बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुत्केरी महिलाले यस्तो कुरामा ध्यान दिऔँ

शनिबार, १८ कात्तिक २०७४, १३ : ०४
शनिबार, १८ कात्तिक २०७४

सरिता भुर्तेल
स्टाफ नर्स

बच्चा जन्मिएपछि ६ हप्तासम्मको अवधि सुत्केरी महिलाका लागि निकै संवेदनशील छ । यो समयमा बच्चासँगै महिलाले आफ्नो निकै ख्याल गर्नुपर्छ । गह्रौँ भारी उचाल्नु हुँदैन, छिटो–छिटो हिँड्नु हुँदैन । प्रशस्त आराम गर्नुपर्छ । बच्चा जन्मिएसँगै सुत्केरी महिलाले यस्ता कुरामा ध्यान दिए बच्चा र आफ्नो स्वास्थ्य राम्रो हुन्छ :

-सुत्केरी भएसँगै आमाले पाठेघरको मालिस गर्न जरुरी छ । यो वेला मालिस गर्न सकियो भने पाठेघर खुम्चिँदैन ।

-सुत्केरी भएको केही समयभित्रै आमाले आफ्नो हात र स्तन सफा गरेर बच्चालाई दूध चुसाउनुपर्छ ।

-सधैँ समयमै स्तनपान गराउनुपर्छ । यसो गर्न सकियो भने पाठेघर खुम्चिन पनि मद्दत मिल्छ । पाठेघर खुकुलो हुँदा आङ खस्ने सम्भावना बढी हुन्छ ।

-शिशुको आवश्यकताअनुसार स्तनपान गराउनुपर्छ । बच्चालाई न्यानो बनाएर राख्नुपर्छ ।

-गाउँघरमा न्यानो बनाउने नाममा दाउरा बालेर सेक्ने गरेको पनि पाइन्छ । दाउराबाट निस्किएको धुवाँले आमासँगै बच्चालाई अस्वस्थ बनाउन सक्छ ।

-सुत्केरी आमाले तातो झोल पदार्थमा जोड दिनुपर्छ । पौष्टिक तत्व युक्त खानेकुरा खानुपर्छ ।

-सुत्केरी महिलाले यो समयमा प्रशस्त आराम गर्नुपर्छ । दिन र रातको समयमा गरी कम्तीमा १० घन्टादेखि १२ घन्टासम्म आराम गर्न सकिन्छ ।

-सुत्केरी आमाले आफ्नो स्तनको हेरविचारमा पनि निकै ध्यान पु¥याउनुपर्छ । स्तनको मुन्टा फुट्न सक्छ । यति मात्रै होइन, -मुन्टा दब्ने, गानिएको जस्तो भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा जा“च गराउनुपर्छ । यसका लागि बच्चालाई निरन्तर स्तनपान गराउनुपर्छ ।

-सुत्केरी भएको ६ हप्तासम्म गहु्रँगो सामान उठाउनु हुँदैन । यसले पाठेघर खस्ने सम्भावना हुन्छ ।

-सुत्केरी आमाले स्तनपान गराउन कहिल्यै भुल्नु हुँदैन । यो बच्चाका लागि अमृतसमान हुन्छ । आमाको दूधमा बच्चालाई चाहिने भिटामिन, खनिज पदार्थ, प्रोटिन, चिल्लो पदार्थहरू आवश्यक मात्रामा हुन्छ । जसले गर्दा बच्चा आवश्यक पोषण पाएर कम तौल, पुड्को र ख्याउटे हुनबाट जोगिन्छ । यति मात्रै होइन, आमाको दूधले बच्चाको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

-स्तनपानले झाडापखाला तथा निमोनियाबाट बच्चालाई जोगाउँछ । यी दुवै रोग विश्वमा बालमृत्युदरको पहिलो दुई कारणमध्ये पर्छन् ।

-निरन्तरको स्तनपानले सुत्केरी अवस्थामा बढेको तौल घटाउन मद्दत गर्छ । पहिलो ६ महिनासम्म आमाको गर्भ रहन दिँदैन । पाठेघरलाई खुम्च्याएर रक्तश्राव हुनबाट जोगाउँछ । पिसाबको संक्रमण हुनबाट बचाउँछ ।

-धेरैजसो आमाले सन्तानलाई दूध चुसाएर निदाउने गरेका पनि पाइन्छ, तर यसो गर्नु हुँदैन । दूध खुवाइसकेपछि बच्चालाई राम्रोसँग सुताएपछि मात्रै सुत्नुपर्छ । कहिलेकाहीँ दूध धेरै आएर बच्चाको मुख बन्द पनि हुन सक्छ ।

-पर्याप्त स्तनपान गरेका बच्चालाई ठूलो भएर मधुमेह, मोटोपनाजस्ता रोग लाग्ने सम्भावना कम्ती हुन्छ । यति मात्रै होइन, आमासँगको आत्मीयता पनि बढाउँछ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप