरूमा समावेश हुने खतरा विद्यमान नै रहनेछ । 

पार्टीभित्रको अनुशासनलाई मर्यादित र व्यवस्थित बनाउनका लागि एकीकृत कम्युनिस्ट पार्टीले निश्चित कामहरू, निश्चित प्रणालीहरूको व्यवस्थापन गर्नु जरुरी छ ।

यसका लागि निम्न कामहरूका लागि आवश्यक तयारी आवश्यक छ :

 कार्यकर्ताहरूको गुनासो सुन्ने वातावरणको निर्माण 
कम्युनिस्ट पार्टीहरू कार्यकर्तामा आधारित हुने भएकाले ती कार्यकर्ताहरूको कुरालाई सुन्ने, विश्लेषण गर्ने वातारण निर्माण गर्ने र उसको योग्यता र क्षमताको आधारमा निश्चित जिम्मेवारी तथा भूमिका प्रदान गर्दै त्यसको नियमित अनुगमनको प्रणाली स्थापित गर्नु आवश्यक छ । अधिकांश कार्यकर्ताहरूको गुनासो आफ्नो नेताले कुरा सुन्दैनन् । कुरा उठायो भने खराब छ भन्ने मानसिकता बनाउँछन र अर्कोपटकदेखि कुरा उठाउने कार्यकर्तालाई ठेगान लगाउने योजना बनाउँछन् भन्ने आम गुनासोका पछाडि सत्यता छ कि छैन भन्ने कुरानेताहरूको व्यावहारले निर्धारण गर्ने कुरा हुन् ।

कुनै पनि कार्यकर्ताहरूले विधि, पद्धति र प्रणाली बमोजिम उठाएका गुनासाहरूको बारेमा पर्याप्त छलफल विश्लेषणको अवसर सृजना गर्ने र जहाँनेर त्यस्ता गुनासाहरूको उठान हुन्छ, त्यही कमिटीमा त्यसको तत्काल निदान खोज्नु आवश्यक छ । गुनासाहरू उठ्ने, त्यसको चाङ बढ्दै जाने र उठेका विषयवस्तुमाथि छलफल विश्लेषण नहुने र हरेक पटक समय अभाव वा अन्य कुनै कारणले सम्बोधन गर्न नसकिने तरिकालाई परिवर्तन गर्नु आवश्यक छ । यसका लागि निश्चित समय निर्धारण गर्ने र कमिटीहरूमा उठेका गुनासाहरूको समाधान गर्ने पद्धति प्रणालीलाई स्थापित गर्ने, खुल्ला रूपमा निर्भयका साथ कुरा राख्न सक्ने वातावरण निर्माण गर्दै आएका गुनासाहरूको सम्बोधन गर्दै जानु आवश्यक छ । 

वर्गीय आन्दोलनको उठान तथा सम्बोधन :
कम्युनिस्ट पार्टीहरू खुल्ला प्रतिष्पर्धामा आएपछि काम हुन नसकेको महत्वपूर्ण र गर्नेपर्ने काम भनेको वर्गीय आन्दोलनहरूको उठान र त्यसको सम्बोधनको सवाल  नै हो । कम्युनिस्ट पार्टीहरूको सदस्यता वितरण प्रणालीमा आएको खुकुलोपनसँगै वर्गीय आन्दोलनको उठान र सम्बोधनको सवाल धरापमा परेको छ । आम साना किसानहरू, श्रमिकहरूलाई प्राथमिकतामा राख्नुभन्दा अलि हुनेखाने  वर्गका मानिसहरूको आकर्षणको केन्द्र बन्दै गइरहेका छन् कम्युनिस्ट पार्टीहरू ।

सदस्यता प्राप्त गर्ने विधि र तरिकाहरू राम्रो र पुरानै  भए पनि भनसुन र उठबसका कारण आफ्ना सहयोगीहरूलाई सहजै सदस्यता प्रदान गर्ने, पछिल्लो मितिमा साधारण सदस्यता पत्र काटेर तत्कालै सङ्गठित सदस्यता प्रदान गर्ने जस्ता विकृतिहरू बढेका छन् । परिणाम हामी सबैका सामु छ, सङ्गठित सदस्यहरूले पार्टी पद्धति, प्रकृया तथा विधान, नीति नियममा खासै चासो छैन, चासो छ अवसरहरूको, चासो छ नाफाको, चार वर्ष पार्टीमा काम गर्दा उसले सबै गुमाएको महसुस गर्छ तर फाइदा केही देख्दैन, अनि श्रमिक तथा साना किसानसँगको सम्बन्ध विस्तार गर्न लाज मान्छ, आफ्नो फाइदाबाहेक अरू केही देख्दैन, अनि कसरी सामेल हुन्छ, कसरी बुझ्छ उसले वर्गीय मुक्ति ?

