शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय सदस्य सूर्य थापाको जीवन : यसपटक उम्मेदवार बन्न ‘चालिसा’ मात्रै होइन, ‘एक चालिसा’ नै लाग्यो

आइतबार, १९ कात्तिक २०७४, ११ : ०४
आइतबार, १९ कात्तिक २०७४

‘माओवादीले थवाङ, महत र रुकुमकोटतिर गणतन्त्रको कुरा गर्दै थियो,’ नेकपा (एमाले) केन्द्रीय सदस्य सूर्य थापाले दाबी गरे, ‘मैले काठमाडौंमा बसेर माओवादीले गरेकोभन्दा उन्नत र विशिष्ट ढंगले गणतन्त्रको पक्षमा माहोल बनाउने काम गरें । त्यसको उदाहरणका रूपमा राजतन्त्रविरुद्ध मैले २०६० देखि ०६५ सम्म लेखेका चार किताब नेपालको इतिहासमा सुरक्षित रहेका छन् ।’ 

तत्कालीन राजा ज्ञानेन्द्र शाहका जुवा ‘पार्टनर’ ले आज गणतन्त्रको लाभ लिइरहेकोमा एमाले केन्द्रीय सदस्य थापाको चित्त बुझेको छैन । भने, ‘राजावादीहरू ठुल्ठूला गणतन्त्रवादी भएको तर राजतन्त्र फाल्न योगदान गर्नेहरू ओझेलमै परेको विडम्बनापूर्ण स्थिति छ ।’ हिजो राजतन्त्र हुलहालमा फालिएको थिएन । सचेतन प्रयास र आन्दोलनको परिणाम थियो भन्ने परिवर्तित नेतृत्वले समेत महसुस गर्न नसकेको बताउने नेकपा (एमाले) केन्द्रीय सदस्य, केन्द्रीय पर्यटन प्रवद्र्धन विभागप्रमुख तथा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

मेरो खाना
म दालभात, तरकारी नै मन पराउँछु । म मांशाहारी नै हुँ । कामका हिसाबले घरबाहिरमात्रै होइन, होटल तथा रेष्टुरेन्टमा समेत खानुपर्ने हुन्छ । तर, परिवारसहित खानकै लागि रेष्टुरेन्ट कमै पुग्छु । बाहिर खानुपर्यो भने थकाली भान्छाघर जान मन पराउँछु । स्वास्थ्यका लागि यो खाने वा नखाने भन्ने बन्देज छैन । विद्यार्थीकालदेखि नै पकाउनचाहिँ रुचि कम रह्यो, त्यसबाहेकका काममा सक्रिय रहें । हिजोआज पनि पकाउने काममा मेरो रुचि, लगाव र सक्रियता कमै छ । 

मेरो पोसाक
खानपानमात्रै होइन, लवाइखवाइमा खास र विशेष सोख तथा छनोट भएको मानिसमा म पर्दिनँ । सम्भव भएसम्म आकाशे रङको सर्ट लगाउन मन पर्छ । अन्य कपडामा खास रोजाइ छैन । साथीभाइ, इष्टमित्र, शुभचिन्तकले उपहार दिने भएकाले कपडामा त्यति धेरै खर्च हुँदैन । तसर्थ, जरुरी कपडामात्रै म किन्छु । सालिन्दा एक/दुई जोर कपडा किन्ने गरेको छु । कपडा किनेर सामान्य टेलरिङमा सिलाउने गरेको छु । ब्रान्डेड र महँगो कपडा मेरो रोजाइमा पर्दैन । कहिलेकाहीं ढाकाटोपी लगाउन रुचाउँछु । 

मेरो फिटनेस
अहिलेसम्म शारीरिक अभ्यास व्यायाम, योगा आदि केही गरेको छैन । हेल्थ क्लब जाने पनि गरेको छैन । मलाई स्वास्थ्य समस्याको कुनै अनुभव छैन । मैले चिकित्सकसँग स्वास्थ्यबारे परामर्शसमेत लिएको छैन । अर्थात्, आजका दिनसम्म स्वस्थ नै छु । न मोटाइ घटाउनुपरेको छ, न दुब्लाइ बढाउनुपरेको छ । म सकेसम्म कम खान रुचाउँछु । यसो भन्दैमा योजनाबद्ध ‘डाइटिङ’ गरेको पनि होइन । 

मेरो अध्ययन
हरिहर विरहीको ‘आगो निभेको छैन’ किताब भर्खरै पढिसकें । पत्रकारिताका मूर्धन्य, खासगरी अन्तर्वार्ताकार हरिहर विरहीलाई धेरै पढेको, बुझेको भए पनि ‘आगो निभेको छैन’ पढेपछि उनको राजनीतिक व्यक्तित्व र संघर्षको पाटो बुझ्न पाएँ । 

कथा, उपन्यास र संस्मरण विधाका किताब पढ्न जाँगर चल्छ । जीवनी पढ्न अल्छी लाग्दैन । इतिहासमा पनि त्यत्तिकै रुचि छ । इतिहासको व्यवस्थित अध्ययनको धित र धोको पूरा भएको छैन । 

मन पर्ने लेखक धेरै छन् । एक/दुईजनाको नाम लिनु कति सान्दर्भिक होला ? याङ् मोको ‘युवाहरूको गीत’ धेरैपटक पढें । याङ् मो मलाई मन पर्ने लेखक हुन् । लियो तोल्सतोय र म्याक्सिम गोर्की विशेष प्रिय लाग्छन् । 

शब्दका कुशल शिल्पीका रूपमा खगेन्द्र संग्रौला मन पर्छन् । संग्रौलाको लेखनका विषयवस्तुमा सहमति नहुन सक्छ । कतिपयमा आलोचना र असहमति नै रहिआएको छ । तर, आफूले लेख्न खोजेको कुरो हृदय छुनेगरी, जसलाई पढाउनुपर्ने हो, त्यसलाई पुग्नेगरी लेख्न सक्ने उनको क्षमता अत्यन्त मन पर्छ । मैले व्यक्तिगत जीवनमा पनि असाध्यै सम्मान गरेका लेखक मोदनाथ प्रश्रित हुन् । अन्य नेता लेखकमा प्रदीप नेपाल र अग्रजमा दिवंगत अग्निशिखाको अन्तर्राष्ट्रिय मामिला विश्लेषण औधी मन पथ्र्यो ।

‘आठ दशक’ नामक किताब पूरा गरिसक्न लागेको छु । त्यसको ९५ प्रतिशत काम सकिएको छ । आसन्न प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा जानुपर्छ कि भनेर किताब तयार गरेको थिएँ । यदि म उम्मेदवार भएर जानुपरेको भए यो किताबसहित नै मतदातासमक्ष जान्थें । यसपटक उम्मेदवार बन्न ‘चालिसा’ मात्रै होइन, ‘एक चालिसा’ नै लाग्यो । यद्यपि, म वाम तालमेलको पक्षमा निरन्तर क्रियाशील रहिआएको व्यक्ति हुँ । 

व्यवस्थापनमा स्नातक र समाजविज्ञानमा स्नातकोत्तर गरेको, राजनीतिमा नेतृत्वतहमा सक्रिय रहेको र पत्रकारितामा अढाई दशक लामो अनुभव भएकाले यसबीचमा लेखिएका फुटकर रचनासमेतलाई दृष्टिगत गर्दै मैले यो किताब मूलतः प्युठानकेन्द्रित गरी तयार पारेर प्रकाशन गर्न लागेको हुँ । किताबमा आर्य समाजको प्रभावदेखि अहिलेसम्मको परिप्रेक्ष्य छ । प्युठानमा कम्युनिस्ट पार्टी पुगेको आगामी माघमा ६५ वर्ष पुग्छ । त्यतिन्जेलसम्ममा यो किताब प्रकाशन गर्ने योजनामा छु ।
धेरै किताब संकलनमा रहे पनि डेरा सर्दासर्दा हैरान भएकाले सुरक्षित र व्यवस्थित गर्न सकिएन । मेरो संकलनमा अहिले एक हजारभन्दा बढी किताब छन् । मन परेका किताब म किन्छु । यो लेख्ने, पढ्ने मानिस हो भनेर सम्बन्धित किताबका लेखकले पनि उपलब्ध गराउँछन् । किताबका लागि यति नै भनेर बजेट छुट्याउने गरेको छैन । जरुरी हुँदा बजेट नभए पनि व्यवस्था गरेर किन्छु । 

मेरो घुमफिर

घुमफिरमा असाध्यै रुचि छ । मेरो कामै घुमफिरसँग सम्बन्धित छ । पार्टीले पर्यटन क्षेत्र हेर्ने मूल जिम्मेवारी दिएको छ । म पर्यटन विभागप्रमुख हुँ । नाम्चेदेखि रारासम्म, गोदावरी, कैलालीदेखि शुक्लाफाँटासम्म, म्याग्दी तातोपानीदेखि घलेगाउँसम्म, लुम्बिनीदेखि स्वर्गद्वारीसम्म, सुखानीदेखि ढुंगेसाँघुसम्म र २ नम्बर प्रदेशका पनि धेरै ठाउँ म यसबीचमा पुगेको छु ।

नेपालका ६५ भन्दा बढी जिल्ला पुगेको छु । विदेशका झन्डै २० देश घुमेको छु । घुमेकामध्ये फ्रान्स निकै मन पर्यो । त्यहाँको ऐतिहासिक, पुरातात्विक वैभव उदाहरणीय छ । दुई/तीनपटक गरी झन्डै महिना दिनजति चीन घुमेको छु । चीनमा सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वलाई संरक्षण गर्दै गरिएको लोभलाग्दो बजारीकरण असाध्यै मन पर्यो । 

दुईपटक अवसर पाउँदा पनि अमेरिका जाने साइत जुरेन । मसँग अमेरिकाको मल्टिपल भिसा नै छ, तैपनि जाने संयोग मिलेको छैन । स्वीट्जरल्यान्ड घुम्ने रहर त छँदै छ । 

मेरो फुर्सद

म जुन काममा लाग्छु, आफ्नो बुता र बर्कतले भ्याएसम्म शतप्रतिशत समय दिएर काम गर्छु । म टिपिएर स्थापित भएको व्यक्ति होइन । म आफ्नो बुता र परिश्रमले यहाँसम्म आइपुगेको हुँ । सामान्य निरक्षर किसानको छोरा हुनुको पृष्ठभूमिबाट आएर आफूलाई समाज अध्ययन, पत्रकारिता र लेखनमा जुन ढंगले स्थापित गर्न सकेको छु, त्यसमा पछुताउने स्थिति त छैन, तैपनि अझ धेरै गर्न बाँकी छ । 

पार्टी कामको व्यस्तताले लेखनलाई ‘डिस्टर्ब’ गरेको छ । म फरक स्वभावको मानिस हुँ । मन लागेन भने दुई÷तीनसम्म बाहिर कतै निस्कन्नँ । त्यतिबेला नियमित रुटिनबाहिरका काम गर्छु । बिदा लिएरै नभए पनि निकै समय व्यक्तिगत रुचिका काममा लगाउँछु । जतिसुकै महत्वपूर्ण काम भए पनि आवश्यक महसुस गरेको खण्डमा स्थगित गर्न सक्छु । प्राथमिकताका हिसाबले लेखपढमा लाग्नुपरेमा म समय निकाल्छु नै । 

मेरो छरितो परिवार छ । मेरो स्वभाव, जीवनशैली बुझेको हुनाले श्रीमती र छोराले समय नपाएको गुनासो गरेका छैनन् । तर, उनीहरूले चाहेजति समय नपाएकोचाहिँ पक्कै हो । अहिलेसम्म श्रीमतीसहित चलचित्र हेर्न गएको सम्झना छैन । छोरालाई लिएर धेरै ठाउँ घुमे पनि श्रीमतीसँग घुम्ने अवसर जुरेको छैन । उनी पढालेखा र समझदार छिन् ।
 