तसर्थ, कम्युनिस्ट पार्टीहरूले आफनो मूल काम वर्गीय पक्षधरता, वर्गीय सङ्गठन, वर्गीय आन्दोलनहरूको उठान तथा ती वर्गको जीवन सहज बनाउनका लागि त्यसको सम्बोधन गर्ने कामलाई बढी प्राथमिकतामा साथ अघि बढाउनु जरुरी छ । दिनभरि काम गरेर साँझ के खाउँ भन्ने वर्गको पक्षमा दृढतापूर्वक उभिने, अन्याय, शोषण र उत्पीडिनहरूवाट मुक्त गर्नका लागि विभिन्न तरिका प्रणालीहरूको अवलम्बन गरी वर्गीय आन्दोलनहरूको उठान र त्यसको सम्बोधन आवश्यक छ । एउटा प्रेस विज्ञप्ती निकाल्ने र सञ्चार माध्यमहरूबाट प्रचार प्रसार गराउने कामले वर्गीय मुक्ति सम्भव छैन । यसका लागि चरणबद्ध योजना निर्माण गरी कार्यान्वयन आवश्यक छ ।

राज्यका विभिन्न निकायमा सहभागिताको समय निर्धारण 
कम्युनिस्ट पार्टीहरूले निरन्तर रूपमा एउटा नेता कति पटक निर्वाचन लड्न पाउँछ ? कति पटक सांसद हुन पाउँछ ? कति पटक मन्त्री हुन पाउँछ ? कति पटक अध्यक्ष वा मेयर हुन पाउँछ ? कतिपटक राजदूत वा अन्य सरकारी नियुक्तिमा जान पाउँछ ? जस्ता विषयहरूमा खुल्ला छलफल र विश्लेषण आवश्यक छ । अहिलेको खुल्ला राजनीतिक प्रणालीमा एउटा असल कम्युनिस्ट पार्टीको सदस्यलाई निर्वाचनमा जान सक्ने आर्थिक हैसियत नै छैन । हाम्रो निर्वाचन प्रणाली यति खर्चिलो र भड्किलो भयो कि एउटा प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्नका लागि उसको घरखेत, सम्पत्ति सबै बेचेर नपुग्ने अवस्था विद्यमान छ । 

प्रारम्भमा कार्यकर्ताहरूको लेबी र जनताबाट एक एक रुपियाँ चन्दा लिएर पार्टी कोष बनाउने र त्यसबाट नै निर्वाचन खर्चको जोहो गर्ने अभ्यास थियो, आजको अवस्था त्यस्तो रहेन । अहिले पार्टी कोष बनाउनेभन्दा कोष भएका व्यक्तिहरूलाई अवसर दिन थालिएको छ । समानुपातिक सभासद् हुन ५० करोड, १० करोड बुझाउने हैसियत भएकाहरूले अवसर पाएका खबरहरू सार्वजनिक भएका छन् भने सर्वहारा श्रमिक तथा साना किसानका प्रतिनिधिहरू कसरी सभासद हुन सक्लान् ? गम्भीर प्रश्न खडा भएको छ । एउटा व्यापारीले जिल्लाको सबै निर्वाचन खर्च मैले व्यहोर्छु भन्ने वित्तिकै उसको टिकट निश्चित हुने विद्यमान परिपाटीले हाम्रा मूल्य मान्यता तथा व्यवहारबीचको तालमेल कहानेर हुन्छ ? 

तसर्थ एउटा नेता प्रतिनिधिसभामा कति पटक, एक, दुई तीन, चार ? कति तोक्नु आवश्यक छ । प्रदेशसभा, गाउँपालिका अध्यक्ष, मेयर, राष्ट्रिय सभा सदस्य सबै ठाउँमा निश्चित अवधि तोकिनु आवश्यक छ । एक व्यक्ति बाचुन्जेलसम्म निर्वाचनमा गइरहने अवस्थामा परिवर्तन आवश्यक छ । संसदीय फाँटमा मात्रै होइन, पार्टी सङ्गठनहरूमा पनि निश्चित समयसम्म गाउँ, प्रदेश, जिल्ला, अञ्चल र केन्द्रको मूल नेतृत्वमा बस्न पाउने ? यसको निक्र्यौल आवश्यक छ । जित्नेलाई टिकट दिने नाउँमा अर्को पार्टी छोडेर आएका व्यक्तिलाई तत्काल पद दिने अवस्थामा रोक आवश्यक छ । पार्टी प्रवेश गरेको निश्चित समयपछि मात्रै प्रतिष्पर्धा गर्न पाउने प्रणाली र प्रकृयाको अवलम्बन आवश्यक छ । 