मेरो खेलकुद
खेलमध्ये फुटबल असाध्यै मन पर्छ । लुँडो झनै मन पर्छ । मानिसको जीवनसँग लुँडोको घनिष्ट सम्बन्ध छ । लुँडो खेलमा जस्तै सिंहासनमा पुगेका मानिस धरातलमा पुग्ने र धरातलका मानिस सिंहासनमा पनि पुग्ने सम्भावना रहन्छ । ९७ बाट १०० मा पनि पुग्ने र ९९ बाट २ मा पनि झर्नेखालको उतारचढाव जो हुन्छ, त्यो मन पर्छ । मैले सबैलाई भन्ने गर्छु, ‘मानिसले यत्ति कुरा सिक्न सके प्रशस्तै हुन्छ ।’ कोही धेरै रवाफी र अहङ्कारी शासक हुन आवश्यक र जरुरी छैन । कसैले फोस्रो उन्माद, अहङ्कार, घमण्ड राख्न जरुरी छैन । शासनसत्ताको शिखरमा रहेकाहरू गल्र्यामगुर्लुम साधारण धरातलमा झरेका अनेकन् दृष्टान्त हामीले आफ्नै आँखाले देखेका छौं । साधारण धरातलका मानिस हेर्दाहेर्दै शिखरमा पनि पुगेका छन् । यो उतारचढाव लुँडो खेलसँग धेरै मिल्छ । 

मलाई क्यारिमबोर्ड पनि मन पर्छ । कबड्डी खेलप्रति म कहिल्यै सकारात्मक हुन सकिनँ । म हाइस्कुलमा शारीरिक शिक्षाको विद्यार्थी हुँ । प्रयोगात्मक अभ्यासका लागि पनि खेल्नुपथ्र्यो नै । माध्यमिक विद्यालयस्तरसम्म मैले भलिबल, फुटबल, दौड, योगा आसन आदिमा भाग लिएको अनुभव छ । 

वल्र्डकप नछुटाइ हेर्छु तर मेरो मन पर्ने कोही स्थायी टिम हँुदैन । समयसन्दर्भअनुसार मन पर्ने टिम फरक हुन्छ । 

मेरो मोबाइल
अहिले सामसुङ सेभेन जे मोबाइल सेट प्रयोग गर्दै आएको छु । यसको २५ हजार रुपैयाँ मूल्य परेको हो । चार वर्षअघि लिएको आइफोन फोर एस बोक्थें । धेरै ह्याङ हुन थालेपछि अहिलेको मोबाइल सेट लिएको हुँ । मोबाइलका एप्लिकेसनमध्ये फेसबुक, मेसेन्जर, ट्वीटरलगायत प्रयोग गर्छु । 

मेरो टेलिभिजन
मैले टेलिभिजन हेर्दा समाचारले नै प्राथमिकता पाउँछ । तीनजनाको परिवारमा तीनथरी छनोट रहने हुनाले सकेसम्म समाचार नछुटाइ हेर्छु । विद्यार्थी छँदा सन्तोष पन्तलाई नछुटाइ हेर्थें । मह जोडीका शृंखला पनि छुटाउँदिनथें । सालिन्दा हुने गाईजात्रामा मनोज गजुरेललाई हेर्न रुचाउँछु । बेलुका आठ र नौ बजेपछिका समाचार र बहस हेर्छु । घरमा रहेको सामसुङ टीभी २०÷२२ इन्चको होला । 

मेरो चलचित्र
पछिल्लोपटक हेरेको चलचित्र ‘छक्कापन्जा’ हो । वीरगन्जबाट लहान जाँदा गाडीमा हेरेको हुँ । हेरेकामध्ये ‘चिनो’, ‘विजयपराजय’ र ‘बलिदान’ मन परेका थिए । अमिताभ बच्चनलाई मन नपराउने को होलान् र ? म पढ्न काठमाडौं आउँदादेखि अहिलेसम्म पनि अभिनेता बच्चन र राजेश हमाललाई अत्यन्त मन पराउँछु । भुवन केसी पनि प्रिय लाग्छन् । अभिनेतृमा करिश्मा मानन्धर मन पर्छिन् तर पछिल्लो समय उनी राजनीतिक विवादमा तानिएको राम्रो लागेको छैन । 

मेरो रोग
म स्वस्थ छु । अहिलेसम्म चिकित्सकले खासै स्वास्थ्य समस्या देखाएका छैनन् । हालसम्म ‘होलबडी चेकअप’ गराएको छैन । खानपानमा ख्याल गर्ने, सकेसम्म कम खाने र घरमा पाकेको साधारण खानेकुरा खान ध्यान दिन सके स्वस्थ रहन सकिन्छ । 

मेरो भाषणशैली
धेरैजसो चिन्नेले मलाई लेखक, पत्रकार र राजनीतिक विश्लेषकका रूपमा नै बढी चिन्छन् । म पत्रकारिताभन्दा अघि राजनीति, अनि पत्रकारिता हुँदै राजनीतिमा सक्रिय भएँ । केही आन्तरिक, सांगठनिक कार्यक्रम, पार्टीका अधिवेशन÷महाधिवेशन र धेरैजसो निर्वाचनक्रममा भाषण गर्ने मौका मिल्छ । मेरो भाषण आक्रमक भयो भन्नेहरू नभएका होइनन् । म जिल्ला (प्युठान) मा रुचाइएको वक्ताहरूमध्येमा गनिन्छु ।

भाषण गरेकै आधारमा कहिलेकाहीं विवादमा तान्न खोजिए पनि तानिएको छैन । प्रायः भाषण गर्नुअघि बुँदा टिपोट गर्छु । 

मेरो मापसे
पहिले मापसे गर्थें, तर अहिले छाडें । नेपाल पत्रकार महासंघको नेतृत्वमा जानुअघि मैले मापसे गर्दिनथें । त्यसपछि थालें । तर, गत जेठदेखि छाडें । म मापसेमा अभ्यस्त थिइनँ र होइन । त्यतिबेला पिउँदा दुई÷तीन पेगसम्म लिन्थें । त्यत्तिमै लागिहाल्थ्यो । 

मेरो संगीत
पहिले जीवन शर्माका गीत निकै सुन्थें । असाध्यै मन पथ्र्यो । आफैं पनि गुनगुनाउँथें । नारायणगोपाल, रामकृष्ण ढकाल, झलकमान गन्धर्व र हरिदेवी कोइरालाका आवाज निकै प्रिय लाग्छन् । 

मेरो भूल
जानेर कुनै गल्ती गरेजस्तो लाग्दैन । अन्जानमै पनि त्यस्तो केही गल्ती गरेर सम्बन्धित कसैलाई क्षति भयो भन्ने लाग्दैन । कमसेकम म आफैंले सुन्न परेको छैन । 

मेरो घर
काठमाडौंमा डेरामै बस्छु । प्युठानको झिमरुक गाउँपालिका–१ म ०४९ मा बुवाले बनाएको परम्परागत शैलीको तीनतले घर छ । त्यतिबेला डेढ लाख रुपैयाँमा घर ठडिएको हो । घर बनाउन दाजुहरू र मैले पनि केही आर्थिक सहयोग बुवालाई गरेका थियौं । 

मेरो राशी
मेरो राशी कुम्भ हो । ग्रहदशा हेराएको छैन । ग्रह नक्षेत्रको फलप्रति विश्वासमात्रै होइन, अविश्सास पनि छैन । 