निश्चित व्यवहारहरूमाथिको बन्देज :
प्रारम्भमा कम्युनिस्ट कार्यकर्ताहरूको सङ्ख्या सीमित थियो, त्यतिबेला सबैले सबैको पारिवारिक तथा आर्थिक अवस्थाको बारेमा थाहा थियो र एकले अर्कोलाई सघाउने, मद्दत गर्ने एउटा पारिवारिक वातावरण कायम थियो । यतिबेला भन्न त सकिएका कि सङ्ख्या धेरै भयो तर सम्बन्धित स्थानीय ठाउँमा सङ्ख्या जति भए पनि  हाम्रो चहाना र योजना हुने हो भने एकअर्काप्रतिको आदरसम्मान, मेलमिलाप र पारिवारिक वातावरण निर्माण गर्नका लागि कुनै खालको कठिनाइ हँुदैन । एउटा गैरसरकारी संस्थाले पाँचदिन गाउँमा गरिएको लिसनिङ सर्भेबाट उस्को घरजग्गा, परिवारका सदइहरू, कामहरू, कुखुरा, बाख्रा आलु पिँडालु र केरा कति भन्ने पत्ता लगाएर काम गर्छ भने हामी त निरन्तर लामो समयसम्म त्यही समुदायमा काम गरिरहेका छौँ तर हाम्रो चासो अर्को कमरेडको घर कसरी चलिराछ ? उसको घरमा खाना छ कि छैन, छोराछोरी वा श्रीमती बिरामी छ कि आरामै ? जस्ता सामान्य कुराहरूप्रतिको चासो समेत अन्त्य हँुदै गएको छ । अनि कसरी चल्छ हो हाम्रो पार्टी ? एकले अर्कोलाई सहयोग गर्नेभन्दा पनि कसरी ठग्ने र त्यसलाई किनारामा पुर्याउने रणनीति निर्माण गर्ने हाम्रा व्यवहारहरूमा परिवर्तन आवश्यक छ ।

सिनेमा हेरेको, चुरोट खैनी खाएको देख्दा पनि कमिटीहरूमा घण्टौँसम्म आलोचना र आत्मआलोचना चल्ने हाम्रो पद्धति प्रणाली कता हरायो ? अहिले त साँझ कति बोतल खाँदा पनि ढलेन भन्ने पो हुन थाल्यो । यसको अर्थ हाम्रो सिद्धान्त र व्यावहारका बीचमा तालमेल कता हरायो ? महिलाहरू लमो समयसम्म अभियान आन्दोलनमा सरिक हुँदा सुरक्षित आमा, दिदी बहिनी जस्तै ठान्ने पार्टीभित्र आजको युवापङ्क्तिले कस्तो व्यवहारलाई जीवित राखेका छन् ? त्यसको लेखाजोखा गर्दै कडाइका साथ धूमपान, मद्यपान र महिलामाथिको दुव्र्यवहारलाई बन्देज लगाउँदै कारवाहीको विषय बनाउनु आवश्यक छ ।

आम श्रमजीवी सर्वहारा वर्गका मानिससँग असल सम्बन्ध निर्माण गर्नका लागि उनीहरूको आदरसम्मान आवश्यक छ । एउटा कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू त्यसका लागि तयार हुनैपर्छ । गाउँमा फाटेको लुगा लगाउने, एक हजारको मोबाइल बोक्ने र साँझ घर फर्केर सुख्खा रोटी नुनसँग खानेका परिवारका बीचमा हामी बस्न सक्छौँ कि सक्दैनौँ त्यसले नै हाम्रो पार्टीलाई प्रभाव पार्छ । सामाजिक सञ्जालहरूमा पार्टीका विरुद्धमा विषवमन गर्नेहरूलाई कडाइका साथ रोक लगाउन सकिएन भने त्यसले आम नागरिककाबीचमा पार्टीलाई नोक्सानी मात्रै गर्छ । यस्ता कुराहरू पूर्ण रूपमा बन्देज लगाउनु आवश्यक छ ।
 
कार्यकर्ताहरूको अभिलेख र मूल्याङ्कन प्रणाली :
देशभरीका कार्यकर्ताहरूको अभिलेख अहिलेको सञ्चार प्रविधिको युगमा कम्युटराज्ड अभिलेख छ तर ती कार्यकर्ताहरू कुनकुन कमिटीहरूमा छन् ? कुनकुन कार्यकर्ताहरू कमिटीभन्दा बाहिर विभिन्न पेशा व्यवसायमा छन् ? त्यसको व्यवस्थित अभिलेख राख्नु आवश्यक छ । कतिपय पेसा व्यवसाय गर्ने मानिसहरूले पार्टीको नाममा मनपरी गर्ने र कतिपयलाई पार्टीमा संलग्न भएका नेता कार्यकर्ताहरूले अमर्यादित रूपमा अपहेलित गर्ने अभ्यास बढ्दै गैरहेको छ । यी दुवै प्रवृत्ति र व्यवहार खराब छन् । पार्टीको नाममा मनपरी गर्ने, नियम कानुन र प्रचलित अभ्यासलाई तोडेर काम गर्ने र बिग्रएपछि पार्टीले हेरेन भन्ने गुनासो गर्नेहरूलाई प्रारम्भमै रोक लगाउनु आवश्यक छ । गल्ती गर्नेलाई कुनै पनि हालतमा छुट हँुदैन भन्ने कुरामा हरेक कार्यकर्ता विज्ञ हुनु पर्छ ।

अर्कोतर्पm बाध्यतावस विभिन्न ठाउँमा गएर पेसा व्यवसाय गरेर परिवारको पालनपोषण गर्ने, नियमित रूपमा पार्टी सम्पर्कमा रहने, सदस्यता शुल्क तिर्ने र हरेक निर्वाचनहरूमा कुनै न कुनै ढङ्गले पार्टीलाई सहयोग गर्ने कार्यकर्ताहरूलाई मनपरी ढङ्गले अपहेलना गर्नु हँुदैन । नेपालमा रोजगारीको अभावमा धेरैजसो कार्यकर्ताहरू विभिन्न गैरसरकारी संस्थाहरूमा रोजगारमा संलग्न छन्, उनीहरूलाई जहिले पनि डलरवादी देख्ने आँखा र चस्मा दुवै फेर्नु आवश्यक छ । 

नेताको वरिपरि घुम्ने, घरमा लिएर खानपान र बसोवास गराउन सक्ने हैसियत भएका पार्टीका कार्यकर्ताहरू थोरै छन् । उनीहरूलाई वारम्बार अवसरहरू प्रदान गर्ने तर आफ्नो काममा जुटिरहने कार्यकर्ताहरूलाई कुनै पनि अवसरहरू नदिने बढ्दो प्रवृत्तिमा रोकथाम आवश्यक छ । निश्चित खालको जिम्मेवारीमा रहने कार्यकर्ताहरू राजधानीमै छन् जुन आवश्यक पनि छ तर अरू बेला आफ्नो काममा संलग्न हुने र टिकटका लागि पार्टी नेताहरूको घरदैलो धाएर धम्काउने, बार्गेनिङ गर्ने जस्ता प्रवृत्तिमाथि रोकथाम आवश्यक छ । काम र क्षमताका आधारमा मूल्याङ्कन गर्ने परिपाटीको विकास र कार्यान्वयमा ध्यान दिनु आवश्यक छ ।

अन्तमा,
बागी विद्रोही बनेर आफ्नै पार्टीलाई  देखाउन तम्सिएकाहरूले आपूmले निर्माण गरेको आन्दोलनलाई अभियानलाई कमजोर बनाउने खेलमा सरिक बन्नुभन्दा भित्रै बसेर पार्टी कार्यकर्ता व्यवस्थापनको विधि र तरिका बनाउनमा योगदान गरौँ र सङ्घीय तथा प्रदेशसभामा यसपटक बामपन्थी गठबन्धनलाई बहुमतका साथ पठाउने काममा योगदान गरौँ, तपार्इंको योगदानले नै श्रमजीवी सर्वहारा वर्गको जीवनमा परिवर्तन ल्याउन सकिन्छ । एकीकृत कम्युनिस्ट पार्टी नै देश र जनताका आवश्यकता हो । यही आवश्यकतामा योगदान गरौँ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