मेरो सौन्दर्यचेत
कपाल फुले पनि केही लगाएको छैन । तेलसम्म लगाउँदिनँ । फेसियल गर्ने, अनुहारमा क्रिम लगाउने र शरीरमा पर्फ्युम छर्कने केही गर्दिनँ । साथीहरूसँग एक/दुईपटक साउना बसेको छु ।

मेरो प्रेम
मेरो मागीबिहे हो । मलाई रुचाउने धेरै थिए । तर, मैले अलि टाढा पुगेर रुकुमबाट बिहे गरेको हुँ ।

मेरो सपना
नेपाललाई अरू कोही देशजस्तो नभएर नेपालजस्तै बनाउनुपर्छ । नेपालीको चौतर्फी हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ । मुलुकलाई समृद्ध बनाउन मौलिक अवधारणा, योजना र खाका हुनुपर्छ । 

म ठूलो महत्वाकांक्षा भएको मानिस होइन । म सेवकका रूपमा काम गर्न रुचाउँछु । तर कसैले हेप्न खोजेकोसम्म पनि मन पराउँदिनँ ।

मेरो मृत्यु
मृत्यु जन्मपछिको स्वाभाविक परिणति नै हो । मृत्युसँग डर लाग्दैन । कैयौं घटना दुर्घटनामा परे पनि डराएको छैन । अरूलाई दुःख नदिई सहज मृत्युवरण गर्न पाए जाती हुन्थ्यो । बिरामी परेर, अरूलाई दुःख दिएर र वाक्कदिक्क पारेर मृत्युवरण गर्न नपरोस् ।

यो जीवनकथा पनि पढ्नुहोस्

‘गीतकार’ उद्योगमन्त्री सुनील थापाको जीवन : प्रधानमन्त्री बन्ने शुभसंकेत

गोर्खा भूतपूर्व संघ अध्यक्ष कृष्णकुमार राईको जीवन : आमाको निधनपछि मृत्युसँग डर लाग्नै छाड्यो

पत्रकार देवप्रकाश त्रिपाठीको जीवन :  किसुनजीलाई हराउन संलग्न भएकोमा पश्चाताप छ

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्त संग्रौलाको जीवन : ‘भिजन’ र ‘मिसन’ सहित बाँचे राजनीतिक जीवन सार्थक

अभिनेत्री दीपाश्री निरौलाको जीवन : ऊसँग बिहे नभएपछि प्रेममा विश्वास छैन

कृष्ण पाउरोटी भण्डार सञ्चालक राजकर्णिकार भन्छन्– मृत्युपछि बाँच्नका लागि साहित्य लेख्छु

धावक वैकुण्ठ मानन्धरको जीवन : पाँचजनासँग प्रेम गरे पनि असफल

सूचना विभाग महानिर्देशक वीरबहादुर राईको जीवन : गुरुको टाउको टेक्दा थप्पड

काँग्रेस महासमिति सदस्य सुवास पोखरेलको जीवन : उनलाई एकतर्फी प्रेम गरेको थिएँ

मसाल महामन्त्री मोहनविक्रम सिंहको जीवन : जलजलासँग प्रेम गर्दा पार्टीबाट निष्कासित

प्रेमबारे रञ्जु : यो प्रश्न ‘स्कीप’ गरौं न ‘प्लीज’

कृषिविद् मदन राईको जीवन : मेरो मलामी श्रीमती पनि नजाऊन्

नेपाल टेलिकम प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको जीवन : नेपाल टेलिकमलाई ‘लिडिङ रोल’ मा राख्न प्रतिबद्ध

अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्

खिमलाल देवकोटाको जीवन : जेलमा मार्ने योजना बनाइए पनि संयोगले बाँचें

साहित्यकार खगेन्द्र संग्रौलाको जीवन  : विद्यार्थी छँदा ब्रिटिस काउन्सिल र अमेरिकन लाइब्रेरीको किताब चोरें

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायको जीवन : तीनपटक मृत्युका नजिकनजिक पुगेर बाँचेँ

रहबर अन्सारीको जीवन : अहिलेसम्म कसैसँग प्रेममा छुइनँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप